जलन भएकाहरूको निःशुल्क उपचार गर्न सरकारले अक्षय कोष स्थापना गर्नुपर्छ : डा. भण्डारी

  २०८० माघ २८ गते १४:१०     विकासन्युज

अन्य समयभन्दा चिसो समयमा नेपालमा जलनका बिरामीको संख्या धेरै हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी ७५ हजार हाराहारीमा मानिस जलनबाट प्रभावित हुन्छन् । आगो, ग्यास लिक भएर, एसिडको जलन, तेल पड्किने, तातो चिज उछिट्टिने, कुँडो पकाएको भाँडामा खस्ने, तातो चिजमा पर्ने र विद्युतीय जलन तथा आम रूपमा हुने जलन लगायत विभिन्न कारण मान्छे जलनमा पर्छन् । जलन भए के गर्ने ? के घरमै पनि उपचार गर्न सकिन्छ ? अस्पतालमा उपचार कसरी हुन्छ ? र, यसबाट जोगिन के गर्ने ? यी र यस्तै विषयहरू समेटेर विकासन्युजका लागि इन्द्रसरा खड्काले सुस्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर तथा प्लाष्टिक सर्जन डाक्टर सन्तोष विक्रम भण्डारीसँग कुराकानी गरेकी छन् ।

अस्पतालमा जलनका बिरामीहरू कत्तिको आइरहेका छन् ? कस्तो जलन बढी देखिन्छ ?

अहिले जाडोको मौसम छ । यो समयमा जलनका बिरामीको संख्या बढी हुन्छ । चिसोबाट जोगिन मान्छे आगो ताप्ने गर्छन् । अहिले अस्पतालमा आउने प्राय बिरामी आगो ताप्दा जलेकाहरू नै बढी आइरहेका छन् । हाम्रो अस्पतालमा अहिले दैनिक दुईदेखि पाँच जनाको दरले जलनका बिरामी उपचारको लागि आउने गर्दछन् ।

कस्तो अवस्थामा बिरामीहरू अस्पताल पुग्छन् ?

यो विषयमा थाहा पाएकाहरू घरमै वा पायक पर्ने अस्पतालमा प्राथमिक उपचार गरेर समयमै अस्पताल आउनुहुन्छ । यस्तो अवस्थामा आएकाहरूको उपचार गर्न हामीलाई पनि सहज हुन्छ । तर प्रायजसो बिरामी दुई दिन वा एक हप्तापछि आउने गर्छन् । जसले गर्दा उपचार पद्धतिमा समेत जटिलता थपिने गर्छ । तर जलनको बिरामी समयमै अस्पताल आउन नै सकिरहेका छैनन् ।

जलेर उपचारको लागि यो अस्पतालमा आउने बिरामी उपत्यका बाहिरका कत्तिको छन् ?

यहाँ ७७ वटै जिल्लाबाट बिरामीहरू उपचारको लागि आउनुहुन्छ । सबैभन्दा बढी तराई मधेश र सदूरपश्चिमबाट आउनुहुन्छ ।

सबैभन्दा बढी केबाट जलन भएकाहरू आउँछन् ?

आगोले र तातोपानीले हुने जलनका बिरामी यहाँ सबैभन्दा धेरै आउँछन् । त्यसैगरी केमिकल र करेन्टबाट हुने जलन अलि कम आउने गर्छन् ।

बिरामी अस्पताल आइपुग्दा उनीहरूले घरमा के-के उपचार गरेको पाइन्छ ?

धेरै जसो बिरामीले प्राथमिक उपचार नै पाएका हुँदैनन् । जलन हुने बित्तिकै आफुलाई आगोबाट टाढा राख्ने । त्यसपछि पोलेको भागमा कम्तीमा पनि २० मिनेटदेखि आधा घण्टासम्म सामान्य धाराको पानी हाल्ने । यसो गर्दा जलन गहिरो हुनबाट रोक्छ । यति गर्यो भने उपचार प्रक्रिया पनि छिटो हुन्छ । बिरामी पनि छिटै निको हुन्छ । तर, अस्पताल आइपुग्ने बिरामीमध्ये एकदमै कमले मात्र यस्तो गरेको पाइन्छ । धेरै जस्तोले घरमै गिलो माटोको लेप लगाउने, घिउकुमारी, मञ्जन, गोलभेडा अथवा अरु जडिबुटी लगायत घरेलु वस्तु घाउमा लगाएका हुन्छन्, जसले गर्दा झन् समस्या सिर्जना हुन्छ ।

कुनै व्यक्ति आगो अथवा तातो वस्तुबाट जल्यो भने तत्काल के गर्ने ?

सबैभन्दा पहिले पोलिरहेको छ भने तत्काल त्यो ठाउँबाट टाढा राख्नुपर्‍यो, कपडामा आगो लागिरहेको छ भने, त्यसलाई हटाउनुपर्‍यो यति गरिसकेपछि मैले अघि भने जस्तै धाराको पानीमा भिजाउनुपर्छ । त्यसपछि कुनैपनि सफा कपडाले घाउलाई छोपेर नजिकैको अस्पतालमा जानुपर्ने हुन्छ ।

स्वास्थ्य संस्थामा बिरामीले पाउने प्राथमिक उपचार के हो ?

एउटा छाला जाने बित्तिकै शरीरबाट धेरैभन्दा धेरै पानीको मात्रा बाहिर जान्छ । यसका लागि सबैभन्दा पहिले नर्मल स्लाइन पानी चलाउनुपर्छ । यदि त्यो ठाउँमा त्योभन्दा बाहेक अरु उपचार हुन सक्दैन भने स्लाइन चढाएर नै अर्को अस्पताल पुर्याउँनु भयो भने राम्रो हुन्छ । अर्को, जलनमा धेरै पीडा/ दुखाई हुने भएकाले दुखाई कम गर्ने औषधी पनि खुवाउनुपर्छ ।

जलनमा घरेलु उपचार के हुन्छ ?

पानीभन्दा बाहेक अरु घरमा उपचार गर्न म सल्लाह दिन्न । मान्छेले चेतनाको अभावमा नजानेर अनेकौँ गतिविधिहरू गरिरहेको पाइन्छ । तर, म घरमा जलेको भागलाई सकेसम्म धारामा बगिरहेको पानी नभए भाँडाबाटै भएपनि कम्तीमा एक घण्टासम्म पानीमा राख्न सुझाव दिन्छु । यसमा अन्य घरेलु कुनै उपचार हुँदैन ।

अस्पताल पुगेपछिको उपचार विधि के हो ?

हामी कहाँ कुनैपनि जलनको बिरामी पुग्दा सबैभन्दा पहिले कति भाग वा प्रतिशत जलेको छ, त्यो हेर्छौं। त्यसपछि दुखाई कम गर्न र पानी दिन लाग्छौँ । त्यसपछि ड्रेसिङ, अप्रेसन वा घाउ सफा यीमध्ये के गर्नुपर्ने हुन्छ ? त्यो बिरामीको अवस्था हेरेर उपचारको प्रक्रिया सुरु गर्छौं ।

सबैभन्दा बढी शरीरको कति प्रतिशत भाग जलेको बिरामी अस्पतालमा आउँछन् ?

हामीकहाँ सामान्यदेखि पुरै शरीर जलेकाहरू उपचारको लागि आउनुहुन्छ । ९० प्रतिशत र त्योभन्दा माथि पुरै जलेकाहरू पनि आउनुभएको छ । सामान्यतया ४० प्रतिशतभन्दा धेरै जलन हुने बित्तिकै बिरामीको मृत्युदर उच्च हुन्छ । ९० प्रतिशत जलन हुने बिरामी बाँच्ने सम्भावना एकदमै कम हुन्छ । यस्तो अवस्थामा उहाँहरूको उपचार भनेको बाँचेसम्मको अवस्थालाई दुखाई नहुने व्यवस्था गर्छौं ।

जलनका बिरामीले पाउनु पर्ने सेवा सुविधा अस्पतालमा कत्तिको प्रयाप्त छ ?

हामीसँग स्कीन बैंक छैन । तर, पनि हामी छाला आफैले फ्रिजमा राख्ने र पछि प्रयोग गर्ने गरिरहेका छौं । अब स्कीन बैंकको तयारीमा हामी छौं । अन्य बिरामीलाई दिनुपर्ने सबै सुविधा हामीसँग छ । हामी यो अस्पतालमा आएका बिरामीलाई अन्त रेफर गर्दैनौं । कोही विदेशमा जानुहुन्छ अथवा आफै अर्को अस्पतालमा जान्छु भन्नुहुन्छ भने हाम्रो भन्नु केही हुँदैन । जलनको उपचारको लागि हामी पूर्ण रुपमा सक्षम छौं । हामीसँग वार्डदेखि लिएर ड्रेसिङरुम,आईसीयू, भेन्टिलेटर पनि छ ।

नेपालमा जलन सम्बन्धी उपचार गर्ने अस्पताल र जनशक्ति कत्तिको प्रयाप्त छ ?

यसमा निकै समस्या छ । जलन सम्बन्धी उपचार हुने नेपालमा बिशेषगरी पाँच अस्पताल छन् । ती पनि काठमाडौं उपत्यकामा छन् । यसो हुँदा दूरदराजका बिरामीको अकालमै ज्यान पनि जाने गरेको छ । अब यो विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकार सबै लाग्नुपर्छ । सबै प्रदेशमा एउटा-एउटा जलन अस्पताल हुन आवश्यक छ । तर, यो सजिलो पनि छैन । नेपालमा प्लाष्टिक सर्जन डाक्टरको संख्या पनि कम छ । प्रत्येक जिल्ला, प्रादेशिक अस्पतालमा जलन सम्बन्धी प्राथमिक उपचारको लागि मात्र भएपनि जनशक्ति दिन पनि आवश्यक छ । अहिले नेपालमा जम्मा ३५ देखि ३७ जना मात्र प्लाष्टिक सर्जन डाक्टर छन् ।

जलनका बिरामीलाई सबैभन्दा धेरै पानीको आवश्यकता किन पर्छ ?

छाला हाम्रो शरीरको सुरक्षात्मक तह (प्रोटेक्टिभ लियर) हो । यसले बाहिरबाट संक्रमण हुन जोगाउँछ भने हाम्रो शरीर भित्र रहेको नराम्रो पानीलाई बाहिर फाल्ने, मोइस्चराइजरलाई भित्र सोस्ने काम पनि छालाले गर्छ । जलन भइसकेपछि शरीरमा भएको पानी बाहिर जान्छ । त्यसैले पानीको निकै आवश्यक्ता पर्छ ।

जलनका बिरामीले गर्न नहुने के हुन् ?

जलन भइसकेपछि आयुर्वेदिक औषधीको प्रयोग गर्न हुँदैन । जलन भइसकेपछि गोलभेडा, मञ्जनलगायतका घरमा लगाउने भनिएका कुनै पनि वस्तु लगाउन हुँदैन । किनभने जलन भएका बिरामीलाई सबैभन्दा छिटो संक्रमण हुन्छ । झन हामीले थाहा नपाएर माटोको लेप, घिउकुमारी अनेक लगाउँदा लगाउँदा झन् जटिलता निम्त्याउँछ । संक्रमण हुनु भनेको भइरहेको जलन अझै गहिरो हुनु हो । यसो हुँदा आफै निको हुने घाउपनि छाला प्रयारोपण गर्नुपर्ने अवस्था आउन सक्छ । अप्रेशन गर्न नपर्ने घाउलाई पनि अप्रसन गर्नुपर्ने अवस्थामा पुग्छ ।

किन चिसोमा जलनका बिरामी बढ्छन् ?

चिसोबाट बच्न मान्छेलाई न्यानो चाहिन्छ । न्यानो हुन आगो ताप्ने, हिटर बाल्ने खुल्ला आगो बालेर ताप्ने गरिन्छ । यो सिजनमा तराइमा घुर बालेर ताप्ने गरिन्छ । यो ताप्दा पनि धेरै मान्छेलाई जलन हुन्छ । आगो ताप्दा पनि कहिल्यै पनि ढाड पर्काएर बस्न हुँदैन । यसरी बस्दा पछाडिबाट आगो सल्केको थाहा हुँदैन । तपाईं घाम ताप्दा बरु डाढ फर्काएर ताप्नुहोस्, सनवर्न हुनसक्छ । तर आगो ताप्दा अगाडि फर्केर ताप्नुहोस् किनभने यसको लप्का वा जलनबाट बच्न सकिन्छ ।

रसायन पदार्थबाट जलन भए के गर्ने ?

रसायन पदार्थबाट जलन भए जुन भागमा केमिकल परेको हुन्छ त्यो भाग बगेको पानीमा राखेर सफा गर्ने ।

करेन्टबाट जलन भए के गर्ने ?

यसो हुँदा सबैभन्दा पहिले करेन्टबाट छुट्याउनुपर्छ । यसो भन्दैमा आत्तिएर, आफ्नो हातले गएर समात्न हुँदैन । करेन्ट लागिरहेको छ भने सबैभन्दा पहिले मुख्यस्वीच बन्द गर्नुपर्छ । त्यो भएन भने सुकेको काठजस्तो करेन्ट नलाग्ने कुनै सामानले टाढा छुट्याउनुपर्छ । करेन्ट सकिएपछि शरीरको भित्री भागमा पनि इलेक्ट्रीसिटी पास हुन्छ । बाहिरबाट हामीले जत्रो घाउ देख्छौं त्योभन्दा धेरै समस्या भित्री भागमा हुन्छ ।

जलन हुँदा व्यक्ति परिवारले अपनाउनुपर्ने सावधानी के हो ?

सबैभन्दा पहिले जलन हुन नदिन सबैले सचेत रहनुपर्छ । यसमा जनचेतनाको मुख्य भूमिका हुन्छ । जलन भइसकेपछि सुरुमा के गर्ने भन्नेबारे सबैलाई थाहा हुनुपर्यो । अर्को, हाम्रा घर नजिकै रहेका स्वास्थ्यसंस्थामा पनि कसरी ड्रेसिङ गर्ने, दुखाई कसरी कम गर्ने त्यहाँका कर्मचारीलाई तालिम दिन आवश्यक छ । तपाईंहरू जस्ता मिडियाबाट सन्देशमूलक सामाग्री प्रकाशन, प्रशारण गर्ने काम सम्बन्धित स्थानीय सरकारले गर्न आवश्यक छ । जलनको उपचार महंगो पनि छ लामो पनि छ, यो निको भइसकेपछि पनि जिन्दगीभर एउटा दाग लिएर बस्नुपर्ने अथवा शरीरको कुनैपनि भाग पछि खुम्चिएर आउने, अपांगता पनि हुने भएकाले शारीरिक, मानसिक र आर्थिक बोझबाट गुज्रिनुपर्ने भएकाले यसमा सबैले सावधानी अपनाउनुपर्छ ।

उपचार कति महँगो छ ?

यसमा जलनको गहिराई हेरेर उपचार सस्तो महँगोको कुरा आउँछ । सतही जलन (सुपरफिसियल बर्न) जुन ड्रेसिङ गरेर १० दिनभित्र निको हुन्छ । १० दिनमा निको नभएका घाउलाई (डीप बर्न) यो निकै महँगो हुन्छ । हाम्रो अस्पतालमा उपचार खर्च तिर्न नसक्नेलाई अप्रेसन नै फ्री गरिन्छ । तर, ड्रेसिङका लागि चाहिने उपकरण धेरै महँगो हुन्छ । तर, हाम्रो अस्पतालमा दुईदेखि तीन लाख रुपैयाँसम्ममा उपचार हुन्छ । नेपालमा जलनको अवस्था भयाबह छ । वर्षेनी ६० देखि ६५ हजार मान्छे पोलिनु हुन्छ भने मृत्यु हुनेको संख्या पनि धेरै छ । यो विषयमा सरकारले पनि मनन् गरेर जलनको उपचारका लागि अक्षय कोष स्थापना गर्न एकदमै जरुरी छ । किनभने जलन हुनेमा धेरै जसो महिला, बालबालिका र आर्थिक अवस्था कमजोर भएका परिवार र समुदाय पाइन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.