कर्मचारीको तलब सुविधामा निजीभन्दा बलियो बन्दै सरकारी बैंक, कुन बैंकमा बढी तलब ?

  २०८० फागुन ४ गते १९:०५     विकासन्युज

काठमाडौं । कर्मचारीको तलब सुबिधामा सरकारी बैंक अब्बल बन्दै गएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकभन्दा सरकारी स्वामित्व रहेका बैंकमा काम गर्ने कर्मचारीले बढी सेवा सुविधा उपभोग गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको तथ्यांक अनुसार सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले अन्य वाणिज्य बैंकको तुलनामा कर्मचारीका लागि बढी खर्च गरेका हुन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कर्मचारीमा सबैभन्दा बढी खर्च राष्ट्रिय वाणिज्य बैंकले गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीका लागि पुसमा सबैभन्दा बढी अर्थात् २ अर्ब १२ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । बैंकमा हाल २ हजार ६४६ जना कर्मचारी कार्यरत छन् । यो हिसाबले बैंकले एक जना कर्मचारीका लागि मासिक औसत ८ लाख रुपैयाँ खर्च गरेको तथ्यांकले देखाउँछ ।

उसो त कर्मचारीका लागि सबैभन्दा राम्रो सेवा सुविधा पाइने बैंकका रूपमा विदेशी लगानीसमेत रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई लिइन्छ । यो बैंकले पुसमा कर्मचारीका लागि ५१ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । हाल यो बैंकमा कुल ५०४ जना मात्रै कर्मचारी छन् । यस बैंकले एक जना कर्मचारीमा मासिक औसत १० लाख रुपैयाँ खर्च गरेको देखिन्छ ।

यस्तै, सरकारी स्वामित्वको नेपाल बैंकले पनि कर्मचारीका लागि राम्रो खर्च गरेको देखिन्छ । नेपाल बैंकले पुस महिनामा कर्मचारीका लागि १ अर्ब ८४ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । हाल नेपाल बैंकमा २ हजार ७२५ जना कर्मचारी छन् । यो हिसाबमा  बैंकले एक कर्मचारीका लागि मासिक १० लाख रुपैयाँ खर्च गरेको देखिन्छ ।

यस्तै, सरकारी स्वामित्वकै कृषि विकास बैंकले पनि कर्मचारीका लागि पुस महिनामा कुल १ अर्ब ६९ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ । हाल यो बैंकमा कुल २ हजार ४ सय कर्मचारी छन् । यो हिसाबले बैंकले एक कर्मचारीका लागि मासिक औसत ७ लाख रुपैयाँ खर्च गरेको देखिन्छ ।

यस्तै, कुमारी बैंकले पनि प्रतिकर्मचारीको लागि साढे ६ लाख रुपैयाँ खर्च गरेको तथ्यांकले देखाउँछ । पुस महिनामा कुमारीले कुल २ अर्ब ८ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ भने बैंकमा ३ हजार ४ सयको हारहारीमा  कर्मचारी छन् ।

सबैभन्दा बढी अर्थात् कुल ४ हजार बढी कर्मचारी रहेको ग्लोबल आइएमई बैंकले पनि कर्मचारीका लागि पुसमा २ अर्ब ८ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ । बैंकले एक कर्मचारीका लागि मासिक औसत सवा ५ लाख रुपैयाँ खर्च गर्ने गरेको तथ्यांकबाट देखिन्छ ।

सबैभन्दा बढी नाफा गर्ने नबिल बैंकले पनि एक कर्मचारीका लागि मासिक औसत ७ लाख रुपैयाँ खर्च गर्ने गरेको देखिन्छ । पुसमा नबिलले १ अर्ब ७७ करोड ३० लाख रुपैयाँ कर्मचारीका लागि खर्च गरेको छ भने याे बैंकमा हाल कुल २ हजार २५३ जना कर्मचारी छन् ।

सिभिललाई गाभेको हिमालयन बैंकले पनि प्रतिकर्मचारीका लागि मासिक औसत साढे ६ लाख रुपैयाँ खर्च गर्ने गरेको तथ्यांकबाट देखिन्छ । हिमालयन बैंकले पुसमा कुल १ अर्ब २३ करोड ५० लाख रुपैयाँ खर्च गरेको थियो भने याे बैंकमा कुल १ हजार ९४३ जना कर्मचारी छन् ।

प्रभु बैंकले पुस महिनामा कुल १ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेको छ भने यस बैंकले मासिक प्रतिकर्मचारी औसत ५ लाख रुपैयाँ खर्च गर्ने गरेको छ । हाल यस बैंकमा कुल ३ हजार ५७० जना कर्मचारी कार्यरत छन् ।

हालै मर्जर गरेको लक्ष्मी सनराइज बैंकले एक कर्मचारीलाई मासिक औसत ६ लाख रुपैयाँ खर्च गर्ने गरेको छ । बैंकले पुसमा कुल १ अर्ब ६४ करोड रुपैयाँ खर्च गरेको छ भने बैंकमा कुल २ हजार ७ सय जना कर्मचारी कार्यरत छन् ।

प्राइम कमर्सियल बैंकले पनि मासिक औसत साढे ४ लाख रुपैयाँ एक कर्मचारीका लागि खर्च गर्ने गरेको छ । बैंकले पुसमा ६८ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ भने यस बैंकमा कुल १ हजार ४८६ जना कर्मचारी कार्यरत छन् ।

एनएमबि बैंकले पनि एक महिनामा औसत साढे ५ लाख रुपैयाँ खर्च गर्ने गरेको छ । बैंकले पुसमा कुल १ अर्ब ८ करोड रुपैयाँ खर्च गरेको छ भने बैंकमा कुल १ हजार ९८० जना कर्मचारी कार्यरत छन् ।

यस्तै, एनआईसी एसिया बैंकले पनि प्रतिमहिना साढे तीन लाख रुपैयाँ एक जना कर्मचारीका लागि खर्च गर्ने गरेको छ । बैंकले पुस महिनामा कुल १ अर्ब ३८ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ भने बैंकमा कुल ३ हजार ९४३ जना कर्मचारी छन् ।

बैंकहरूले व्यवसाय विस्तारका लागि कर्मचारीलाई प्रोत्साहनस्वरूप विभिन्न सेवा सुविधा दिने गरेका छन् । कर्मचारीको वृत्ति विकासलाई सघाउनका लागि आन्तरिक तथा बाह्य तालिमहरू संचालन गर्दै आएका छन् । कर्मचारीको कार्यकुशलता, व्यवसायिक दक्षता, व्यवस्थापकीय सीप तथा उत्पादकत्व वृद्धिका लागि स्वदेश तथा विदेशमा तालिम पनि गर्ने गरेका छन् । यस्तै, कर्मचरीको प्रोत्साहनका लागि बोनस तथा अन्य सुविधाहरू पनि बैंकले प्रदान गर्नका लागि ठूलाे रकम खर्च गर्ने गरेका छन् ।

कुन बैंकका कर्मचारीको खर्च कति ? 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.