व्यावसायिक अस्तित्वको दोसाँधमा कमलादी, लाखौं तिर्दा पनि सटर नपाइने ठाउँ यसरी बन्दैछ खाली

  २०८० फागुन ६ गते १९:०५     ऋतु


काठमाडौं ।  लामो समयदेखि व्यावसायिक हबका रूपमा चर्चित छ कमलादी । अझ विभिन्न वाणिज्य बैंकका केन्द्रीय कार्यालय रहेकाे ठाउँ भएकाले पनि धेरैले कमलादीलाई बैंकिङ हबका रूपमा चिन्छन् ।

कुनै समय यस्तो थियो, मासिक लाखौं भाडा तिर्छुभन्दा पनि व्यवसायीले व्यवसायका लागि सानो सटर पाउँदैनथे कमलादीमा । खाली हुन लागेको सटर पाउन पनि ठूलो रकम सलामी तिर्नुपर्थ्याे । तर, अब त्यो दिन रहेन । कमलादी खाली हुँदैछ । एउटा होइन, दुइटा होइन, कमलादी क्षेत्रका अधिकांश व्यावसायिक भवन तथा सटर अहिले खाली छन् । वर्षौंदेखि व्यवसाय गर्दै आएका व्यवसायी घर खाली गरेर हिँडिसकेका छन् ।

विडम्बना, हिजो सानो सटरका लागि लाखौं तिर्न तयार हुने व्यवसायीहरूको नजरमा अहिले कमलादी पर्दैन । त्यसको एउटै कारण हो अर्थतन्त्रमा देखिएको सकस । मुलुकको अर्थतन्त्रमा देखिएकाे सकस अझै पार लागेको छैन । देशका विभिन्न सहर तथा व्यापारिक क्षेत्रको चहलपहल सुस्त नै छ । लामो समयदेखि व्यापार व्यवसाय तथा उद्योगधन्दा सञ्चालन गरिरहेका व्यवसायीहरू व्यापार भएन र खर्च धान्न पनि समस्या भयो भन्दै गुनासो गरिरहन्छन् ।

तर, प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर लगायतका सार्वजनिक निकायका जिम्मेवार व्यक्तिहरू भने अर्थतन्त्रले एउटा लय समातिसकेको धारणा राखिरहेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो ‘आर्थिक संकट’ टरेको दाबी गर्न भ्याए । तर, उनले सँगसँगै अर्थतन्त्रलाई माथि उकास्ने चुनौतीका चाङ भने बाँकी रहेको बताउन भने भुलेनन् ।

केही समययता व्यापार-व्यसायमा एक किसिमको मन्दी छाएको छ । सहर बजारका व्यापारिक केन्द्रका सटर धमाधम खाली भइरहेका छन् । यसले नजानिँदो पारामा निरन्तरता पाइरहेको छ । त्यसमाथि व्यवसाय नै छाडेर पलायन हुनेहरूको संख्या पनि बढिरहेको छ । अझै भन्नुपर्दा निजी क्षेत्र निराश अवस्थामा छ ।

अर्थतन्त्रमा छाएको सुस्तताबीच सरकारका जिम्मेवार निकायहरू भने अर्थतन्त्रको संकट टरेको रटान लगाइरहेको देखिन्छन् ।

के अर्थतन्त्रको सुस्तताले समाधानकाे बाटाे देखाएकै हाे ? के अर्थतन्त्रले लय समातेकै हो ?

पक्कै होइन, एउटा ताजा घटना हेर्दा सरकारले दाबी गरेको कुरा मिथ्या सावित हुन्छ ।

कुनै बेला सटर भाडामा लिनकै लागि ‘तँछाडमछाड’ हुने राजधानी काठमाडौंका अधिकांश व्यावसायिक हबहरूका भवन तथा गोदाम फेरि खाली हुन थालेका छन् । लामो समयदेखि सुरु भएको समस्या अहिले पनि जारी नै छ ।

यसमा राजधानीको एक प्रमुख व्यापारिक केन्द्र कमलादीको रित्तिदै गएको स्वरूपले थप पुष्टि गर्छ ।

तीन-चार वर्ष अघिसम्म व्यावसायिक सटर र अफिसका लागि फ्ल्याट भाडामा पाउन मुस्किल पर्ने कमलादी अहिले पसल भाडामा, पसल बिक्रीमा, सटर खाली, फ्ल्याट खाली र टु–लेट लेखिएका सूचनाले भरिभराउ छ । काठमाडौंको मुख्य व्यापारिक हबमा नै अधिकांश भवन भाडामा भनेर सूचना टाँसिदा मुलुकले ‘आर्थिक संकट’बाट पार पायो भन्नुको कुनै तुक नहुने सम्बद्ध व्यवसायी बताउँछन् ।

व्यापारमा नै मन्दी छाएका कारण अधिकांश सटर खाली भएको व्यापारीहरू स्वयं बताउँछन् । कमलादीमात्रै होइन न्यूरोड, सुनधारा, दरबारमार्ग, बानेश्वरलगायत क्षेत्रका अधिकांश सटर खाली हुन थालेका छन् ।

एकातिर महँगी र अर्कातिर लागत बढ्दा उद्योग, कलकारकाखाना र व्यवसाय बन्द हुने क्रम बढेकाले व्यवसाय नै छाड्न बाध्य भएको गुनासो व्यवसायीकै छ ।

कमलादीमा एक दशकदेखि व्यापार गर्दै आएका दोलखाका राम खड्का विगत दुई-तीन वर्षको तुलनामा व्यापार ६० देखि ७० प्रतिशतसम्म खस्केको गुनासो गर्छन् ।

‘पहिला सात वर्ष साउदीमा पसिना बगाएर केही रकम जम्मा गरेको थिएँ, त्यही ल्याएर यहाँ फर्निचर व्यवसायमा लगानी गरेँ, ‘केही समयअघि कोरोना महामारी आयो र व्यवसाय ठप्प पार्‍यो , अहिले फेरि आर्थिक मन्दी भन्छन्, ग्राहक पनि आउँछन् तर मूल्य मात्रै सोधेर फर्किन्छन्,’ दुःखी हुँदै उनी भन्छन्, ‘अब व्यवसाय नै छाड्ने योजनामा छु ।’

फर्निचर व्यवसायमा करोड बढी लगानी गरेका खड्काले लगानी पनि उठ्ने स्थिति नरहेको भन्दै चिन्ता व्यक्त गरे ।

त्यस्तै, कमलादीमै पर्दा, सोफा तथा कार्पेट पसल सञ्चालन गरिरहेका अंकित अग्रवाल पनि अहिले मासिक आम्दानीको हिसाब गर्न नमिल्ने अवस्था रहेको बताउँछन् ।

‘यहाँको भाडा पनि महिनाकै डेढ लाख रुपैयाँ पर्छ,’ अग्रवाल भन्छन्, ‘घरबेटीले पनि व्यवसाय चलेको छैन भनेर भाडा घटाउने होइनन्, भाडासम्म नउठ्ने गरी के व्यवसाय गर्नु भन्ने अवस्थामा पुगियो ।’

कमलादीमै इलेक्ट्रिक तथा लाइट हाउस सञ्चालन गरिरहेका विकास चौलागाईंले विगतका वर्षमा जस्तो व्यापार गर्न नसकिएको भन्दै नैराश्यता व्यक्त गरे ।

‘देशमा महँगी दिनहुँ बढेको बढ्यै छ, नागरिकको आम्दानी बढेको छैन,’ उनी भन्छन्, ‘मन फुकाएर खर्च गर्ने अवस्था कसैको छैन, अनि सटर बन्द गर्ने अवस्था आउने नै भयो ।’

आठ वर्षअघि दोलखा चरिकोटबाट कामको सिलसिलामा चौलागाईं काठमाडौं पसेका थिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका उनीसँग तीन महिना एउटा विकास बैंकमा काम गरेको अनुभव पनि छ । जागिरमात्रै गरेर प्रगति नहुने देखेपछि उनले साथीसँगको साझेदारीमा यो व्यवसाय सुरु गरेका थिए । तीन वर्षपछि उनका साथीले व्यवसाय छाडे ।

‘साथीले छाडिहाले पनि मैले निरन्तरता दिन बैंकबाट ५ लाख ऋण लिएँ,’ उनी भन्छन्, ‘त्यसपछि बजारमा मन्दी सुरु भयो, अहिले त्यही ऋण तिर्न सकेको छैन, पसल बेच्न खोज्दै छु, किन्ने कोही छैन, भए पनि सस्तोमा खोज्छन्, अहिलेको अवस्थामा भाडा र बैंकको ऋण तिर्न पाए त्यही नै राहतको विषय हुन्थ्यो ।’

व्यवसायीहरू यी सबै अवस्थाको कारक कोभिड, बैंक ब्याजदर र आर्थिक मन्दी रहेको बताउँछन् । कमलादीमा व्यापारिक सटर मात्रै होइन, कर्पोरेट भवन पनि धमाधम खाली भइरहेका छन् ।

आम्दानी घटेपछि अत्यावश्यकबाहेक अन्य वस्तुको खरिद घट्नु स्वाभाविक भएकोे उनीहरूको अनुभव छ ।

सरकारको आँखाले अर्थतन्त्र चलायमान भएको देखिइरहँदा व्यापारीको भने उठीबास हुने अवस्था आएको नेपाल व्यापार संघका अध्यक्षकुमार कार्की बताउँछन् ।

‘अहिले व्यापारमा सुक्खा लागेको छ, जताततैका सटर खाली भइरहेका छन्, यो-त्यो ठाउँ भन्ने भएन,’ अध्यक्ष कार्की भन्छन्, ‘सानादेखि ठूलासम्मका व्यवसायी तनावमा छन्, बैंकको ब्याज चर्काे छ, ब्याजको पनि ब्याज तिर्नुपर्दा व्यापारीको ढाड सेकिएको छ ।’

कोरोनापछि नै खस्किएको व्यापार व्यवसाय बिस्तारै लयमा फर्किएला भन्ने आशा राखेका व्यवसायीको अवस्था नाजुक बन्दै गएको कार्की बताउँछन् । कार्कीका अनुसार घरधनीको भाडा वृद्धि, बैंकको उच्च ब्याजदर र ऋणको किस्ता तिर्न नसक्दा ५० देखि ६० प्रतिशत व्यापारिक सटर खाली भएका छन् ।

‘बजार चलायमान नहुँदा व्यवसायीसँग सटर भाडा तिर्न सक्ने क्षमता छैन, बैंकको ब्याज कसरी तिर्ने ?,’ उनी प्रश्न गर्छन्, ‘बाध्य भएर व्यवसायबाट नै पलायन हुने अवस्था आयाे ।’

सरकारले रेमिट्यान्स बढेको देखेरमात्रै अर्थतन्त्रमा सुधार भएको भन्न नमिल्ने अध्यक्ष कार्कीको तर्क छ ।

‘देशमा रोजगारी सिर्जना हुन नसकेर परिवार पाल्नका लागि युवा जनशक्ति बाहिरिएको अवस्था छ,’ उनी दुःखी हुँदै भन्छन्, ‘अब देशका युवा व्यवसायीको आत्महत्या गर्ने स्थिति बनेको छ, कतिले आत्महत्या नै गरे पनि, यो पीडा कसले देख्ने, कसले सुन्ने ?’

पर्यटन क्षेत्रमा केही सुधारको संकेत देखिए पनि उद्योग क्षेत्रको स्थिति भने नाजुक रहेको कार्कीको भनाइ छ । बजार चलायमान बनाउन सबैभन्दा पहिले बैंकको ब्याजदर घट्नुपर्ने उनी बताउँछन् ।

अध्यक्ष कार्कीका अनुसार उपभोक्ताको आम्दानी नबढ्दा बजार सुनसान छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक बजेट चलायमान बनाउनभन्दा सरकार राजस्व उठाउनमै  केन्द्रित रहेकाले समस्याको समाधान हुन नसकेकाे कार्कीको भनाइ छ ।

महँगीको तुलनामा उपभोक्ताको आम्दानी नबढेपछि बजारमा वस्तुको मागमा कमी आएको व्यवसायी बताउँछन् । काठमाडौं उपत्यका मात्रै होइन, देशका अधिकांश ठाउँका धेरै व्यापारिक केन्द्रका सटर खाली छन् । सटर खाली हुनुले उपभोक्ता र व्यावसायी पनि पलायन भएको बुझ्न सकिन्छ ।

कालोसूचीमा पर्ने बढे

आर्थिक शिथिलता हुँदा उद्योगी-व्यवसायी कालोसूचीमा पर्ने क्रम बढेको छ । ऋणीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणकाे साँवा ब्याज तिर्न नसकेर तथा चेक बाउन्सका कारण कालोसूचीमा पर्नेको संख्या दिनानुदिन बढिरहेको छ ।

खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चले पनि अन्य व्यवसायका कारोबार न्यून रहेको भन्दै सरकारले तत्काल यो समस्या समाधानमा  प्राथमिकता दिनुपर्ने अध्यक्ष कार्की बताउँछन् । प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा बढ्ने हुँदा त्यसले पनि व्यवसायीलाई गाह्रो पारेको गुनासो कार्कीको छ ।

काठमाडौं उपत्यकामा सटर वा घर नै भाडामा लिएर व्यवसाय गरिरहेकाप्रति घरधनीले सहानुभूति नदेखाउँदा व्यवसायीहरू पलायन भइरहेको व्यवसायीहरूकै भनाइ छ ।

घरधनी सटर वा घर भाडामा लागेन भनेर गुनासो गर्ने तर आर्थिक मन्दीको सामना गरिरहेका बेला छुट तथा सहुलियत दिनुपर्छ भन्नेतर्फ उनीहरूले सोच्न नसकेको व्यवसायीहरूको गुनासो छ ।

कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको पुससम्म २७ हजार २ सय ५ जना कालोसूचीमा परेका छन् । दैनिक २ सय जना कालोसूचीमा परिरहेको केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा ३४ हजार व्यवसायी कालोसूचीमा परेका थिए ।

व्यापार-व्यवसायमा मन्दी र उद्योग-कलकारखाना पूर्णक्षमतामा चल्न नसक्दा लिलामी र कालोसूचीमा पर्नेको संख्या दिनहुँ बढेको यो तथ्यांकले प्रष्ट पार्छ । वर्तमान अवस्थामा खर्च धान्न नसकेपछि ४/५ वटा सटर लिएर व्यवसाय गर्ने व्यवसायीको २ सटरमा व्यवसाय गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

सम्बन्धित सामग्री : महँगो सटर भाडा, अनलाइन सपिङ र पार्किङले कसरी डुबे व्यापारिक केन्द्र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.