२० अर्ब पुँजी पुर्‍याउन नेपाल रिलाई छैन सकस, हिमालयनसँग दुई विकल्प

  २०८० माघ १७ गते १८:०२     सीआर भण्डारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै पुनर्बीमा कम्पनीहरू त्यसकाे तयारीमा जुटेका छन् । प्राधिकरणले नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीलाई एक वर्षभित्र २० अर्ब पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीका सञ्चालकहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

प्राधिकरणले दुईटै पुनर्बीमा कम्पनीलाई १५ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न पनि समय दिएको छ । अब कुन उपकरण अपनाएर पुँजी वृद्धि गर्ने भन्ने विषयमा दुवै कम्पनीका सञ्चालक समिति आन्तरिक छलफलमा जुटेका हुन् । उसो त यसअघि पनि प्राधिकरणले पुनर्बीमा कम्पनीका सीईओहरूलाई प्राधिकरणमै बोलाएर पुँजी वृद्धिको विषयमा छलफल गरिसकेको थियाे ।

प्राधिकरणले पुँजी वृद्धि गर्न निर्देशन दिए पनि कसरी वृद्धि गर्ने भन्ने विषयमा भने सार्वजनिक धारणा राखेको छैन । त्यसका लागि योजना पेस गर्न कम्पनीलाई नै जिम्मा दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल दुईटै पुनर्बीमा कम्पनीले पेस गरेको पुँजी वृद्धिको योजना अध्ययन गरेर सही विकल्पलाई अनुमति दिने बताउँछन् ।

नेपाल पुनर्बीमा कम्पनीको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । २० अर्ब पुँजी पुर्याउन कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख रुपैयाँ थप गर्नु पर्ने देखिन्छ । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी बीमा कम्पनी तथा संगठित संस्थाहरूको लगानी छ । पुँजी वृद्धिका लागि सरकारले मात्रै ३ अर्ब पुँजी थप्नु पर्ने देखिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीलाई भने पुँजी वृद्धिका लागि सकस नहुने देखिएको छ । कम्पनीले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बोनस सेयर वितरण गरेर पुँजी बढाउने योजना बनाइरहेको छ । अपुग पुँजीका लागि कम्पनीले एफपीओ जारी गर्न सक्छ । सोही विषयमा कम्पनीमा छलफल पनि भइसकेको बुझिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समिति अध्यक्ष इश्वरी प्रसाद अर्याल आन्तरिक छलफल गरेर कुन विकल्प रोज्ने भन्ने विषय टुंगो लगाउने बताउँछन् । कम्पनीको सबैभन्दा ठूलो सेयरधनी नेपाल सरकार र अन्य सेयरधनीहरूसँग छलफल गरेर पुँजी वृद्धिको योजना तयार पार्ने उनको भनाइ छ ।

‘पुँजी वृद्धिका लागि विकल्पहरू धेरै छन्, अहिले नै निर्णय भएको छैन, मुख्य सेयरधनी नेपाल सरकार वा अर्थमन्त्रालयसँग छलफल गरेर कसरी अघि बढ्ने भन्ने विषय टुंगो लगाउँछौं, मन्त्रालयमा मन्त्री तथा सचिवज्यूसँग छलफ गरेर आगामी दिशा तय गर्छाैं,’ उनले भने ।

यस्तै, हाल हिमालयन रिइन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । हिमालयनले हालै मात्र प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो । सुरुमा ७ अर्ब रहेको पुँजी आईपीओ जारी गरेपछि १० अर्ब पुगेको छ । कम्पनीले अझै १० अर्ब पुँजी थप्नु पर्ने देखिएको छ ।

कम्पनीमा ३० जना संस्थापक सेयरधनी छन् । जसमध्ये सबैभन्दा धेरै सेयर स्वामित्व अम्बर प्रोभेष्टमेन्टको ६७ लाख ८५ हजार कित्ता रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको ५०/५० लाख कित्ता, इन्फिनीटी होल्डिङ्गसकाे ४५ लाख कित्ता र जगदम्बा मोटर्सको ३२ लाख कित्ता सेयर स्वामित्व छ ।

यस्तै, केएल दुगड ग्रुपका प्रबन्ध संचालक विकास दुगड र जगदम्बा स्टिलसको २२/२२ लाख कित्ता, साफ्रोन सिके र हंसराज हुलासचन्दको २०/२० लाख कित्ता, आरएमसी कन्ष्ट्रक्सन र सशीकान्त अग्रवालको १५/१५ लाख कित्ता, कार्भी ग्लोबल, अटल फिन्कोर्प, अकोर्ड फिन्कोर्प र कालिका फिन्कोपको १३.५०/१३.५० लाख कित्ता सेयर स्वामित्व छ ।

कम्पनीमा सौर्य सिमेन्ट, सन्दिप अग्रवाल, राहुल अग्रवाल, विकास जे.वि.राणा, शालिमार इनभेष्टमेन्ट, राजेश हार्डवेयर, कैलाश सिरोहिया, किर्ती एपेक्स, ओण्डर भेन्चर्स, उज्जिवन मर्चेन्ट र अजन्ता होल्डिङ्गसको १०/१० लाख, एक्सप्रेस इनभेष्टमेन्ट र कामधेनु इनभेष्टमेन्टको ९/९ लाख कित्ता, पशुपति मुरारका र सिरिश कुमार मुरारकाको ७.२५/७.२५ लाख  कित्ता सेयर स्वामित्व छ ।

नेपाल पुनर्बीमाको तुलनामा हिमालयनलाई पुँजी वृद्धिमा केही सकस भोग्नु पर्ने देखिन्छ । कम्पनीले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने वा विदेशी साझेदार भित्र्याउन सक्नेछ । कम्पनीले बोनस सेयर वितरण गरेर एक वर्षभित्र १० अर्ब पुँजी बढाउन सक्ने सम्भावना देखिँदैन । पुँजी वृद्धिको अर्को उपकरण भनेको मर्जर हो । तर, नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमाबीच मर्जरको सम्भावना शून्य प्राय छ ।

प्राधिकरणका कार्यकारी निर्देशक पौडेलका अनुसार अबको एक वर्ष अर्थात् वि.सं २०८१ माघ १० गतेभित्र पुँजी वद्धि गरेर २० अर्ब पुर्याउनु पर्नेछ । बीमा कम्पनीहरूको जोखिम बहन क्षमता बढाउन पुनर्बीमा कम्पनीहरूको पुँजी वृद्धि गराउन निर्देशन दिएको उनको भनाइ छ । पुनर्बीमा कम्पनीहरू बीमा कम्पनीको पनि बीमा गर्ने भएकाले पुँजी बढाउन आवश्यक रहेको उनले बताए । उनका अनुसार पुनर्बीमा कम्पनीहरूले विदेशमा पनि व्यवसाय गर्नु पर्ने भएकाले पुँजी बढाउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.