अटो क्षेत्रलाई उकास्न नाडाको १७ बुँदे सुझाव, जाँचपासमा कडाइ गर्नेदेखि क्याप बढाउनेसम्म

  २०८० माघ १६ गते १४:४८     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा)ले नेपालको अटोमोबाइल व्यवसायलाई उकास्न विभिन्न १७ बुँदे सुझाव दिएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरी विभिन्न नीतिगत सुझावहरु दिएको हो ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरु ल्याउन आग्रह गरे । छलफलमा अर्थमन्त्री डा. महतले नाडाकोतर्फबाट राखिएका नीतिगत सुझावहरुप्रति जिज्ञासा राख्दै ती सुझावहरुका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताए ।

यस्ता छन् सुझावहरु

१. नेपालमा माल बाहक इन्डियन ट्रक निर्बाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न दिनाले नेपाली गाडी व्यवसायको व्यापार घट्दै गएकोले २४ घण्टाको समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था हुनु पर्ने ।

२. खुल्ला सीमानाको कारणले गर्दा अनधिकृत रुपमा नेपालतर्फ टायर तथा अटोमोबाइल स्पेयर पार्टसको आयातको कारण नेपालमा त्यसको व्यवसाय घट्दै गएकोले सिमानाको जाँचपासमा कडाइ गरिनु पर्ने ।

३. कारोबार तथा व्यवसाय घट्दै गएको अवस्थामा नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा मापदण्डले झन् अप्ठ्यारो स्थिति सृजना भएकोले तत्काल चालु पुँजी कर्जा मापदण्ड स्थगित गरिनु पर्ने ।

४. त्यस्तै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोमा हाल ५० प्रतिशतको सीमा तोकिएको छ, जसले गर्दा अटोमोबाइल व्यवसाय गम्भिर रुपले प्रभावित बनेकोले लोन टु भ्यालु रेसियो ५० प्रतिशत बढाएर ७५ प्रतिशत पुर्याउनु पर्ने ।

५. बैंक तथा वित्तीय निकायहरुलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशत कायम गर्ने र हाल कायम रहेको २५ लाखको क्यापलाई ५० लाख कायम गरिनु पर्ने ।

६. व्यापार व्यवसाय गर्दा भन्सार मूल्याङ्कन एउटा पेचिलो विषय बन्दै आएको छ । भन्सार विभागले वास्तविकता भन्दा तीन गुणा बढीसम्म हुने गरी आफनो सन्दर्भ मूल्यसूची संशोधन गरेको छ । विभागको यस्तो निर्णयले हाम्रा सबै अटोमोबाइल स्पेयरपार्टस पैठारीकर्ताहरु थप समस्यामा परिरहेका छन् । भन्सारमा मालवस्तुको यथार्थ घोषणा र सही वर्गीकरण गराई भन्सार मूल्यांकन प्रणालीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाइनु पर्छ भन्ने हाम्रो दृढ मान्यता छ । सदैव समस्याको रुपमा देखा पर्दे आएको सन्दर्भ मूल्य सूचिका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरुसंग आवश्यक सल्लाहगरी ययार्थपरक मूल्य कायम गर्ने र भन्सार नाकाहरुमा चोरी पैठारी व्यापक रुपमा बढीरहेकोले यसलाई नियन्त्रण गर्न आवश्यक सयन्त्र स्थापना गर्ने व्यवस्था हुनु पर्ने । यसले अनधिकृत रुपमा आयात भईरहेको स्पेयर पार्टसलाई रोकथामगरी राजश्व वृद्धिमा सहयोग पुग्ने, आधिकारिक डिलर भएर व्यवसाय गर्नेलाई संरक्षण हुने र चोरी पैठारी रोक्न सहयोग पुग्ने ।

७. कर प्रणाली अस्पष्ट तथा झन्झिटिलो हुनाले व्यवसायीहरु अडिटरबाटै सबै काम गराउँदै आएका छन् यसका लागि सरकारले कर प्रणाली स्पष्ट तथा चुस्त दुरुस्त राख्नु पर्ने र हरेक कर कार्यालयमा ब्यावसायिक हेल्प डेस्क को स्थापना गरिनु पर्ने ।

८. कालोसूचीमा रहेको व्यक्ति फर्मलाई कर चुक्ता तथा नवीकरण गर्न रोक लगाईनु पर्दछ यसका लागि बैंकले कालोसुचीमा राखेको ग्राहकलाई कर कार्यालयले पनि कालोसूचीमा राख्ने व्यवस्था गर्नुपर्ने तथा अनुसूची १३ मा देखाइएको बक्यौदालाई आधिकारीक मानी कानुनी प्रक्रीयामा जान मिल्नेगरी कार्यविधि तयार गर्नुपर्ने ।

९. सामाजिक उत्तरदायित्व बहन गरेको खर्चलाई वार्षिक आय विवरणमा समावेश गर्न नपाइने व्यवस्था भएको सन्दर्भमा समाजिक उत्तरदायित्वको रकमलाई खर्चमा समाबेश गर्न पाउने व्यवस्था गरिनु पर्ने ।

१०. अस्थिर महशुल दरले व्यवसायीहरु हतोत्साहित भईरहेकोले महशुल दरहरुमा स्थिरता कायम गरिनु पर्ने देखिन्छ । खाशगरी मेक इन नेपालको अवधारणा अनुसार आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई मध्यनजर गर्दै देशलाई औद्योगिकीकरणतर्फ अग्रसर गराउन अटोमोबाइल व्यवसायीहरुले अत्यधिक रुपमा सवारी साधनहरु उत्पादन गर्ने सीकेडी प्लान्ट स्थापना गर्दै लगेको र औद्योगिक लगानीलाई सुरक्षित गर्न तथा उद्योगीहरुको मनोबलमा बृद्धि र यसलाई दिर्घकालिन रुपमा सफल बनाउन हाल अन्तःशुल्क महशुलमा दिइएको छुटको व्यवस्था कम्तिमा १५ वर्षसम्मको लागि कायम गर्न ऐनमै राख्ने व्यवस्था हुनु पर्ने र यस्तो व्यवस्था भएमा उद्यमीहरुलाई उद्योग स्थापना गर्न प्रोत्साहन हुनेछ ।

११. एउटै ब्रान्डको पार्टस् मुख्य उत्पादनकर्ताको अनुमति बिना तेस्रो पक्षबाट निर्बाध रुपमा पैठारी हुँदै आएकोमा एयरपोर्ट तथा भन्सार नाकामा सो सामानहरु नेपालको आधिकारिक आयातकर्ताले मात्र आयात गर्न पाउने व्यवस्था हुनु पर्ने ।

१२. एउटै प्रकृतिका पाट्र्सहरुमा पनि भन्सार महसुल फरक फरक भएकोले भन्सार दरमा स्थिरता कायम गरिनु पर्ने र भन्सार दरमा समेत केहि सहुलियत हुनु पर्ने ।

१३. देशको व्यापार प्रवर्द्धनका लागि राजधानीमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गरिनु पर्ने ।

१४. स्वदेशमै स्थापना हुने सवारी साधन तथा अटोमोबाइल सम्बन्धी एसेमब्लिङ्ग उद्योग, अटोमोबाइल स्पेयर पार्टस उद्योग, टायर उद्योग, लुव्रिकेण्टस उद्योग तथा व्याट्री उद्योगहरुको स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गरिनु पर्ने जसले एकै क्षेत्रबाट सम्पूर्ण अटोमोबाइल्स उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्नेछ ।

१५. नेपाल र भारतबीचको द्धिपक्षीय आर्थिक सम्बन्ध विस्तार गर्न, नेपालमा भारतीय उद्योगहरुलाई आकर्षित गर्न, नेपालमा भारतसंगको व्यापारलाई सहज बनाउन र भारतीय लगानीलाई आकर्षित गर्न नेपालमा इन्डियन इकोनोकिम जोन स्थापना गरिनु पर्ने ।

१६. नेपाल मै लुब्रिकेन्टस उद्योगहरु भएको अवस्थामा त्यसको संरक्षणका लागि नेपालमा उच्च गुणस्तरिय लुब्रिकेन्टसहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनु पर्ने ।

१७. नेपाल मै उत्पादन हुने सवै किसिमका अटोमोबाइल, स्पेयर पार्टस्, व्याट्री, लुब्रिकेन्टस् तथा टायरहरु निर्यात गर्दा अन्य निर्यात बस्तुहरुले पाउने सरहको छुट पाउने व्यवस्था हुनु पर्ने तथा नेपालमा उत्पादित व्याट्री तथा टायरहरुलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह एनएस पाउने व्यवस्था हुनु पर्ने । नेपाल मै उत्पादन गर्ने उद्योगलाई एनएस प्रदान गर्दा घरेलु उद्योगहरुलाई प्रोत्साहन पुग्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.