रविन्द्र चौलागाईंलाई दिएको २ अर्ब ऋणले एक दर्जन बैंकरको हातमा हतकडी

  २०८० फागुन १५ गते १३:१०     सन्तोष रोकाया

काठमाडौं । मंगलबार प्रभु बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिृकत (डीसीईओ) मनोज न्यौपाने पक्राउ परे । उनीसँगै तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

तत्कालीन सेञ्चुरी बैंकले कमजोर धितोमा ऋणीलाई ऋण प्रवाह गरेको र सो ऋण अहिले असुल हुन नसकेपछि उनीहरू अनुसन्धानमा तानिएका हुन् ।अनुसन्धानका लागि न्यौपाने, गौतमसहित १० जनालाई पक्राउ गरिएको सीआईबीका नायव उपरीक्षक शुधिरराज शाहीले बताए । उनका अनुसार थप दुई जना बैंकरको पनि प्रहरीले खोजिरहेको छ । उनीहरूलाई पक्राउ गरिसकेपछि सबै विवरण सार्वजनिक गरिने उनले बताए ।

सेञ्चुरी बैंक प्रभु बैंकसँग मर्ज भएपछि अहिले प्रभु बैंकको नामबाट कारोबार भइरहेको छ । प्रभु बैंकले सेञ्चुरी बैंकको उक्त कर्जा असुल गर्नका लागि पटक-पटक ताकेता र धितो समेत लिलाम गर्नका लागि सूचना जारी गरे पनि धितोको मूल्यांकन कर्जाभन्दा कम भएपछि सो धितो बिक्री हुन सकेको छैन । सोही विषयमा न्यौपाने र गौतमसहितका बैंकरहरू पक्राउ परेको बैंक उच्च स्रोतको भनाइ छ ।

विषय के हो ?

तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई सवा २ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो । बैंकले चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीलाई २ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

चौलागाईंले बैंकबाट पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्री श्री ब्रदर्स मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रालि र परिवारका सदस्यहरूको नाममा सो ऋण लिएका थिए ।

तर, उनले कर्जा लिएको लामो समय बितिसक्दा पनि ऋण तिरेनन् । समयमा नै कर्जा भुक्तानी नगरेपछि अहिले प्रभु बैंकले चौलागाईको नाममा रहेको ललितपुर जिल्ला साविकको सैबु गाबिस-४मा रहेको कित्ता नम्बर १३०९ को ४ आना, कित्ता नम्बर १३१४ को ४ आना र कित्ता नम्बर १३१६ को ४ आना जग्गा र जग्गामा रहेको घर लिलामी गन सूचना जारी गरेको थियो ।

यस्तै, रविन्द्र चौलागाईको नाममा झापा जिल्ला तत्कालीन शिवगञ्ज गाबिस–७ मा रहेको कित्ता नम्बर क्रमशः २२७४ १०१६७ १०१८९, १०१९०, १७८४११५९९९, २१७८४३ को क्षेत्रफल क्रमशः ६ बिघा, १० बिघा, १५ बिघा ११ कठ्ठा, ११ बिघा १७ कठ्ठा, ७ बिघा १६ कठ्ठा ५० धुर, १ बिघा १२५ कठ्ठा र ७ बिघा १४ कठ्ठा जग्गा र उक्त जग्गामा रहेको घर लिलाम गर्ने सूचना पनि सार्वजनिक गरेको थियो । यस्तै, अन्य ठाउँमा रहेका जग्गा तथा सम्पत्ति पनि बैंकले लिलामका लागि राखेको थियो ।

तर, सो लिलामी लामो समयसम्म पनि बिक्री हुन सकेन । कारण धितोको मूल्यांकन कर्जा रकमभन्दा कम मूल्यको थियो । यो प्रक्रियामा तत्कालीन सेञ्चुरी बैंकका सीईओ गौतम र न्यौपानेसहित अन्य बैंकरको पनि संलग्नता रहेको आशंका गरिएको छ ।

यस कर्जालाई लिएर एक महिनाअघि नेपाल राष्ट्र बैंकले प्रभु बैंकमा स्थलगतरूपमा विशेष अनुगमन गरेको थियो । राष्ट्र बैंकको सिफारिसमा सीआईबीले बैंकरहरूलाई पक्राउ गरेको हो ।

प्रभु बैंकले तीन पटक धितो लिलामीको सूचना जारी गर्दा पनि सम्पत्ति बिक्री हुन सकेको थिएन । बैंक स्रोतका अनुसार धितोमा राखिएको घरजग्गा र सम्पत्तिको मूल्य कर्जाको तुलनामा आधा पनि छैन ।

अहिले चौलागाईं सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोपमा यसअघि नै पक्राउ परिसकेका छन् ।  सहकारीमा सर्वसाधारणले बचत गरेको ३ अर्ब रुपैयाँ फिर्ता गर्न नसकेको आरोपमा उनलाई पक्राउ गरेकाे थियाे । चौलागाईंले विभिन्न वाणिज्य बैंकको साढे तीन अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.