मन्दीमा फस्टाएको व्यवसाय, नेपाली विदेशिँदा उच्च आय

  २०८० फागुन ९ गते १५:२८     ऋतु

काठमाडौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस होस् वा विनाशकारी भूकम्प अथवा अरू कुनै विपद् । यस्ता सबै संकटमा एकनास चलिरहने व्यवसाय हो रेमिट्यान्स ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पमात्र नभई २०१९ मा विश्वव्यापी रूपमा ठूलो परिमाणमा जनधनको क्षति गरेको कोरोना भाइरस (कोभिड-१९) महामारीका बेला पनि नेपालको रेमिट्यान्स व्यापार खासै ओरालो लागेन ।

अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि नेपालबाट दैनिक करिब २ हजारहाराहारी नेपाली श्रम खोज्न विदेश गइरहेका छन् । यसको अर्थ विदेशमा गएर काम गरिरहेका नेपालीले बर्सेनि खर्बौं रुपैयाँबराबर रेमिट्यान्स (विप्रेषण) नेपाल पठाइरहेका छन् ।

सायद यसैको परिमाण हुन सक्छ भूकम्प, कोरोना महामारी वा अन्य विपद्का बेला मुलुकको अर्थतन्त्र धानेको ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामै ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो परिमाण गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको दाँजोमा  २५.३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो ।

‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।’

रेमिट्यान्स बढेको यो तथ्यांकलाई चालु आर्थिक वर्षमा विदेश काम गर्न जाने नेपालीको संख्याले पुष्टि गर्छ । केन्द्रीय बैंकको सोही प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष पहिलो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९ सय ७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४ सय ३५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७५ हजार ६ सय ४३ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४२ हजार ५ सय ४८ रहेको छ ।

मुलुक बनाउने युवा जनशक्ति देश पलायन हुने क्रम रात दुई गुणा दिन चौगुणा बढिरहेको चिन्ता एकातिर भए पनि रेमिट्यान्स वृद्धिले परिवारको आर्थिक भरथेग गर्न विशेष योगदान गरिरहेकोमा दुई मत नहोला ।

विदेशमा काम गरिरहेका नेपालीले कमाएर स्वदेश पठाउने रकमलाई औपचारिक माध्यमबाट सम्बन्धित परिवारको हातमा पुर्याउने रेमिट्यान्स व्यापार सदाबहार हुनुको कारण पनि यही हो ।

महिनामै खर्ब बढीको रेमिट्यान्स भित्र्याउन सहयोग गरिरहेका रेमिट कम्पनीहरूको व्यापार अपार भइरहेको देखिन्छ । दर्जनौं रेमिट कम्पनी यो व्यपारमा संलग्न छन् । भलै, केहीले भने ठूलो बजार हिस्सा ओगटेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ अर्ब ३ करोड रूपैयाँ रेमिट्यान्स  भित्रिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ९ अर्ब ६१ अर्ब ५ करोड भित्रिएको थियो । सोही वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको थियो ।

२०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले बढेर १० खर्ब ७ अर्ब ३१ करोड भित्रिएको थियो ।

उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य वृद्धि भई ३ लाख ५४ हजार ६ सय ६० पुगेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या त्यसबेला १९८.५ प्रतिशतले बढेर २ लाख ८२ हजार ४ सय ५३ पुगेको थियो ।

त्यस्तै २०७९/८० मा रेमिट्यान्स २१।२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड भित्रिएको थियो । अघिल्लो वर्ष ४.८ प्रतिशतले बढेको थियो

सोही वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७ सय ४ पुगेको थियो ।

राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्य रेमिट्यान्स आप्रवाह बढ्नु र लामो समयपछि चालु खाता बचतमा जानु अर्थतन्त्रको वाह्य क्षेत्र थप सुदृढ हुँदै जानु भएको बताउँछन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएका कारण पनि रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि भएको आचार्यको भनाइ छ ।

‘कोरोना महामारीको समय रेमिट्यान्स वृद्धिदर घाटामा थियो, त्यसपछिका  वर्षदेखि क्रमशः बढिरहेको छ,’ आचार्यले विकासन्युजसँग भने, ‘चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ३३ अर्ब बढीे रेमिट्यान्स आप्रवाह भएको तथ्यांकले देखाएको छ, यसलाई अर्थतन्त्र सुधारका लागि राम्रो संकेत मान्न सकिन्छ  ।’

अहिलेको अवस्थामा नेपालीहरू स्वदेशभन्दा विदेशमा बढी रमाउन थालेकाले पनि रेमिट्यान्समा वृद्धि भइरहेको उनको विश्लेषण छ ।

‘अहिले नेपालीले गुणस्तरमा पनि ध्यान दिन थालेको अवस्था छ,’ उनी भन्छन्, ‘पहिला सामान्य काममा पनि बाहिरिन्थे, अहिलेको अवस्थामा सीप सिकेर राम्रो देश जाउँ भन्ने कन्सेप्ट पनि बस्न थालेको छ ।’

आचार्यका अनुसार सीप सिकेर विदेशिनेको पारिश्रमिक पनि राम्रो हुन्छ । विदेशमा श्रमिकको ज्याला पनि बढेको छ । दसैंतिहारमा रेमिट्यान्स बढ्ने ट्रेन्ड पनि रहेको उनी बताउँछन् ।

‘दसैंतिहारमा रेमिट्यान्स अलि बढी आउँछ, किनभने पर्व मान्न भनेर परिवारलाई पैसा पठाउँछन्,’ उनी भन्छन्, ‘रेमिट्यान्स बढ्ने कारण एउटा यो पनि हो ।’

उनका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना ३ लाख ४३ हजार बढी नेपाली कामका लागि तेस्रो मुलुक गएका छन् । ‘भारत जानेको संख्या पनि उच्च छ । ‘विदेशिनेको संख्या बढ्दै जाँदा रेमिट्यान्स पनि बढ्दै गएको हो, जुन अझ बढ्दै जान सक्छ,’ उनी भन्छन् ।

सूचना अधिकारी आचार्यका अनुसार पहिला नेपालीको मुख्य श्रम गन्तव्य सामान्य हुने गरेको थियो । अहिले युरोप, अमेरिका, भारत, जापान, कोरिया जानेको संख्यामा पनि वृद्धि हुँदा आम्दानी पनि बढेको हो ।

अहिले सबैभन्दा धेरै रेमिट्यान्स भारतबाट भित्रिने आचार्य बताउँछन् । नेपालमा भित्रिने रेमिट्यान्सको स्रोत मुलकमा भने खाडी मुलुककै वर्चश्व छ । केही समययता युरोप, अमेरिकालगायत देशबाट रेमिट्यान्स आउने क्रम बढेको उनको भनाइ छ ।

गत आर्थिक वर्ष पहिलो ६ महिनामा ४ लाख १४ हजार ५ सय ४६ जना विदेशिएका थिए । वैदेशिक रोजगार विभागका अनुसार २०८० साउनमा काम खोज्दै ५५ हजार ५ सय ७५ विदेशिएका थिए भने पुसमा ६५ हजार ८ सय १३ नेपालीले नयाँ श्रम स्वीकृति लिए । गत पुसमा जारी श्रम स्वीकृति अघिल्लो वर्ष पुसको दाँजोमा धेरै हो ।

गएको ६ महिनामा विदेशिएका करिब साढे ३ लाख नेपालीमध्ये सबैभन्दा धेरै यूनाइटेड अरब इमिरेट्स (यूएई) गएका छन् । त्यसबेला  ८४ हजार ८ सय ५५ नेपाली काम खोज्दै विदेशिएका थिए ।

त्यसैगरी मंसिरमा मात्र १८ हजार ४ सय ९३ नेपाली यूएई गए । पुसमा १६ हजार ३ सय ८५ गए । पुसमा साउदी अरब जाने नेपाली १४ हजार ३ सय ७ थिए भने कतारमा १४ हजार १८ पुगेको विभागको तथ्यांक छ ।

‘यो वर्ष रेमिट्यान्स साढे १४ खर्ब पुग्छ’

रेमिट्यान्स व्यवसायीहरूको छाता संस्था नेपाल विप्रेषक संघका महासचिव सञ्जय सिग्देल चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स आप्रवाह उत्साहजनक भएको बताउँछन् । दुई वर्ष अवधिमा धेरै नेपाली विदेशिएको उनी बताउँछन् ।

‘गत वर्ष रेमिट्यान्स आप्रवाह १० खर्ब थियो,’ उनी भन्छन्, ‘अहिले ६ महिनामै हामी ७ खर्बमाथि पुगिसकेका छौं, यो हिसाबमै जाने हो भने आर्थिक मसान्त पुग्दासम्म १४ खर्ब ५० अर्ब पुग्ने अनुमान छ ।’

उनका अनुसार अन्तर्राष्ट्रिय श्रम बजार गएका नेपाली कामदारले अवैधभन्दा वैध च्यानलबाट पैसा पठाएकाले रेमिट्यान्स बढेको हो ।

राष्ट्र बैंकका अनुसार अहिले २३ वटा संस्थाले राष्ट्र बैंकबाट लाइसेन्स लिएर रेमिट्यान्स भित्र्याइरहेका छन् ।

नेपालको सन्दर्भमा कुरा गर्दा २३ वटा कम्पनीको हिसाब गर्दा एउटा कम्पनीमा अधिकतम ३० जना हुन्छन् । न्यूनतम १० देखि १५ जना कर्मचारी हुन्छन् । बाहिरको कुरा गर्दा एउटामा २ जनासम्म आबद्ध हुन्छन् । रेमिट्यान्स क्षेत्रमा १ लाख हाराहारीले रोजगारी पाएका छन् ।

‘बिजनेसको हिसाबले कुरा गर्ने हो भने पनि राम्रै छ । रेमिट्यान्स आउने विषयमा हाम्रो नेटवर्कमा जति पनि बसिरहेका छन्, उनीहरूकै माध्यमबाट सबै कुरा जाने हो,’ सिग्देल थप्छन्, ‘रेमिट्यान्स जति वृद्धि हुन्छ त्यो ट्रान्जेक्सनको नम्बर भोलुममा आउँछ । भोलुम आइसकेपछि त्यसको आधारमा उनीहरूले कमिसन पाउँछन । ट्रान्जेक्सन बढे कमाइ पनि बढी र घटे कमाइ कम हुन्छ ।’

हाल मुलुकमा आईएमई रेमिट, सिटी एक्सप्रेस, ईसेवा, प्रभु, जीएमई, आई पे रेमिट, सिजी फिन्को, नेपाल रेमिट, हुलास रेमिट, सम्सारा रेमिटलगायत कम्पनीले रेमिट्यान्स व्यवसाय गरिरहेका छन् । विदेशिने बढ्दै जाँदा यी कम्पनीहरूको कमाइ पनि राम्रो देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.