मन, मस्तिष्क र शरीरको गहिरो सम्बन्ध हुन्छ

  २०८० फागुन १३ गते १२:०९     विकासन्युज

कुनै पनि व्यक्तिको शारीरिक स्वास्थ्यमा समस्या आयो भने तुरुन्त अस्पताल पुगेर जाँच गर्छ । कुनै समस्या देखियो भने उपचार गर्छ । देखिएन भने ढुक्क भएर बस्छ । तर, मानसिक स्वास्थ्यमा समस्या भयो भने ऊ अस्पताल पुग्दैन । मनलाई अशान्त बनाएर दुःखी भएर घरमै बस्छ । अझ कडा खालको समस्या देखियो भने परिवार, समाजले नै हेलाको दृष्टिले हेर्छ । हाम्रो समाजमा अहिले पनि यस्तो प्रवृति कायम छ । तर, अझै धेरैलाई मानसिक स्वास्थ्यबारे जानकारी छैन । यसो भनिरहँदा धेरैलाई लाग्न सक्छ मानसिक स्वास्थ्य के हो ?

मानसिक स्वास्थ्य भन्नाले व्यक्तिको अवस्थालाई बुझ्न सकिन्छ । जसमा व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न सक्छ । उसले आफ्नो जीवनमा आइपर्ने तनावसँग सामना गर्न सक्छ । आफ्नो जीवनमा परिणाममुखी काम गर्न सक्छ । सँगसँगै आफ्नो समाजमा पनि कुनै न कुनै योगदान गर्न सक्छ । यो सबै काम उसले गर्न सक्छ भने उसको मानसिक स्वास्थ्य अवस्था राम्रो छ अथवा मानसिक रूपमा स्वस्थ्य छ भनेर हामीले बुझ्न सक्छौं । यदि यी काम गर्न उसलाई अलिकति कठिनाइ भइरहेको छ, उसको दैनिकीमा अप्ठ्यारो छ भने मानसिक समस्या भएको छ कि भनेर शंका गर्न सकिन्छ । व्यक्तिको विचार भावना र व्यवहारमा कुनै पनि परिर्वतन आउँछ । त्यो परिर्वतन निश्चित अवधिभन्दा लामो समयसम्म रहन्छ भने उसलाई मानसिक स्वास्थ्य समस्या भएको हुन सक्छ । ताकि त्यो परिवर्तननले व्यक्तिको दैनिकीमा, जिम्मेवारीमा क्रियाशिलतामा नकरात्मक प्रभाव पार्छ । यो विषय व्यक्ति आफैंले पनि याद गर्न सक्छ भने परिवार साथीभाइ, छरछिमेक र कार्यस्थलका सहकर्मी साथीहरूलाई पनि थाहा हुन्छ ।

आजभोलि मानसिक स्वास्थ्य समस्या नभएको मान्छे प्राय भेट्न गाह्रो छ । कुनै न कुनै कारण मान्छेका मामनसिक स्थिती बिग्रेकै हुन्छ । कुनै पनि व्यक्तिको मस्तिष्क कस्तो छ भनेर उसको शरीरले भनिदिन्छ । किनकी मस्तिष्क, शरीर र मनको गहिरो सम्बन्ध हुन्छ । शरीरलाई केही भएको मनले भनिदिन्छ । मनलाई केही भएको शरीरले भनिदिन्छ । कुनै पनि व्यक्तिले म मानसिक रूपमा स्वस्थ छु कि छैन भन्नको लागि मेरो शरिर कस्तो छ र मेरो दैनिकी कसरी बितिरहेको छ भन्ने कुरा सबैभन्दा पहिले याद गर्नुपर्छ । जस्तो कि एन्जाइटी भएका मान्छेमा छटपटी हुने, डर लाग्ने, निन्द्रा नपर्ने शरिर काप्ने जस्तो हुने श्वास फेर्न गाह्रो भएजस्तो हुने घाँटीमा केही अड्केजस्तो हुने समस्या हुन्छ । यस्ता लक्षण देखापर्दा व्यक्तिले शरिरको समस्या भन्दै अस्पताल पुग्छ । तर, कुनै रोगको पहिचान हुँदैन । शरिरको कारणले मात्र व्यक्तिमा यस्तो समस्या देखिँदैन मनको समस्याका कारण पनि यस्तो हुन्छ ।

यो सँगसँगै व्यक्तिले अर्को के पनि याद गर्नुपर्छ भने मेरो मन सुखी छ कि, दुःखी छ । हिजोसम्म तपाईंलाई कुनै जमघटमा, पार्टीमा साथीभाइहरुसँग रमाइलो गर्न साह्रै इच्छा लाग्थ्यो भने आजदेखि नलाग्न सक्छ । व्यक्तिको व्यवहारमा केही न केही परिर्वतन आउँछ । जुन परिवर्तनले व्यक्तिलाई सकारात्मक परिणाम दिंदैन । दुःखी नै महसुस गराइरहेको हुन्छ । व्यक्ति धेरै एक्लोपनमा रमाउन थाल्छ । उसको निन्द्रा, खानपिन, व्यवहार यस्ता धेरै कुरामा परिवर्तन आउँछ ।

तनाव हरेक व्यक्तिलाई हुन्छ । कसैलाई अहिले तनाव हुने, केहिबेरमा हराएर जाने हुन्छ । अर्को कुरा सधैंभरी तनाव नराम्रो हुन्छ भन्ने पनि हैन । कहिलेकाहीँ तनावले हामीलाई सकारात्मक परिणाम पनि दिन्छ । जस्तो कुनै कुरामा हामीले स्ट्रेसले लिएर काम गर्याैं भने यसको परिणाम राम्रो पनि आउँछ । तर, सबै तनावले राम्रो परिणाम दिँदैन । यसले हाम्रो शरीरलाई नकारात्मक असर पार्छ । कुनै पनि कुराले साता दिन वा १५ दिनभन्दा बढी नचाहिँदो कुरामा कुनै कुरालाई याद आइरह्यो भने हामीले अलिकति डराउनुपर्ने हुन सक्छ ।

मानसिक स्वास्थ्य समस्या के कारणले हुन्छ ?

मानसिक समस्या हुनु कुनै एक या दुई मात्र कारण छैनन् । यसका अनेकौं कारण छन् । मान्छेको जैविक अवस्था, मनोवैज्ञानिक अवस्था, पारिवारिक र सामाजिक अवस्था व्यक्तिलाई मानसिक समस्या निम्त्याउन जिम्मेवार रहन्छ । यस्ता समस्याबाट टाढा रहन पहिले यो विषयमा जानकार हुनुपर्छ । कतिपय व्यक्तिलाई आफू यस्तो समस्यामा परेको जानकारी नै हुँदैन । यस्तो बेला परिवारका सदस्य, साथीभाइलाई थाहा हुन्छ । जानकारी भएका साथीहरूले समयमै पहिचानका लागि सल्लाह दिनुपर्छ । समयमै पहिचान गर्दा निको हुन्छ । यो बाल्यवस्थाबाटै सुरु हुन्छ । एउटा बाल्यकालको अनुभव हुनसक्छ । अर्को दुव्र्यवहार पनि हुन सक्छ । स्कुलमा साथीभाइले होच्याउने, शिक्षकको कारण हुने तनाव पनि अन्य कारण हुन सक्छन् । लागू पर्दाथको कारण पनि हुन सक्छ । निद्रामा गडबडी, खानामा गडबडी, अरु कुनै दीर्घरोगको कारण अपांगता भएको कारण यो विभिन्न कारणले गर्दा हुन हुन्छ ।

मानसिक समस्या भएकाहरूको आनीबानीमा समेत परिर्वतन आउने गर्छ । यो विषयमा हाम्रो समाज सुसूचित छैन । कुन समस्या शारीरिक हो, कुन मासिक हो भन्नेमा व्यक्ति आफू उसको परिवार र समग्र समाज अझै प्रस्ट ढंगले बोल्न सकिरहेको छैन । यदि समस्या नै भइहाल्यो भनेपनि सामाजिक विश्वास, व्यवहार र बुझाइ अनुसारको फरक–फरक ढंगले व्यक्ति प्रस्तुत हुन्छ । कतिपयले यस्तो व्यक्तिलाई व्यक्तिगत लान्छनासँग जोड्छन्, उ कमजोर बनेको, उसले अल्छी गरेको अथवा असहयोग गरेको कतिपय सन्दर्भमा गलत बानी व्यवहार र दुर्व्यसनमा फसेको, उ हिंस्रक भएकोरूपमा हेरिन्छ । कसैले सहयोग नै गर्न चाह्यो पनि धामी झाँक्री कहाँ लाने, गलत र हानिकार अभ्यास गर्ने गरिरहेको हुन्छ । यति सम्मकि मानसिक स्वास्थ्य समस्या सुन्न पनि नसक्ने खालको सामाजिक चेतना छ ।

यस्ता हुन्छन् लक्षण

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा लक्षण पनि फरक-फरक देखा पर्छन् । पढाइ, निन्द्रा, खाना लगायत विभिन्न कुरामा हामी ख्याल गर्न सक्छौं । जस्तो कुनै कुरामा पहिले रुची हुन्थ्यो त्यो रुची घट्दै गएको हुन सक्छ । त्यस्तै चिटचिट पसिना आएजस्तै हुने, छिनमै तातो, छिनमै चिसो हुने, शारीरिक रुपमा पनि आफ्नो तापक्रम घटबढ भएको जस्तो हुने गर्छ ।

यो किन भएको हो थाहा नहुने शारीरिक रूपमा पनि यस्तो लक्षणहरु देखा पर्दछ । यस्तो अवस्थामा सामान्य कुराहरूलाई याद गर्न सकिन्छ । उसको नियमित र दैनिक क्रियाकलापहरू कस्तो भइरहेको छ त त्यो क्रियाकलापमा उसको ध्यान छ कि छैन ? जहिले बिहान ५ बजे उठ्ने मान्छे ७ बजेसम्म सुत्ने भइरहेको छ कि, उठ्न आलश्य गरिरहेको छ कि, फूर्तिलो कत्तिको छ खानपान कस्तो छ, दैनिकी सबै हेनुपर्छ । व्यक्तिको दैनिकीमा र नियमित क्रियाकलापमा परिवर्तन देखिन थाल्छ ।

उपचार के हुन्छ ?

मानसिक स्वाथ्य समस्या विभिन्न प्रकारका हुन्छन् । यसको उपचारमा अहिलेसम्म औषधी उपचार र मनोवैज्ञानिक उपचार भइरहेको छ । कतिपय समस्या उपचार गरे निको हुन्छ भने कतिपय समस्यामा कसरी यो सँगसँगै बाँच्ने भन्ने कुरा सिकाइन्छ । पछिल्लो समयमा नयाँ खालको उपचार पद्धतिको पनि विकास भएको छ ।

यो प्रविधिले अप्रेसन गर्ने भन्दा पनि दिमागको निश्ति क्रिया सम्पादन गर्ने भागहरू हुन्छन् तिनिहरूलाई क्रियाशिल गराउने काम गर्छ । औषधी, मनोपरामर्शका अतिरिक्त यो प्रविधिले पनि उपचार गरिन्छ । तर, यस्तो समस्या भएकाहरू अझै खुलेर नआउने समस्या छ । समूदायमा यसको उपचारका लागि भनेर निशुल्क औषधीको व्यवस्था गरिएको छ । तर, उपचार गराउन आउनेहरूको सख्या कम छ ।

परिवार  र साथीभाइको भूमिका

स्वास्थ्य भनेको शारीरिक मात्र होइन । मानसिक पनि हो । यस्तो अवस्थामा व्यक्तिमात्र होइन, समाज पनि सचेत र सजग रहनुपर्छ । आफूलाई समस्या पर्दा पनि सोही ढंगले व्यवहार गर्नुपर्छ । अरूलाई पर्दा पनि हाम्रो दायित्व छ भनेर परिवारका सदस्य, साथीभाइहरू पनि सहयोग गर्नुपर्छ । यसका लागि सचेतना जरुरी छ । मान्छेमा सचेतना हुनसक्यो भनेमात्र पनि के सही के गलत, के भ्रम के यथार्त, के उपयुक्त के अनुपयुक्त बुझन सक्नुहुन्छ ।

यसका लागि मानसिक स्वास्थ्यका विषयमा खुलेर बहस गर्न आवश्यक छ । मानसिक समस्या लान्छनाको विषय हैन, विभेदको विषय पनि हैन कसैको कमजोरी पनि हैन हामीसँग भएको स्वभाविक स्वाभाविक मानसिक प्रवृति हो । यसलाई सन्तुलित राख्न व्यक्ति अलमलिनु पर्ने, हिचकिचाउनु पर्ने केही छैन । यो विषयमा परिवार, साथीभाइसँग कुरा गर्न अफ्यारो लाग्छ भने विज्ञहरूसँग भेटेर सजिलै कुराकानी गर्न सकिन्छ । यसका लागि पाटन मानसिक अस्पतालले पनि ११६६ को निःशुल्क हटलाइन सेवा सञ्चालन गरिएको छ । यसमा फोन गरेर पनि आफ्ना समस्या राख्न सकिन्छ । मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्नुपर्छ । हामी स्वास्थ्य भन्ने बित्तिकै डाक्टर र अस्पतालको मात्र कुरा गर्छाैं, यो होइन । स्वास्थ्य भनेको घर व्यक्तिको आफ्नो जीवन, काम गर्ने ठाउँ जहाँ व्यक्ति जान्छ त्यहाँ स्वास्थ्य जोडिएको हुन्छ । यो कुरा बुझ्न आवश्यक छ ।

वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिक डाक्टर बासुदेव कार्कीस“ग गरिएको कुराकानीमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.