अधिकांश व्यवसायमा मन्दी आउँदा ई-कमर्समा बहार

  २०८० फागुन १७ गते ११:०२     ऋतु


काठमाडौं । बुद्धनगर बस्ने सञ्जु श्रेष्ठ पेसाले नर्स हुन् । फुर्सदको समयमा उनलाई सपिङ गर्न खुबै मन पर्छ । तर, उनलाई आफूलाई चाहिने सामान किन्न पसल-पसल चहार्न भने दिक्क लाग्छ ।

‘अहिले आफूलाई मन परेका र आफूले अफोर्ड गर्न सक्ने मूल्यका सबै सामान घरै आइपुग्छन्,’ उनी भन्छिन्, ‘अनलाइन सपिङ साइटहरू प्रशस्तै छन्, जे चाहिए पनि म त्यही साइटमा हेर्छु र अर्डर गर्छु, आधा एक घन्टामा त घरमै सामान आइपुग्छ, यसले धेरै सजिलो बनाएको छ र समयको बचत पनि भएको छ ।’

उनले धेरैजसो ‘दराज’ अनलाइन सपिङ प्लेटफर्मबाट सामान मगाउने गरेको बताइन् । ‘अनलाइन सपिङ गर्दा उल्टो सामान आउने, साइज नमिल्ने समस्या परेको र ठगी भएको पनि समाचार सुन्नमा आउँछन्,’ उनी भन्छिन्, ‘तर, मैले अनलाइन सपिङ गर्न थालेको चार वर्ष भइसक्यो अहिलेसम्म कुनै समस्या आइपरेको भने छैन ।’

अहिले अनलाइन साइटमा विभिन्न ब्राण्डमा अनेकथरी उत्पादन आफैं हेरेर, छानेर किन्न पाइन्छ । सामान किन्दा भरपर्दो अनलाइन साइट नियाल्ने र किन्न लागेको सामान र त्यसले पाएको रेटिङलाई ध्यानमा राख्ने हो भने सजिलै ठगीमा नपरिने श्रेष्ठ बताउँछिन् ।

पछिल्लो समय नेपाली बजारमा अनलाइन सपिङ विश्वासिलो र भरपर्दो माध्यमका रूपमा तीव्र विकास भइरहेकाले अनलाइनबाट आफूले चाहेको ब्राण्ड, डिजाइन, रङ र फेसनदेखि ग्रोसरीका सामग्री सहज र सुलभ मूल्यमा उपभोक्ताले उपभोग गर्न पाएको अनुभव नयाँ बानेश्वरकी शशी सापकोटाको छ ।

‘अहिले प्रविधिले पनि धेरै कुरामा सहज बनाएको छ, सबैको घरघरमा इन्टरनेट पहुँच छ,’ सापकोटा भन्छिन्, ‘घरमै बसेर बजारमा कस्ता-कस्ता फेसनका लुगा ब्याग, कस्मेटिक्सदेखि गरगहनासम्म सबै सर्च गरेर हेर्न पाइन्छ, मैले ब्यागदेखि कस्मेटिकका सामान दराज र सस्तो डिलबाट मगाउँछु, ती समानको मूल्य, साइज र गुणस्तर सबै इन्टरनेटमा हेर्न पाइन्छ, मलाई एकदमै सहज लाग्छ ।’

अनलाइनबाट विभिन्न सामग्री खरिद गर्दा सधैं जोखिम हुन्छ वा ठगीमा परिन्छ भन्ने पनि नभएको उनको तर्क छ । इन्टरनेटमा थुप्रै आधिकारिक तथा अनाधिकारिक साइट हुने भएकाले केही विशेष ख्याल गर्नुपर्ने उनी बताउँछिन् ।

‘इन्टरनेटमा देखापरेका जुनसुकै साइटलाई विश्वास गरेर अनलाइन सपिङ गर्दा थुप्रै जोखिम हुन्छन्,’ उनी भन्छिन्, ‘त्यसले अनलाइनप्रति विश्वास घट्ने, समय तथा पैसा खर्च गराउने भएकाले त्यस्ता विषय ध्यानमा राख्न सकियो भने प्रविधिको सही सदुपयोग चाहिँ हुन्छ ।’

यसैगरी बुद्धनगरकै सञ्जोक महर्जन पनि हतारका बेला पठाओ फुड, फुडमान्डु, भोक लाग्यो लगायत एपबाट खाना तथा खाजा अर्डर गर्ने गर्छन् ।

‘खाना, खाजा घरमै बनेको खानु राम्रो हो तर कहिले हतार हुन्छ त कहिले एक्लै हुन्छ, त्यस्तो बेला खाना अर्डर गर्छु,’ उनी भन्छन्, ‘मुखको स्वाद पनि फेरिने भयो, अनि बाहिरको खानाले बानी बिगारे पनि पकाउन झर्को लाग्दा सहज नै हुन्छ ।’

अनलाइन कारोबारले जीवन सहज बनेको उनको भनाइ छ । समयको पनि सदुयोग पनि हुने र आफूले चाहेका सामग्री घरमै आइपुग्ने हुँदा भौँतारिइरहनु नपर्ने उनी बताउँछन् ।

पछिल्लो पटक अनलाइन सपिङ प्लेटफर्महरूबाट सामान र खाना मगाउने ट्रेन्ड नेपालमा ह्वात्तै बढेको छ । घर वा कार्यालय वा बाहिर जता भए पनि इन्टरेनट उपलब्ध भएका ठाउँबाट अनलाइन अर्डर गर्नासाथ आफूले चाहेको सामान आइपुग्छ ।

माथिका तीन उपभोक्ता नेपालमा ‘ई–कमर्स बिजनेस’ कसरी फस्टाइरहेको छ भन्ने उदाहरणका प्रतिनिधि पात्र हुन् । उनीहरू जस्तै पछिल्लो पटक हजारौं, लाखौं उपभोक्ता अनलाइन सपिङ प्लेटफर्म उपयोग गरी समय र पैसा बचत गरिरहेका छन् । पैसा यस मानेमा कि सामान किन्न बजार जाँदा हुने यातायातदेखि अन्य खर्च जोगिने गरेको छ ।

कोरोना भाइरस महामारीले देशमा ‘लकडाउन’ भएका बेला नेपालमा अनलाइन बिजनेसले व्यापक बजार समातेको थियो । त्यो बजार वर्तमानमा ई-पसल सञ्चालन गर्नेको होडबाजी नै चलेको छ । सामाजिक सञ्जालदेखि विभिन्न वेबसाइट माध्यमबाट चलिरहेका अनलाइन शपिङ साइटहरूले भिन्न–भिन्न सेवा दिइरहेका छन् ।

ई-कमर्स बिजनेसले छोटो समयमै राम्रो लय समातेपछि विश्वस्तरीय कम्पनी अलिबाबा, स्न्यापडिलले अनलाइन बजारमा लगानी गरेर सेवा दिइरहेका छन् ।

चीन, भारत, अमेरिकालगायत अन्य विकसित देशमा जस्तै अनलाइन बिजनेस नेपालमा पनि विस्तार भइरहेको छ । अनलाइन सपिङमा ‘बार्गेनिङ’ गर्न पनि नपर्ने र अनलाइनबाटै पैसा भुक्तानी गर्ने सुविधाले पनि खरीद–बिक्री शैलीमा धेरै परिवर्तन आएको छ ।

केहीले अनलाइन सपिङ साइटलाई अनुचित ठाने पनि धेरैले यस प्लेटफर्मको भरपुर फाइदा उठाएका छन् ।

अब, नेपालमा चलेका केही अनलाइन सपिङ प्लेटफर्मबारे चर्चा गरौं ।

दराज,

दराज दक्षिणपूर्वी एसियाको बहुराष्ट्रिय कम्पनी हो । यसले नेपालसँगै पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराइरहेको छ ।

‘दराज नेपाल’ मा उल्लेख्य संख्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड र कम्पनीहरू आबद्ध छन् । दराजमार्फत व्यापारी÷बिक्रेताले नेपालका जुनसुकै कुनामा पनि विविध सामग्री बिक्री गर्न र किन्न सक्छन् । दराजले नेपालका १ सयभन्दा बढी सहरमा सेवा दिइरहेको छ ।

नयाँ व्यवसाय सुरु गरेका उद्यमीहरूको सामग्री बिक्री गर्न दराज एक राम्रो प्लेटफर्म पनि साबित भएको छ । महिनाको ३० लाखभन्दा बढी सक्रिय ग्राहकहरू र दैनिक २ लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेको दराजको दाबी छ ।

फुडमान्डु,

नेपालमा खानेकुार डेलिभरी गर्ने पहिलो अननलाइन प्लेटफर्म हो फुडमान्डु । यसले ग्राहकका अर्डर बमोजिम रेस्टुुरेन्टले तयार गरेका परिकार घरसम्मै पु¥याइदिन्छ । अनलाइन फुड अर्डर गर्न चाहने जो कोहीका लागि पहिलो रोजाइ बन्न पुगेको छ फुडमान्डु । कम्पनीका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारी अहिले अनलाइन बिजनेस राम्रो चलिरहेको बताउँछन् ।

‘पहिलाभन्दा अहिले बिजनेसले राम्रो ग्रो गरिरहेको अवस्था छ,’ अधिकारीले विकासन्युजसँग भने, ‘फुडमान्डु मल्टी रेस्टुरेन्ट फुड डेलिभरी सर्भिस हो, विभिन्न अफिस तथा घरमा ग्राहकले खाना तथा खाजा अर्डर गर्नुहुन्छ, हामी विभिन्न रेस्टुरेन्टले बनाएका खाना तथा खाजाका परिकार उहाँहरूको अर्डर अनुसार पु¥याउँछौं, राम्रै चलिरहेको छ ।’

अबको भविष्य भनेकै ई-कमर्स वा अनलाइन व्यवसाय नै भएको अधिकारी बताउँछन् । ‘यो बिजनेस प्रवर्द्दन गर्न राज्यले पनि सोही अनुरूपका नीति नियम बनाउनुपर्छ,’ उनी भन्छन्, ‘जसले उपभोक्तालाई सहज र सरल मूल्यमा घरघरमै वस्तु तथा सेवा डेलिभरी गरिदिने छ ।’

अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताको समय बचत हुनुका साथै अनावश्यक झन्झटबाट पनि मुक्त भइने उनको भनाइ छ ।

१० रेस्टुरेन्टहरू मात्र आबद्ध भएर सुरु गरेको फुडमान्डुमा हाल १ हजार ४ सय बढी रेस्टुरेन्टहरू आबद्ध भएको उनले बताए । उनका अनुसार कम्पनीमा २ सय ५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत छन् । फुडमान्डुले काठमाडौं बाहेक पोखरामा पनि आफ्नो सेवा दिँदै आइरहेको छ । यो वर्ष अझै देशका दुई–तीन स्थानमा सेवा दिने फुडमान्डुको योजना छ ।

कम्पनीको सेवालाई थप परिष्कृत गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउने र देशभित्र थप रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको अधिकारीले बताए ।

अहिले फुडमान्डुमा दैनिक ७ देखि ८ हजार सक्रिय ग्राहक छन् ।

पछिल्लो समये सपिङ सेन्टर, मल, मार्केट, पसलको लाइक पेज, वेबसाइटसँगै फेसबुकले समेत ग्राहकको ध्यानाकर्षण गर्ने गरेको छ । ग्राहकले सामान्यतः भान्छाका सामानदेखि फर्निचर र सवारीसाधन समेत अनलाइनबाटै माग गर्ने गरेको ई-कमर्स साइट सञ्चालकहरू बताउँछन् ।

सरकारले पनि अनलाइन व्यापार (विद्युतीय माध्यमबाट हुने व्यापार) लाई नियमन गर्न कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । गएको असार १२ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभामा दर्ता गरेका थिए ।

अनलाइन व्यापारलाई कानुनी मान्यता दिने र त्यसलाई करको दायरामा ल्याउने उद्देश्यले विधेयक ल्याइएको मन्त्री रिजालले उल्लेख गरेका छन् ।

‘सूचना प्रविधिका माध्यमबाट हुने वस्तु वा सेवाको व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक भएकाले विधेयक पेस गरेको छु,’ उनले भनेका थिए ।

प्रस्तावित विधेयकमा सूचना प्रविधिका माध्यमबाट हुने वस्तु वा सेवाको व्यापारिक कारोबारलाई विद्युतीय व्यापार भनिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूका अनुसार यसमा विज्ञापन, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप (ओटीटी), तथ्यांक संग्रह, क्लाउड सेवा, गेमिङ, मोबाइल एप, अनलाइन मार्केट, सफ्टवेयर आपूर्ति, तथ्यांक, तस्वीर डाउनलोड सेवा, शिक्षा, परामर्श, सीप विकास तथा तालिम सेवा, ई–बुक, ई-पुस्तकालय, ई–पत्रिका आदि विद्युतीय व्यापार अन्तर्गत पर्छन् ।

नेपालमा सन् २००० मा अनलाइन सपिङ प्लेटफर्म ‘ठमेल डटकम’ सुरु भएको थियो । अहिलेसम्म सयौं अनलाइन सपिङ वेबसाइटहरू सञ्चालनमा आइसकेका छन् ।

मुन्चा डटकम, हरिलो डटकम, ई झोला डटकम, भाटभटेनी अनलाइन डटकम, थ्रेडपेन्ट्स डटकम, सस्तो डिल डटकम, सपमान्डु डटकम, मेट्रो तरकारी डटकम, सपिङ नेपाल डटकम, फुडमान्डु डटकम, नेपाली बजार डटकम, पसल डटकम, किनमेल डटकम, केमुलगायत दर्जनौं वेबसाइटमार्फत व्यापार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.