इप्पानले हिमालयन हाइड्रो एक्स्पो गर्दै, विदेशी लगानी भित्रिने अपेक्षा 

  २०८० माघ २४ गते १७:२३     विकासन्युज

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ को आयोजना गर्ने भएको छ । एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हुने उक्त एक्स्पो आगामी बैशाख १२ गतेदेखि सञ्चालन हुनेछ ।

भृकुटीमण्डपमा आयोजना हुने उक्त प्रदर्शनी बैशाख १४ गतेसम्म सञ्चालन हुने बताइएको छ । चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ इप्पानले ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागेको हो ।

इप्पानका अनुसार यो एक्स्पो सन् २०१७, २०१८ र सन् २०२२ पछिको चौथौ हो । इप्पानका अध्यक्ष गणेश कार्कीले देश ऊर्जा मय हुँदै गएको बताए । उनका अनुसार ऊर्जाको विकास साथै नयाँ आयोजनाको लागि लगानी जुटाउने एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

‘१० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता भइसकेको छ, आगामी सन् २०३५ भित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने मार्गचित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माण गरिसकेको अवस्थामा यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने अपेक्षा लिएका छौं,’ उनले भने ।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ । सरकारले नीतिगत सहयोग गरे नेपालबाट ३० हजार मेगावाट विद्युत निर्यात गर्न सकिने पनि कार्कीको भनाइ छ ।

इप्पानका अनुसार हरित पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने छ ।

एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रेलिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरू सहभागी हुने बताएको छ । एक्स्पो अवधिभर ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा इप्पानको छ ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डन्डी लगायतका २०० भन्दा बढी स्टल रहने छन् । ती मध्ये झण्डै ५० प्रतिशत विदेशी स्टल हुने इप्पानले जानकारी दिएको छ । इप्पानका अनुसार एक्स्पोमा सहभागिताको लागि आजैबाट स्टल बुकिङ खुला गरिएको छ ।

हाल २९ सय मेगावाट जडित क्षमता रहेकोमा निजी क्षेत्रबाट मात्र स्वलारसहित १७१ आयोजना सम्पन्न भई २२ सय १४ मेगावाट ऊर्जा उत्पादन भैसकेको इप्पानले बताएको छ । यसै गरी ३३ सय ९७ मेगावाट बराबरका १३१ आयोजना निर्माणाधीन अवस्थामा छन् भने ३६ सय १५ मेगावाट बराबरका १३८ आयोजना विद्युत खरिद सम्झौता (पीपीए)भएर वित्तीय व्यवस्थापनको चरणमा छन् । करिब १९ हजार ६२३ मेगावाट बराबरका २५८ आयोजना निजी क्षेत्रबाट अनुमतिपत्र लिएर निर्माणको विभिन्न चरणमा रहको इप्पानले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.