अधिकांश पीएसपी र पीएसओ घाटामा छन् : गभर्नर अधिकारी

  २०८० फागुन ११ गते १९:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अधिकांश पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) र पेमेन्ट सर्भिस अपरेटर (पीएसओ) घाटामा रहेका बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित फिनटेक कन्भर्सेसन मा बोल्दै उनले सो बताएका हुन् ।

‘राष्ट्र बैंकबाट इजाजत पाएका अधिकांश पीएसपी र पीएसओ घाटामा चलिरहेका छन्,’ उनले भने ।

राष्ट्र बैंकले डिजिटललाई जोड दिइरहेको बताउँदै गभर्नर अधिकारीले फिनटेकले यसलाई थप विस्तार गर्न भूमिका निर्वाह गरेको बताएका छन् । ‘कुनै बेला चेक साट्न वा सेटलमेण्ट हुन महिना दिन लाग्थ्यो । दार्चुलाको चेक त झन् बढी समय लाग्थ्यो । तर अहिले धेरै परिवर्तन भएको छ,’ उनले भने ।

साथै, उनले अर्थतन्त्रलाई डिजिटल बनाउन नीतिगत सुधार गर्नुपर्ने भएमा राष्ट्र बैंकलाई सुझाव दिन आग्रह गरेका छन् । त्यस्तै, गर्भनर अधिकारीले व्यक्तिहरुले आफ्नो पासवर्डदेखि आफ्नो गोपनियतामा ध्यान दिन नसक्दा सिस्टमलाई दोष दिने चलन रहेको समेत बताए ।

‘अब क्रस बोर्डर डिजिटल कारोबार गर्न सक्ने गरि भारतमा पनि क्यूआरको माध्यमबाट कारोबार गर्न सकिनेछ । एक डेढ महिनाभित्र कारोबार गर्न सकिने गरि काम गरिरहेका छौं । नेपालको प्रविधि विदेश लैजान पहल भइरहेका छन् । नेशनल आइडिलाई डिजिटल कार्ड बनाउन राष्ट्र बैंकको सुझाव छ,’ कार्यक्रममा बोल्दै गभर्नरले भने ।

पर्यटकहरूलाई डिजिटल कारोबारका लागि पर्यटन मन्त्रालय र विभागसँग छलफल भइरहेको बताउँदै गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमै अस्थायी रूपमा पर्यटकहरूलाई निश्चित अवधिका लागि क्यूआर कोड दिने तयारी थालिएको जानकारी गराए ।

त्यस्तै, गभर्नर अधिकारीले राष्ट्र बैंकको गुनासो पोर्टलमा आउने गुनासाहरुमध्ये ९८ प्रतिशत सेटल भइसकेको बताउँदै भने- ‘पछिल्लो समयमा लघुवित्त र बैंक सम्बन्धी गुनासो धेरै आएका छन् । विदेशको तुलनामा नेपालमा डिजिटल कारोबारको शुल्क न्यून छ तर यसैसम्बन्धी गुनासो धेरै आउने गरेका छन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.