देशभरि सडक बनाउने विभागकै अगाडि धुलाम्य बाटो, अर्बौंको भवन फोहोरिँदै

  २०८० माघ २५ गते १७:४६     विकासन्युज

काठमाडौं । सरकारको प्रशासनिक केन्द सिंहदरबारको बाहिरी परिसरमा ऐतिहासिक मोडेलको एउटा सुन्दर र भव्य संरचना मध्ये पर्छ सडक विभागको भवन । ठूलो क्षेत्रफलमा फैलिएको विभागको विशाल सुन्दर भवन आँफैमा मान्छेलाई चकित पार्ने प्रकारको मोडेलमा बनेको छ ।

सयौं कोठाहरु भएको यो सुन्दर भवन राणाकालीन समयमा निर्माण भएको हो । ०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि विभागले सो भवन छाडेर ललितपुर पुल्चोकबाट आफ्नो काम गर्दै आएको थियो । पुनर्निमाणको काम सकिएपछि ०८० भदौबाट विभाग फर्किएर सोही भवनबाट कार्यसञ्चालन गर्दै आएको छ ।

तर, दुःख लाग्दो विषय के छ भने विभागले मालको मूल्य बुझेन वा बुझ्न चाहेन पुनर्निमाण गरेर सुन्दर बनाइएको भवन धुलाम्य बनाउन शुरु भएको छ । सिंहदरबारको दक्षिणी गेटबाट बबरमहलतर्फ जाँदा र बबरमहलबाट सिंहदरबातर्फ छोटो बाटो प्रयोग गरेर जाने सवारी साधन वा पैदल यात्री जो सुकैले देख्न सक्ने यो चित्रले जोसुकैको मनलाई पक्कै पनि कटक्क बनाउँछ ।

पुनर्निमाण सम्पन्न भएर सेतो रंगले पोतिएको भवनको मुख्य प्रवेशद्वार देखि पश्चिम तर्फको मोहडा आफ्नै प्राङ्गणबाट उडेको धुलोले मैलो हुँदै गएको छ । प्राङ्गणकै धुलो भित्र छिरेर भवनको भित्री भागका गल्लीहरु पनि धुलोमय भएका छन् । एतिहासिक महत्व बोकेको पुरानो संरचना त्यसमाथि पनि अरबौं खर्च गरेर पुनर्निमाण गरिएको विभागको भवनको सही व्यवस्थापन विभागको नेतृत्वले गर्न नचाहेको देख्दा जो सुकैलाई पनि उदेक लाग्छ ।

विभागको प्राङ्गण फोहोर हुँदा सुन्दर भवन मात्रै मैलिएको छैन प्राङ्गणको बाटो भएर सिंहदरबार र बबरमहल क्षेत्र वारपार गर्ने पैदल यात्रु र सवारी साधन चालकलाई समेत सास्तीको अवस्था सिर्जना भएको देख्न सकिन्छ ।

देशैभरी हजारौं किलोमिटर सडक निर्मााणको जिम्मेवारी लिएको विभागले आफ्नै प्राङ्गण अगाडिको १५/२० मिटर क्षेत्रलाई किन ढलान वा प्लस्टर गरेन ? के विभागसँग यसकै लागि पैसा भएन वा नेतृत्वको इच्छा भएन ? के नेतृत्वले आफ्नो निजी सम्पत्तिको अवस्था पनि यस्तै राख्छन् ? विभाग परिसरको अवस्था देख्ने जो सुकैले पनि यो प्रश्न गर्छ ।

विभागका सहप्रवक्ता तथा सिनियर इन्जिनियर अमितकुमार शर्माले विभाग भवन बनिसकेपछि हतारमा सरेको कारण अगाडिको सडक निर्माणको काम सम्पन्न भइनसकेको बताए । उनले चालु आर्थिक वर्षभित्र विभागको प्राङ्गणको काम सम्पन्न हुनेगरी काठमाडौं सडक डिभिजन कार्यालयको तर्फबाट ठेक्का आह्वान गरेर अगाडि बढेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.