अर्जेन्टिनामा सबैभन्दा बढी महँगी, मुद्रास्फीति २११ प्रतिशत नाघ्यो

  २०८० माघ १ गते १५:११     विकासन्युज

काठमाडौं । कुनै पनि देशका लागि मुद्रास्फीति धेरै संवेदनशील हुन्छ । यसमा अलिकति गडबडी भयो भने जनताको बजेट बिग्रिन्छ ।

तर, कुनै देशमा मुद्रास्फीति २०० प्रतिशतभन्दा बढी माथि पुग्यो भने त्यहाँका जनताको के हालत हुन्छ ? ल्याटिन अमेरिकी देश अर्जेन्टिनाका जनता पनि यस्तै डरलाग्दो समस्याको सामना गरिरहेका छन् । त्यहाँ मुद्रास्फीति करिब २११ प्रतिशतले बढेको छ । हरेक साना ठूला वस्तुको भाउ आकाश छुन थालेको छ र जनताको गोजी खाली भएको छ ।

रोयटर्सको रिपोर्टअनुसार अर्जेन्टिनाको मुद्रा पेसोको अवमूल्यन भएको छ । राष्ट्रपति जेभियर मिलीको नयाँ सरकारले पेसोको मूल्य आधा घटाएको छ । जसका कारण मुद्रास्फीतिमा तीव्र वृद्धि भएको छ । र, यसले सन् २०२३ मा २११ प्रतिशतको आंकडा पार गरेको थियो । सरकारी तथ्यांक निकाय इन्डेकका अनुसार मुलुकमा मुद्रास्फीति तीन दशकयताकै उच्च विन्दुमा पुगेको छ ।

जानकारीका अनुसार देशको अवस्था यति नाजुक छ कि वार्षिक तथ्यांकका आधारमा मुलुकमा मुद्रास्फीति छिमेकी मुलुक भेनेजुएलाजस्तो अवस्थामा पुगेको छ ।

अर्जेन्टिना दक्षिण अमेरिकामा सबैभन्दा बढी मुद्रास्फीति भएको देश बनेको छ । देशको ब्याजदर पनि करिब १३३ प्रतिशतले बढेको छ । जेभियर मिलीको सरकारले गरेका प्रयासले पनि जनतालाई राहत दिएको देखिँदैन ।

सन् २०२२ मा मुलुकको मुद्रास्फीति ९५ प्रतिशत थियो । यो एक वर्षमा दोब्बरभन्दा बढी भएको छ । डिसेम्बर २०२३ मा मासिक मुद्रास्फीति दर २५.५ प्रतिशत पुगेको थियो भने नोभेम्बरमा १२.८ प्रतिशत थियो । ३० प्रतिशत पुग्ने सरकारको डर थियो ।

गत हप्ता मात्रै आईएमएफले अर्जेन्टिनालाई ४.७ अर्ब डलर सहयोग गर्ने निर्णय गरेको थियो । देशमा खाद्यवस्तु पनि महँगो भएको छ । अर्जेन्टिनाको क्रय शक्ति डिसेम्बरमा लगभग १० प्रतिशतले घटेको छ। त्यस्तै, मुलुकमा वस्तुको बिक्री १३.७ प्रतिशतले घटेको छ । यो अवस्थामा फेब्रुअरी मसान्तसम्म सुधारको सम्भावना देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.