देशको माटोले खोजेको विश्वविद्यालय बनाउन पूर्वाञ्चलको उपकुलपतिमा मेरो आवेदन-पौडेल

  २०८० फागुन १२ गते १२:३२     विकासन्युज

पूर्वाञ्चल विश्वविद्यालयले नयाँ उपकुलपति नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । विश्वविद्यालयले उपकुलपतिका लागि गरेको दरखास्त आह्वानमा १८ जनाले आवेदन दिएका छन् । जसमध्ये हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तोयानारायण पौडेलसमेत छन् । नेपालका विश्वविद्यालयहरूमाथि निकै प्रश्न उठिरहेका बेला पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा आवेदन पेस गरेका पौडेलसँग विकासन्युजका लागि नारायण अर्यालले छोटो कुराकानी गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयले उपकुलपति पदको दरखास्त आह्वान गरेकोमा तपाईंसहित १८ जनाको आवेदन परेको छ । उपकुलपतिमा तपाईंको दाबीलाई के भन्नुहुन्छ ?

विश्वविद्यालय भनेको शैक्षिक जनशक्ति उत्पादन गर्ने केन्द्र हो । शैक्षिक जनशक्ति भनेको कुनै पनि देशको मेरुदण्ड हो । मेरुदण्ड भनेको बलियो हुनुपर्छ । विश्वविद्यालयमा केही समस्याहरू छन्, ती समस्याहरूलाई समाधान गर्दै बलियो एवं सुदृढ बनाउनको लागि मैले आवेदन गरेको हुँ ।

खासगरी पूर्वाञ्चल विश्वविद्यालयले कस्तो नेतृत्व माग गरेको छ र तपाईंले आवेदन गर्नुभयो ?

यतिबेला खासगरी पूर्वाञ्चल विश्वविद्यालयमा मात्रै नभएर शैक्षिक क्यालेण्डर लागु गर्ने वा परीक्षा प्रणााली लागु गर्ने सन्दर्भमा समस्या देखिएको छ । विश्वविद्यालयले परीक्षा प्रणाालीलाई स्वचालित बनाएर लैजान सक्नुपर्छ भन्नेमा मेरो पहिलो विचार हो ।

परीक्षा दिएको एक महिनाभित्रमा परीक्षफल प्रकाशित गरेर विद्यार्थीलाई आफ्नो काममा जानसक्ने अवस्था सिर्जना गर्नुपर्छ । त्यसको लागि अनिवार्य स्वचालित प्रणाली लागु गर्नुपर्छ । अहिले कतिपय विश्वविद्यालयहरूमा विद्यार्थीले परीक्षा दिएको एकवर्षसम्म पनि परीक्षाफल प्राप्त गर्न सकेका छैनन् । म वा अरु कोही उपकुलपति भएपनि अब ढिला नगरी गर्नुपर्ने काम यो हो ।

अर्को महत्वपूर्ण विषय के हो भने विश्वविद्यालय भनेको राष्ट्रको गहना हो । त्यसैले विश्वविद्यालय सबैले अपनत्व ग्रहण गर्नसक्ने र गर्व गर्नसक्ने स्तरमा सञ्चालन हुन सक्नुपर्छ । विश्वविद्यालयले नेपालको माटो सुहाउँदो प्रकारको शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकेका छन् कि छैनन् र आंगिक क्याम्पसहरू पनि खोजेजस्ता बन्न सकेका छन् कि छैनन् भन्ने विषय महत्वपूर्ण छलफलको विषय हो ।

हामीले विश्वविद्यालयलाई उन्नत हिसाबले सञ्चालन गर्नको लागि उत्कृष्ट समूह पनि निर्माण गर्नुपर्ने समय आएको छ । यी कामहरू मैले गर्नसक्छु भन्ने मेरो बुझाइ र आत्मविश्वास भएको कारणले मैले उपकुलपतिमा आवेदन गरेको हुँ ।

पूर्वाञ्चल विश्वविद्यालयको सन्दर्भमा शैक्षिक क्यालेन्डर लागु गर्ने अथवा परीक्षालाई स्वचालित विधिबाट सञ्चालन गर्ने र प्रतिष्ठित विश्वविद्यालयको रूपमा स्थापित गर्ने विषयलाई के विषयले रोकिरहेको छ ? तपाईं उपकुलपतिमा नियुक्त भइसकेपछि कार्यान्वयन हुन्छन् भनेर कसरी बुझ्न सकिन्छ ?

विश्वविद्यालयको भौतिक सम्पत्ति र संरचना छ, प्राध्यापकहरु हुनुहुन्छ, विद्यार्थीहरू पनि छन्, हामीसँग स्वचालित प्रणाली छ र सबैलााई राम्रो गरौं भन्ने हुटहुटी पनि छ । त्यसो भएको अवस्थामा नेतृत्व नपुगेको हो कि ? नतिजा निकाल्नको लागि वातावरण तय नभएको हो कि? त्यसो हुँदा यी कामहरू गर्नुपर्छ र गर्न सकिन्छ भन्ने मेरो अभिष्ठ भएकाले आगामी दिनमा विश्वविद्यालयको रूपान्तरण हुन्छ भन्नेमा मेरो विश्वास छ ।

सामान्यतया निजी क्षेत्रबाट सञ्चालित कलेजको सञ्चालन गरेका वा कुनै न कुनै हिसाबले आबद्ध भएका व्यक्तिहरू विश्वविद्यालयको पदाधिकारी तहमा आउँदा विश्वविद्यालयले नतिजा हासिल गर्न सक्दैन भन्ने पनि गरिएको छ । तपाईं एउटा निजी क्षेत्रबाट सञ्चालित कलेजको प्रिन्सिपल भइरहँदा उपकुलपति बन्ने कुरामा विरोधाभास देख्नुहुन्न ?

एउटा महत्वपूर्ण विषय के हो भने यदि विश्वविद्यालयका आंगिक क्याम्पसहरूलाई राम्रो बनाउन सकिन्छ भने निजी क्षेत्रबाट सञ्चालित क्याम्पस पढ्न कोही पनि जाँदैन । पूर्वाञ्चल विश्वविद्यालयको मोरङमा भएको ८५० विगा जमिनलाई प्रयोग गरेर यसलाई शैक्षिक हबको रूपमा विकास गर्नुपर्छ, त्यसको लागि सरकारले लगानी गर्नुपर्छ । नेपालको पूर्वी क्षेत्र, मधेस र भारतका विद्यार्थीलाई त्यस क्षेत्रमा ल्याएर पढ्ने वातावरण बनाउन सकिन्छ । त्यसो गर्दा ६० प्रतिशत विद्यार्थीलाई पूर्ण विदेशी मुद्रा र ४० प्रतिशत नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा समेत अध्यापन गराउन सकिन्छ ।

सरकारी कलेज राम्रो बनाउने हो भने निजी क्षेत्रका लगानीकर्ता स्वभाविकरूपमा नाफाको व्यवसायको लागि अन्य क्षेत्रतर्फ लाग्छन् । सरकारी स्वामित्वमा सञ्चालन भएका संस्थाहरु परिणाममुखी भए भने निजी क्षेत्रको लगानी स्वभाविकरूपमा स्थानान्तरण हुन्छ । त्यसैले यो विषय त्यति धेरै ठूलो विषय होइन ।

पछिल्लो समय तपाईं पनि पूर्वाञ्चल विश्वविद्यालयको सिनेटमा रहेर काम पनि गर्नुभयो, विश्वविद्यालय रूपान्तरणको लागि तपाईंले कस्तो पहल गर्नुभयो ?

हो, मैले विश्वविद्यालयको सिनेट तहमा रहेर काम गर्ने अवसर पनि प्राप्त गरेँ । यस अगाडि भएका सिनेटका दुईवटा बैठकबाट धेरै पुराना विद्यार्थीहरूलाई गोल्डेन चान्स परीक्षाको अवसरका लागि मौका परीक्षाको व्यवस्था गर्नुपर्यो भनेर प्रधानमन्त्री तहबाट समेत पास गर्नको लागि मैले भूमिका खेलेँ । तर, अहिलेसम्म कार्यान्वयन भएको छैन ।

जो व्यक्तिले विश्वविद्यालय हाँकेको छ, उसले सिनेटले पास गरेको विषयलाई कार्यान्वयन गर्नुपर्यो नि। हाम्रो भूमिका भनेको सही नीतिहरू सिनेटमा लैजाने वा पास गर्नको लागि भूमिका खेल्ने हो । तर, पास भएका विषयहरु लागु गर्ने जिम्मेवारी पदाधिकारीहरूको हो ।

विश्वविद्यालयमा धेरै प्रकारका समस्या तथा वेथितिको बाबजुद उपकुलपति भएपछि यी-यी कामहरू गर्छु भनेर अवधारणा तय गर्नुभएको छ ?

मैले विश्वविद्यालयको सन्दर्भमा धेरै ठूलो कुरा गर्ने पक्षमा छैन । विश्वका प्रतिष्ठित विश्वविद्यालयमा तत्काल प्रतिस्पर्धा गरेर जाने भन्ने विषय पनि होइन । मुख्य कुरा नेपालका विश्वविद्यालयलाई नेपालको माटो अनुकुल विकास गर्ने पहिलो सर्त हो र त्यसकै आधारमा न्यूनतम काम गर्नुपर्छ र गर्न सकिन्छ मेरो अवधारणा हो ।

नेपाली माटोले के खोजेको छ ? अहिलेको पुस्ताले खोजेको शिक्षा कस्तो हो ? नेपाली शैक्षिक क्षेत्रमा निजी क्षेत्रले यति ठूलो लगानी गरेको छ, सरकारले किन लगानी नगर्ने ? विश्वविद्यालयको नेतृत्व गर्ने व्यक्तिले त्रैमासिक, अर्धवार्षिक, वार्षिक, आफ्नो कार्यकाल र दिर्घकालीन योजना बनाएर कामको सुरुवात गर्नुपर्छ । त्यो तयारी मैले गरेको छु ।

विश्वविद्यालय शिक्षाअन्तर्गत मेडिकल शिक्षा, कृषि शिक्षा, विज्ञान शिक्षा, प्रविधि शिक्षा, पर्यटन शिक्षा लगायत सबै विधामा राम्रो विकास गर्नुपर्ने अवस्था छ र त्यो पुरा गर्ने जिम्मेवारी यिनै विश्वविद्यालयहरूको हो । जुन हामीले योजनाबद्धरूपमा काम गर्यौं भने सम्भव छ । यसको लागि सरकारले लगानी गर्नुपर्छ ।

सरकारले लगानी गर्यो र हामीले काम गर्यौं भने हाम्रो शैक्षिक उत्पादन नेपालदेखि विश्वव्यापीरूपमा दक्ष एवं अब्बल जनशक्तिको हिसाबले माग योग्य बन्न सक्छ । यति मात्रै होइन हाम्रो माटो अनुकुलको जनशक्ति पैदा भएपछि यो सुन्दर मुलुकलाई विकसित बनाउने सपना पनि पूरा हुन्छ ।

विश्वविद्यालयको उपकुलपतिको लागि अन्य १७ जनाले पनि आवेदन गर्नुभएको सन्दर्भमा तपाईं छनोट हुने सम्भावना कत्तिको देख्नुभएको छ ?

हो, सबैले आफ्नो दृष्टिकोणसहित आवेदन गर्नुभएको छ । छनोट गर्ने सरकारको विधि पद्दति पनि छ । तर, विश्वविद्यालयलाई नजिकबाट हेर्ने र बुझ्ने विषयमा साथै समस्याको पहिचान गर्ने र समाधानका लागि पहल गर्ने विषयमा कसले भूमिकाको प्रयत्न गरिरहेको छ भन्ने विषयमा सम्बन्धित व्यक्तिहरूले अध्ययन गर्नुहोला । मेरो विचारमा म सर्टलिस्टमा पर्छु भन्ने लागेको छ । त्यसो हुन सकेमा मैले विश्वविद्यालयको आगामी दिनको विकासका विषयमा प्रस्तुति गर्नेछु । मैले कुनै काल्पनिक विषय प्रस्तुत गर्न खोजिरहेको छैन, जुन विश्वविद्यालयको थप विकास गर्नका लागि गर्न सकिने, सम्भावित र आवश्यक एवं न्यूनतम विषयहरू पेस गर्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.