६ महिनामा ८६ प्रतिशतले घट्यो विदेशी लगानीकर्ताकाे लाभांश, नयाँ लगानी भने बढ्यो

  २०८० माघ ३ गते १७:४८     विकासन्युज

काठमाडौं । ६ महिनाको अवधिमा विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेका कम्पनीहरूबाट साढे १ अर्ब रुपैयाँबराबरको लाभांश रकम फिर्ता लिएका छन् । उद्योग विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा विदेशी लगानीका कम्पनीहरूले १ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन् । पुस महिनामा मात्रै ८ करोड ७३ लाख ६७ हजार रुपैयाँ लाभांशबापत फिर्ता लिएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ९९ करोड ८९ लाख रुपैयाँ लाभांश फिर्ता लगेका थिए । गत आवको सोही अवधिको तुलनामा चालु आवमा लाभांश रकम ८६ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ ।

यस्तै, चालु आर्थिक वर्ष (आव)मा नेपालको विभिन्न औद्योगिक क्षेत्रमा विदेशी लगानी प्रतिबद्धतामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपालको औद्योगिक क्षेत्रमा २२६ वटा विदेशी कम्पनीहरूले २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार बराबरको लगानीलाई स्वीकृत गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ३ करोड ६५ लाख १७ हजारले बढी हो ।

विभागको तथ्यांकअनुसार पछिल्लो समयमा विदेशी लगानीकर्ताहरूको आकर्षण ठूला तथा मझौला उद्योगमा भन्दा साना उद्योगमा भएको देखिएको छ । चालु आर्थिक वर्षमा २११ वटा विदेशी कम्पनीहरुले साना उद्योग, १२ वटा कम्पनीहरुले मझौला उद्योग र ३ वटा कम्पनीहरूले ठूला उद्योगहरुमा लगानी गर्नेगरी स्वीकृति लिएका छन् ।

अघिल्लो आवको सोही अवधिमा भने विदेशी लगानीकर्ताहरुले ११० वटा साना उद्योग, १९ वटा मझौला उद्योग र २ वटा ठूला उद्योगमा लगानी गर्ने स्वीकृति लिएका थिए । तथ्यांकअनुसार विदेशी लगानीकर्ताहरुको आकर्षण पर्यटन उद्योगतर्फ बढी भएको देखिन्छ ।

चालु आवको समीक्षा अवधिमा विदेशी लगानी स्वीकृत लिएका मध्ये १०३ वटा कम्पनीहरुले पर्यटन क्षेत्रमा, ८३ वटा कम्पनीले सेवा क्षेत्रमा, ४ वटा कम्पनीले भौतिक पूर्वाधारको क्षेत्रमा, २ वटा कम्पनीले खनिजको क्षेत्रमा, ४ वटा कम्पनीले कृषि क्षेत्रमा, २३ वटा कम्पनीले उत्पादनमूलक उद्योगको क्षेत्रमा र ७ वटा उद्योगले सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने भएका छन् ।

त्यस्तै, नेपालमा विदेशी लगानीमा सञ्चालनमा रहेका २८ वटा कम्पनीहरुले चालु आर्थिक वर्षको समीक्षा अवधिमा ४ अर्ब १ करोड ३ लाख ९ हजार ९ सय ६९ रुपैयाँ बराबरको थप लगानी स्वीकृति लिएको विभागले जनाएको छ ।

१० वटा कम्पनीद्वारा प्रविधि हस्तान्तरण

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षमा १० वटा विदेशी कम्पनीहरूले नेपालमा प्रविधि हस्तान्तरण गरेका छन् । साथै प्रविधि हस्तान्तरणबापत चालु आवको समीक्षा अवधिमा विभिन्न विदेशी कम्पनीले नेपालबाट १ अर्ब ४ करोड १६ लाख नेपाली, १५ लाख १५ हजार, १८१ अमेरिकी डलर, ५३ करोड २६ लाख ५९ हजार भारतीय रुपैयाँ र १३ हजार ६ सय युरो मुद्रामा रोयल्टी लगेका छन् ।

विभागका अनुसार अहिलेसम्म नेपालमा ६ हजार ८५ वटा विदेशी कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गरेका छन् । ती कम्पनीहरूले ३ लाख २१ हजार २६४ जनालाई रोजगार दिने प्रतिबद्धता व्यक्त गरेका छन् भने ४ खर्ब ७२ अर्ब ३० करोड ५४ लाख ३८ हजार ३०५ रुपैयाँ बराबरको लगानी स्वीकृति पनि लिएका छन् ।

सरकारले विदेशी लगानीलाई थप प्रबर्द्दन गर्नको लागि चालु आवको बजेटमार्फत् प्रत्यक्ष विदेशी लगानी स्वीकृतिलाई सरल र स्वचालित बनाइने बताएको थियो । तर, प्रविधिको व्यवस्थाको अभावका कारणले बजेटमा समावेश सो आकांक्षा भने पूरा भइसकेको छैन भने सरकारले लगानी बोर्डको क्षमता विस्तार, कन्ट्री रेटिङ लगायतका विषयहरुमा काम प्रारम्भ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.