अनुकरणीय बैंकर, बुढेसकालमा दाग

  २०८० फागुन १६ गते ८:४०     विकासन्युज

काठमाडौं । मंगलबार नेपाली सञ्चारमाध्यममा बैंकरहरूलाई प्रहरीले पक्राउ गरेको विषयले निकै प्राथमिकता पायो । त्यसमा पनि तत्कालीन सेञ्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतम र उनीपछि सोही बैंकमा सीईओ भएर हाल प्रभु बैंकको वरिष्ठ डीसीईओका रूपमा काम गरिरहेका मनोज न्यौपानेसहित १० जना बैंकर पक्राउ परेको विषयले बैंकिङ क्षेत्र पनि तरंगित बन्यो । हालसम्म कुनै पनि विवादमा नमुछिएका अनुभवी बैंकर गौतम र न्याैपाने नेपाली बैंकिङ क्षेत्रको नेतृत्व गर्न सक्ने सम्भावित पात्रका रूपमा हेरिएकाले पनि उनीहरू  पक्राउको विषयले बैंकिङ क्षेत्रलाई आश्चर्यमा पार्यो ।

यसले जीवनभर बैकिङ गरेर दाह्री कमाल फुलेका बैंकर्सलाई चिन्तित बनायो भने बैंकिङमा करिअर बनाउँछु भनेर बैकिङमा सक्रिय रहेको पुस्तालाई त्रसित बनायो । एक जना युवा बैंकर्सले विकासन्युजसँग भने -‘जतिसक्दो चाँडो बैंकिङबाट बाहिरिनु नै बुद्धिमानी ठानेको छु ।’

उमेरले ६७ वर्ष नाघेका गौतमले सेञ्चुरी कमर्सियल बैंक छाडेको दुई वर्षपछि प्रहरीको हिरासतमा पुग्नुपर्यो । बैंकिङ क्षेत्रमा करिब चार दशक बिताएका गौतमलाई चिन्ने सबैले भन्छन्- ‘उनी निर्विवादित र स्वच्छ बैंकिङ गर्ने एउटा अनुभवी र परिपक्व बैंकर हुन् ।’

सनराईज बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत सुमन शर्माले भने-‘मैले चिनेका तुलसीराम गौतम, अजय श्रेष्ठ दुई बैंकर्स १०० प्रतिशत इन्ट्रिग्रिटी भएको बैंकर्स हुन् । तर, दुबै जना बैंकिङ करिअरको अन्तिममा प्रहरी हिरासतमा पुगे ।’

बैकिङ कसुरसम्बन्धी मुमुद्दामा केही वर्षअघि तत्कालीन बैंक अफ काठमाण्डूमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका अजय श्रेष्ठलाई पनि प्रहरीले थुनामा राखेर अनुसन्धान गरेको थियो । पछि उनले अदालतबाट सफाई पाए । ‘अनुसन्धान गर्ने अधिकारीलाई बैंकिङ अभ्यासबारे पूर्ण जानकारीको कमीले पनि समस्या भएको हुन सक्छ । कानुनमा रहेका कमजोरीले निर्देश व्यक्तिहरू प्रहरीको हिरासतमा बस्नुपर्ने अवस्था आउन सक्छ,’ पूर्व बैंकर्स शर्माले भने ।

शर्माले नेपाल एसबीआई बैंक र माछापुच्छ्रे बैंकमा गौतमसँग काम गरेको थिए । नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका गौतमले १३ वर्ष त्यहाँ काम गरेपछि तत्कालीन इण्डोस्विज बैंकमा ७ वर्ष काम गरे । त्यसपछि नेपाल एसबीआई बैंकमा कर्जा प्रमुख भएर १० वर्ष काम गरेका उनी चार वर्ष माछापुच्छ्रे बैंकको सीईओ भएर पनि काम गरे । माछापुच्छ्रे बैंकको खराब कर्जा घटाउनमा उनको विशेष भूमिका रहेको थियो ।

पछि उनी इक्रा नेपाल (रेटिङ एजेन्सी) को सीईओसमेत बने । त्यहाँ उनले केही महिना काम गरेपछि तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको नेतृत्व गरे । २०७५ बैशाखमा सो बैंकको सीईओ बनेका उनले कार्यकाल सकिने ९ महिना बाँकी हुँदै राजीनामा दिए ।

बैंकिङ क्षेत्रमा गौतमको पहिचान बेग्लै छ । जोखिम व्यवस्थापन र कर्जा लगानीमा उनको विज्ञतालाई बैंकिङ क्षेत्रले पछ्याउने गरेको थियो । धेरैले उनलाई अनुसरण गर्छन् । ‘गौतम विषयमा विज्ञ थिए, इमान्तारिताको कुरा गर्ने हो भने गौप्राणी हुन्,’ नेपाल एसबीआई बैंकमा ९ वर्षसँगै काम गरेको उनका एक सहकर्मीले विकासन्युजसँग भने ।

गौतम इमान्दार बैंकर्स हुन् भन्ने छाप बैकिङ बजारमा रहेको र राष्ट्र बैंकको बुझाई पनि उनी असल मान्छे हुन् भन्ने नै रहेको राष्ट्र बैंकका उच्च अधिकारीले टिप्पणी गरे । मंगलबार यस विषयमा के भएको भन्ने विषयमा राष्ट्र बैंकको उच्च नेतृत्वमा पनि सामान्य छलफल भएको थियो । प्रहरीले अनुसन्धान गरिरहेको विषयमा राष्ट्र बैंकले बोल्नु राम्रो नहुने विचार गभर्नर महाप्रसाद अधिकारीले राखेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सहकारीका समस्याबारे अध्ययन गर्ने क्रममा सेन्चुरीबाट प्रवाह भएको करिब सवा २ अर्ब रुपैयाँको ऋण फाइलमा प्रहरीको अनुन्धानले प्रवेश पाएको स्रोतले बतायो ।

बैंकिङ क्षेत्रमा करिब चार दशक काम गरेका उनी कुनै पनि संस्थाको कुनै पनि निणर्यमा विवादित बनेनन् । सकेसम्म आफ्नो विज्ञतालाई व्यवहारमा उतार्ने प्रयास उनले गरिरहे । सेञ्चुरी बैंकबाट राजनीनामा दिनुको कारण पनि त्यही थियो कि उनी कसैको कुनै दबाब र प्रभावमा काम गर्थेनन् । तत्कालीन सेञ्चुरी बैंकको सञ्चालक समितिले उनलाई अनावश्यक दबाब तथा काममा चाप गरेपछि उनले पदबाटै राजीनामा दिएका थिए ।

त्यस्ता बैंकर आज कसरी कर्जाभन्दा कम मूल्यको धितो राखेको आरोपमा पक्राउ परेका भन्ने प्रश्न छ। कर्जा लगानी तथा जोखिम व्यवस्थापनमै दक्खलता भएका उनी कम मूल्यको धितो राखेर कर्जा दिएको आरोपमा पक्राउ परे । ४० वर्षको अवधिमा कुनै पनि विवादमा नआएका बैंकर गौतमको जीवनमा अवकाश जिन्दगी जिइरहेको बुढेसकालमा भने दाग लागेको छ ।

बैंकिङ क्षेत्रमै हुँदा एक अन्तार्वार्तामा गौतमले भनेका थिए, ‘बैंकिङ क्षेत्रमा अपराधी पनि छन्, भ्रष्टाचारी पनि छन्, काम बिगार्नेहरू पनि छन्, नराम्रो काम गर्ने जेलमा जान्छन्, जनताको निक्षेपमा मनोमानी गर्नेमाथि कारबाही हुनैपर्छ ।’

बैंकिङमै हुँदा निक्षेपकर्ताको भलाइका लागि बोल्ने तिनै गौतमको हातमा प्रहरीको हतकडी लागेको छ । उनीमाथि लागेको आरोप सही सावित हुन्छ वा उनी निर्दोष ठहरिन्छन्, त्यो विषय अदालतको हातमा पर्यो । तर, ४० वर्षसम्म स्वच्छ बैंकिङ गरेर सबैका वाहवाही पाएका पात्र अवकाश जिन्दगी जिइरहेका बेला प्रहरीको हिरासतमा पुग्नुले पनि बैंकिङ क्षेत्रमाथि त्रास उत्पन्न गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.