आधा दर्जन बैंकले आउँदो वर्ष लाभांश नदिने, सकसमा पनि सहज बिजनेस गर्दै स्ट्याण्डर्ड चार्टर्ड

  २०८० फागुन ७ गते १३:०८     सन्तोष रोकाया

काठमाडौं । आधा दर्जन वाणिज्य बैंकहरूले आगामी वर्ष पनि लाभांश नदिने सम्भावना देखिएको छ । चालु आर्थिक वर्षमा साढे ८ प्रतिशतको पुँजी कोष कायम नगरेका वाणिज्य बैंकहरूले यो वर्षको नाफाबापतको लाभांश आउँदो वर्ष वितरण गर्न नपाउने देखिएकाे हाे ।

अहिले विशेषगरि आधा दर्जन वाणिज्य बैंक प्राथमिक पुँजी कोषको ठूलाे दबाबमा छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार कुमारी, प्रभु, माछापुच्छ्रे, हिमालयन, नबिल र एनआइसी एशिया बैंक पुँजी कोषको दबाबमा छन् । पुँजी कोषको दबाबकै कारण यी बैंकहरूले कर्जा लगानी पनि गर्न सकिरहेका छैनन् ।

राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार पुससम्म कुमारी बैंकको ८.०३ प्रतिशत, प्रभुको ८.१२ प्रतिशत, माछापुच्छ्रेको ८.६६ प्रतिशत, हिमालयनको ८.७० प्रतिशत र नबिलको ८.९३ र एनआइसी एसिया बैंकको पुँजी कोष ९.०४ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार आगामी असारभित्र हाल कायम रहेकाे ८.५ प्रतिशतको प्राथमिक पुँजी कोषलाई ९ प्रतिशत पुर्‍याउनु पर्नेछ । यो व्यवस्थाले ९ प्रतिशतभन्दा कम र सोको हाराहारीमा रहेका बैंकलाई ठूलो दबाब परेकाे छ । ९ प्रतिशतभन्दा कम पुँजी कोष भएका बैंकहरूले आउँदो वर्ष लाभांश दिन सक्दैनन् ।

नेपाल राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर थप ०.५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरेसँगै बैंकहरूले चालु आवभित्रै ९ प्रतिशतको प्राथमिक पुँजीकोष (टायर वान) कायम गर्नु पर्ने भएको हो ।

पुसको तथ्यांक अनुसार कुमारी र प्रभु बैंकले लाभांश दिन नसक्ने प्रष्ट भइसकेको छ । किनकी यी दुई बैंकको प्राथमिक पुँजी कोष साढे ५ प्रतिशतभन्दा कममा झरिसकेको छ । आगामी असारसम्म बिजनेस विस्तार नगरेर स्थिर रहे पनि माछापुच्छ्रे, नबिल र हिमालयनले पनि लाभांश वितरण गर्न सक्ने स्थिति रहँदैन । असारसम्म रिकभरीमा जोड दिएर व्यवसाय विस्तार नगर्न सकेमा आधा दर्जन बैंकले लाभांश वितरण गर्न नसक्ने अवस्था देखिएको हो ।

एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकांश बैंकले आगामी लाभांश वितरण गर्न सक्ने अवस्था नरहेको बताउँछन् । उनका अनुसार लाभांश वितरण गर्न सक्ने बैंकले पनि मुद्दति निक्षेपको ब्याजको हाराहारीमा वितरण गर्नेछन् । अहिले पुँजी कोषको ठूलो दबाब र गुणस्तरीय कर्जाको माग नहुँदा बैंकहरू पेनिक बन्दै गएकाे उनकाे भनाइ छ ।

असारपछि थप ८ वटा वाणिज्य बैंक पनि पुँजी कोषको थप दबाबमा पर्ने देखिएको छ । सात वटा वाणिज्य बैंकले बिजनेस अगाडि बढाए पनि सहज अवस्थामा नै हुनेछन् ।

अहिले ८.५ प्रतिशत कम पुँजी कोष भएका बैंकहरूले आगामी वर्ष पनि यस वर्षको लाभांश वितरण गर्न पाउने छैनन् । किनकी नेपाल राष्ट्र बैंकले पुँजी कोष कायम गर्न नसक्ने बैंकलाई लाभांश वितरण गर्न रोक लगाउँछ ।

यो वर्ष गत आवको नाफाबाट कुमारी, कृषि विकास, प्रभु, हिमालयन, प्राइम कमर्सियल एनएमबिले पनि लाभांश वितरण गर्न सकेनन् । आउँदो वर्ष पनि आधा दर्जन बैंकले नै लाभांश वितरण गर्न नसक्ने स्थिति बनेको हो ।

अन्य बैंकलाई पुँजी कोषको कारण बिजनेस विस्तारमा सकस भइरहेको भए पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुँजी कोष भने सहज अवस्थामा छ । बैंक अझै पनि व्यवसाय विस्तार गर्न सक्ने स्थितिमा छ । बैंकको हाल प्राथमिक पुँजी कोष १३.२६ प्रतिशत र कुल पुँजीकोष १६.०७ प्रतिशत छ ।

यस्तै, कृषि विकास बैंक पनि बिजनेस विस्तार भन्दा पनि ऋण असुलीमा लागेकोले उसको पुँजी कोष पनि केही सहज अवस्थामा देखिन्छ । पुससम्मको तथ्यांक अनुसार कृषि विकास बैंकको प्राथमिक पुँजी कोष ११.४५ प्रतिशत छ । साढे ८ प्रतिशत हुनु पर्ने यो सूचक ११.४५ प्रतिशत भनेको सहज अवस्था हो ।

नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्य पुँजी कोष कम भएका बैंकहरूलाई राष्ट्र बैंकले निगरानी गरिरहेको बताउँछन् । उनका अनुसार सबै बैंकहरू पुँजी कोषको दबाबमा नभए पनि केहीलाई भने केही चाप परेको छ ।

‘अर्थतन्त्र केही दबाबमा छ, ऋणको माग छैन, प्रवाह भएको ऋण उठ्न सकेको छैन, केही बैंकलाई थोरै दबाब छ, हामीले निगरानी गरिरहेका छौं, पुँजी कम भएकालाई केही निर्देशन पनि दिइरहेका छौं, हामीले ती बैंकहरूको सक्ष्म ढंगले ‘अफसाइट र अनसाइट’ निरीक्षण गरिरहेका छौं,’उनी भन्छन्, हामी त्यति गाह्रो अवस्थामा भने छैनौं ।’

कुन बैंकको पुँजी कोष कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.