२०८० माघ २९ गते ११:५७ सीआर भण्डारी
सुरुवाती चरणमा बीमामा एलआईसी नेपालप्रति सर्वसाधारणको विश्वास बढ्दो थियो । तर, बीमाको पहुँच थप विस्तार गर्ने उद्देश्यले प्राधिकरणले नयाँ कम्पनीहरूलाई लाइसेन्स दिएपछि भने बीमा बजारमा प्रतिस्पर्धा बढ्यो । बीमा कम्पनीबीच बजार हिस्सा बढाउने प्रतिस्पर्धा भयो । परिणामस्वरूप एउटा कम्पनीले अर्को कम्पनीको बिजनेस खोस्ने अवस्था बन्यो ।
यति हुँदा पनि एलआईसी नेपालले बीमा बजारमा आफ्नो बजार हिस्सा बढाउँदै गयो । प्रतिस्पर्धी कम्पनीहरूका माझ थप बलियो बन्दै गयो । १० वर्षको अवधिमा कम्पनीले व्यवसायमा ठूलो फड्को मारेको देखिन्छ । आर्थिक वर्ष २०७९/८०को असारसम्म कम्पनीको व्यवसाय ४५२ प्रतिशत बढेको छ । कम्पनीले यो अवधिमा १७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । आर्थिक वर्ष २०६९/७०मा कम्पनीको व्यवसाय ३ अर्ब १५ करोड रुपैयाँ थियो ।
आर्थिक वर्ष २०६९/७० मा कम्पनीले ३ अर्ब २७ करोड रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको थियो । तर, पछिललो १० वर्षको अवधिमा खुद दाबी भुक्तानी २ हजार ६३४ प्रतिशत बढेर ८ अर्ब ८६ करोड रुपैयाँ कायम भएको छ ।
यो अवधिमा कम्पनीको चुक्ता पुँजी ५५५ प्रतिशत बढेर २ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । जबकी आर्थिक वर्ष २०६९/७० मा ४० करोड ५० लाख रुपैयाँमा सीमित थियो । आर्थिक वर्ष २०७९/८०मा कम्पनीको जगेडा कोष ३६७.९५ प्रतिशत बढेर १ अर्ब २७ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०६९/७०मा २७ करोड २४ लाख रुपैयाँ थियो ।
कम्पनीको जीवन बीमा कोष ८१२ प्रतिशत बढेको देखिन्छ । आर्थिक वर्ष २०६९/७०मा ११ अर्ब ७७ करोड रुपैयाँ रहेको कोष आर्थिक वर्ष २०७९/८०मा १ खर्ब ७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
एलआईसी नेपालका सूचना अधिकारी सुदर्शन गिरी कम्पनीको संख्या बढेसँगै प्रतिस्पर्धा पनि बढेको र कम्पनीले पृथक रणनीति बनाएर आफूलाई बलियो कम्पनीका रूपमा अगाडि बढाइरहेको बताउँछन् । यसका बाबजुत पनि कम्पनीको ‘नम्बर वान’ बन्ने प्रतिस्पर्धामा भने रहेको उनी बताउँछन् ।
‘विगतमा एलआईसी नेपाल नम्बर वान थियो, बीमा गर्ने भनेपछि सबैले एलआईसी नै रोज्थे । तर, बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)ले नयाँ कम्पनीलाई पनि लाइसेन्स दिएपछि स्वतः आकर्षण घट्यो, १९ वटा कम्पनी भएपछि व्यवसाय पनि बाँडिन पुग्यो, बीमाको बजार नै सानो छ,’ उनले भने, ‘अब कम्पनीलाई पुरानै अवस्थामा फर्काउन वा नम्बर वान कायम गर्न विभिन्न रणनीति अपनाइरहेका छौं ।’
एलआईसी नेपालमा भारतीय कम्पनीको लगानी भएकाले कुनै पनि निर्णय गर्नु पर्दा उक्त कम्पनीसँग समन्वय गर्नु पर्ने हुन्छ । एलआईसी नेपालले आफैं निर्णय गर्न सक्ने अवस्था छैन । जसको प्रभाव कम्पनीको व्यवसायमा पनि पर्ने गरेको उनको भनाइ छ । साथै, पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा मौलाएका कारण त्यसको प्रभाव समग्र बीमा क्षेत्रमै परेको उनले बताए ।
नेपाली बीमा क्षेत्रमा बीमा गर्नेहरू अधिकांश मध्यम वर्गका छन् । बीमा गर्नेहरूमध्ये थोरै मात्रै प्रोफेसनल छन् । प्रोफेसनल नभएका व्यक्तिहरूले नकारात्मक सन्देश बजारमा प्रवाह गरेका कारण व्यवसाय विस्तारमा असर गरिरहेको उनको बुझाइ छ । गिरीका अनुसार कोरोना महामारी पछि समग्र बीमाको व्यवसाय घटेको छ ।
‘बजारमा ब्यापक प्रतिस्पर्धा छ, यही बिचमा अर्थतन्त्र एक किसिमको सकसमा छ, प्रिमियम तिर्न सक्ने मान्छेले पनि सकेनौं भनेर सरेण्डर गरिरहेका छन्,’ उनले भने, ‘यो समस्या सबैलाई परेको हो, अहिले बीमा क्षेत्रकै बजार घटिरहेको अवस्था हो ।’
तर, एलआईसी नेपालले व्यवस्थापन खर्च नियन्त्रणमा राखेको उनको भनाइ छ । उनका अनुसार अन्य कम्पनीको तुलनामा एलआईसी नेपालको खर्च कम छ । आन्तरिक लक्ष्य राखेर कम्पनीले व्यवसाय वृद्धिमा जोड दिइरहेको उनले बताए ।
‘विगतको लक्ष्यभन्दा कम लक्ष्य राखेर कम्पनीले आफ्नो व्यवसाय गरिरहेको छ, खासै उत्साहजनक अवस्था छैन,’ गिरीले भने, ‘प्राधिकरणको लगानी निर्देशिका अनुसार कम्पनीले लगानी गरिरहेको छ, वाणिज्य बैंकको मुद्दती निक्षेप र सूचीकृत कम्पनीहरूमा लगानी धेरै छ ।’
साथै, नियामकको नीतिगत कडाइका कारण पनि बीमा व्यवसायमा केही प्रभाव परेको उनी बताउँछन् । कोरोना महामारीमा बीमा गराएपछि भुक्तानी नहुँदा त्यसको नकारात्मक प्रभाव समग्र बीमा क्षेत्रले भोग्नु परेको उनको बुझाइ छ ।
‘प्राधिकरणले कोरोनाको बीमा गरेपछि पैसा आउँछ भनेर सबैले बीमा गरे । तर, बीमाको पैसा नआएपछि त्यसको नकारात्मक असर समग्र बीमा क्षेत्रमा परेको छ, यसले बीमा कम्पनीहरूप्रतिको विश्वसनियता पनि घटेको छ,’ उनले भने ।
उनका अनुसार एजेन्टहरूलाई बीमा लेख अवधिभर कमिसनको व्यवस्था गर्याे भने सेवामा गुणस्तरीयता कायम हुन्छ । तर, एजेन्टहरू कमिसन पाइसकेपछि ग्राहकहरूसँग राम्रो सम्बन्ध नराख्दा समस्या आउने गरेको उनको भनाइ छ । कमिसनको स्ट्रक्चर परिवर्तन गर्नु पर्ने उनको माग छ । बीमाप्रति सकारात्मक सन्देश पनि प्रवाह गर्न एजेन्टलाई सधैं कमिसनको व्यवस्था हुनु पर्ने उनले बताए ।
‘कमिसनको स्ट्रक्चर परिवर्तन गर्नुपर्छ, बीमा पोलिसको अवधिभर कमिसनको व्यवस्था गर्नुपर्छ । तर, पोलिसीबाट कमिसन पाएपछि वास्तै नगर्ने अवस्था छ, त्यसैले जति समय पोलिसी चल्छ, त्यति नै समय कमिसन पाउनु पर्ने व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘एजेन्टले प्रत्येक वर्ष कमिसन पायो भने ग्राहकलाई प्रिमियम बुझाउन सहजीकरण गराउँछ, सर्भिस पनि गतिलो हन्छ ।’
डिजिटलमा जोड
बीमा कम्पनीहरू पनि आफ्ना सबै काम डिजिटल्ली बनाउन जोड दिइरहेका छन् । एलआईसी नेपालले अधिकांश कामहरू डिजिटल्ली बनाइसकेको उनले बताए । बीमा लेख खरिददेखि भुक्तानीसम्म सबै कामहरू अनलाइन माध्यम बाटै हुने गरेको उनको भनाइ छ ।
‘सबै काम डिजिटल्ली भइरहेको छ, नभएका कामहरू गरिरहेका छौं, अधिकांश शाखाको पेपरहरू स्क्यानिङ गरेर डिजिटल्ली गरिसकेको छ, अब हामीले कुनै पनि तथ्याङ्क हेर्नु पर्याे भने हार्ड कपी हेर्नु पर्दैन, कम्प्युटरमा सबै सहज रूपमा हेर्न सकिन्छ,’ उनले भने, ‘अब यो वर्ष भित्र सबै शाखाको कागजपत्र स्क्यानिङ गरेर विद्युतीय योजना छ, १६/१७ लाख इमेज हामीले स्क्यानिङ गरिसकेका छौं, काठमाडौं उपत्यकाका सबै शाखाको सम्पन्न भइसकेको छ, उपत्यका बाहिरका शाखमा क्रमिकरूपमा गरिरहेका छौं ।’
कम्पनीले आफ्नो व्यवसायलाई फराकिलो बनाउँदै ब्यापक बनाउने योजना बनाएको उनको भनाइ छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बीमा कम्पनीका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लाई सम्मान गरेको थियो । कम्पनीले बीमितलाई पनि उत्कृष्ट सेवा दिने र सरकारको नजरमा पनि उत्कृष्ट कम्पनी बनेर बीमा बजारमा व्यवसाय गर्ने योजनाका साथ काम गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.