पाकिस्तानको आर्थिक सं‌कट : अण्डाको मूल्य ४०० रुपैयाँ, प्याज किलोको २५०

  २०८० माघ १ गते १८:३६     विकासन्युज

काठमाडौं । इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत धेरै ठाउँबाट सहयोग प्राप्त गरेको छ । तर, देशको अवस्था भने उस्तै छ ।

मुद्रास्फीतिको अवस्था यस्तो छ कि कुखुराको मासु छाड्नुहोस्, जनताको थालबाट अण्डासमेत गायब हुँदैछ । एक रिपोर्टका अनुसार पाकिस्तानको लाहोरमा १२ अण्डाको मूल्य ४ सय रुपैयाँ पुगेको छ ।

पाकिस्तानी समाचार एजेन्सी एआरवाईको रिपोर्टअनुसार पाकिस्तानमा आगामी महिना चुनाव हुन लागेको छ तर मुद्रास्फीतिको अराजकता जारी छ । जसका कारण देशको मात्रै होइन यहाँका जनताको अवस्था पनि दयनीय बन्दै गएको छ ।

जनवरी १५ मा लाहोरमा एक दर्जन अण्डाको मूल्य ४ सय पाकिस्तानी रुपैयाँ पुगेको बताइएको छ । अण्डा मात्र होइन प्याजले पनि पाकिस्तानीहरुको आँसु निकालिरहेको छ । पाकिस्तानमा प्याजको भाउ २ सय ३० देखि २ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ । जबकि, सरकारले तोकेको प्याजको मूल्य प्रतिकिलो १ सय ७५ रुपैयाँ छ ।

अण्डा र प्याज मात्रै होइन, पाकिस्तानमा कुखुराको मासुको मूल्य पनि आकाशिएको छ र घट्ने कुनै संकेत देखिएको छैन । रिपोर्टका अनुसार लाहोरमा एक किलो कुखुरा ६ सय १५ रुपैयाँमा पाइन्छ । यसका साथै दैनिक उपभोग्य वस्तुदेखि लिएर खाद्यवस्तुसम्मको मूल्यवृद्धिको मार देशका जनता निरन्तर भोगिरहेका छन् । यहाँ दूध प्रतिलिटर २ सय १३ रुपैयाँ र चामल प्रतिकिलो ३ सय २८ रुपैयाँमा बिक्री भइरहेको छ । फलफूलको कुरा गर्ने हो भने एक किलो स्याउको मूल्य २ सय ७३ रुपैयाँ पुगेको छ भने टमाटर २ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

एआरवाईका अनुसार, गत महिना देशको आर्थिक समन्वय समिति (ईसीसी) ले राष्ट्रिय मूल्य अनुगमन समिति (एनपीएमसी) लाई मूल्य स्थिरता सुनिश्चित गर्न र भण्डारण रोक्नका लागि उपाय अपनाउन प्रदेश सरकारहरूसँग समन्वय गर्न निर्देशन दिएको थियो ।

पाकिस्तानको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार यो बैठकको अध्यक्षता कार्यवाहक संघीय अर्थ, राजस्व र आर्थिक मामिला मन्त्री डा. शमशाद अख्तरले गरेका थिए ।

पाकिस्तानको अर्थतन्त्र विगत केही वर्षदेखि तीव्र गतिमा ओरालो लागिरहेकाे छ र नियन्त्रण बाहिर रहेको मुद्रास्फीतिले विशेष गरी गरिब जनताको अवस्था दयनीय बनाएको छ र उनीहरूलाई बाँच्न गाह्रो भइरहेको छ।

अर्कोतर्फ मुलुकमा नगद संकट निरन्तर बढिरहेको छ । पाकिस्तानको यो अवस्था यस्तो बेला भएको छ जब आईएमएफले ३ अर्ब डलरको बेलआउट प्याकेजको दुई किस्ता स्वीकृत गरेको छ । यसअन्तर्गत आईएमएफले सन् २०२३ को जुलाईमा १ अर्ब २ करोड अमेरिकी डलरको प्रारम्भिक किस्ता जारी गरेको थियो भने अहिले दोस्रो किस्ता ७० करोड अमेरिकी डलर पनि स्वीकृत भएको छ । एजेनसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.