नेपाली युवा विदेशमा, विदेशी विद्यार्थी धमाधम नेपालमा

  २०८० पुष २६ गते १७:२२     इन्द्रसरा खड्का

काठमाडौं । अहिले सबैको चासो र चिन्ता विदेसिरहेका युवाहरूको छ । दैनिक हजारौं युवाहरू पढ्न र कामका लागि विदेश जाँदा त्यसले देशलाई पार्ने प्रभावका विषयमा पनि विभिन्न कोणबाट टिकाटिप्पणी र बहस हुन थालेको छ । तर, नेपालीहरू नै जाने ती सुविधा सम्पन्न देशबाट पनि विद्यार्थीहरू नेपालमै आएर पढिरहेका छन् । उनीहरू नेपालमा आएर त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय लगायतका कलेजमा अध्ययन गरिरहेका छन् ।

डेभिड सिल्भा अहिले काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा स्नातक तहमा अध्ययन गर्दैछन् । ब्राजिलका उनी नर्सरीदेखि नै नेपालमा पढ्दै आएका थिए । डेभिडका बुवा पहिले नेपालमै रहेर होप माेविलाइजेशन (आइएनजीओ) काम गर्थे । त्यो क्रममा उनकी आमासहित उनी र उनकी बहिनी पनि नेपालमै बस्न थाले । बुवा जागिरे हुँदा उनी र बहिनी नेपालमै पढ्न थाले । अहिले उनका बुवाआमा आफ्नै देश फर्किसकेका छन् । कक्षा १ देखि १० सम्म नेपालमै पढेका उनी प्लसटु गर्न भने आयरल्याण्ड गए ।

दुई वर्ष विदेश गएर पढेका उनी फेरि प्लसटु गरिसकेपछि फर्केर नेपालमै पढ्न आए । अहिले उनी ग्वार्कोमा रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा कम्युनिटी डेभलपमेन्ट विषय अध्ययन गरिरहेका छन् । ‘नेपालमै बसेर होला, मलाई यतै राम्रो लाग्छ, जनवरीमा नेपाल आएर पढ्न थालेँ, अब यतै पढ्छु,’ उनले भने ।

सानैदेखि नेपालमै अध्ययन गर्दै आएका उनी एसईईपछि फेरि विदेश गएर पढ्न थाले । उनी आएरल्याण्डमा प्लसटु सकेर स्नातक पढ्न फेरि नेपाल आएका छन् । ‘नेपालमा जस्तो विद्यार्थी र शिक्षकको सम्बन्ध हुन्छ, त्यस्तो बाहिर हुँदैन रहेछ । कक्षा बाहिर हुँदा पनि शिक्षकले फोन गर्ने, भेट्ने यहाँ विद्यार्थी र शिक्षकबिच राम्रो सम्बन्ध हुन्छ । तर, आयरल्याण्डमा मैले यस्तो भेटिनँ ।’

डेभिडलाई नेपालको शिक्षा र सिकाइ राम्रो लाग्छ । ‘मैले बाहिर गएर अध्ययन पनि गरेँ, उताका साथिहरूसँग पनि कुराकानी गरेँ, सबै ठाउँको बुझ्दा शिक्षा नेपालकै राम्रो लाग्यो,विदेशका धेरैजसो कलेज भन्दा नेपालमै राम्रो पढाइ हुन्छ,’ उनले भने ।

उनी आफूलाई नेपालको शैक्षिक वातावरण नै राम्रो लाग्ने बताउँछन् । डेभिडलाई पढाइ सकेर भने आफ्नै देश फर्कन मन छ । ‘राम्रो काम पाइयो भने यतै बस्छु, काम पाइएन भने आफ्नै देश फर्किन्छु, उनले भने ।

नेपालीहरू धमाधम बाहिर गइरहेको बेला डेभिडजस्ता केही विद्यार्थी भने नेपाल आइरहेका छन् । उनीहरू नेपाल आएर विभिन्न विषयहरूमा अध्ययन गरिरहेका छन् । कोही आमाबुवाको जागिर यतै हुँदा यही पढ्न थालेका हुन् भने कतिपय भने पढ्नकै लागि मात्र आउने गरेका छन् ।

नेपालमा कति विदेशी विद्यार्थी अध्ययन गरिरहेका छन् भनेर एकिन तथ्यांक कुनै पनि निकायसँग नभए पनि नेपालका केही कलेजहरूमा विदेशी विद्यार्थीहरू पढिरहेका छन् । नेपालमा अध्ययनको लागि आउने विद्यार्थी मेडिकल र इन्जिनियरिङ क्षेत्रमा बढी आउने गरेको जानकारहरू बताउँछन् ।

चार वर्षमा कति आए ?

चार वर्षको अवधिमा विदेशबाट ३ हजार ६ सय ४० विदेशी विद्यार्थी अध्ययनको लागि नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२१ सालदेखि सन् २०२३ को नोभेम्बरसम्म यतिको संख्या विदेशी विद्यार्थी नेपाल आएका हुन् । जसमा सबैभन्दा बढी दक्षिण कोरिया र चीनका विद्यार्थी छन् ।

सन् २०२३ सालको जनवरीदेखि नोभेम्बरसम्म अस्ट्रेलियाबाट २८ जना, अमेरिकाबाट ११९ जना, जापानबाट १०३, जर्मनबाट २९, साउथ कोरियाबाट १०६, श्रीलंकाबाट ४३, चाइनाबाट ९५, म्यानमारबाट ४३, भुटानबाट १४, फ्रान्सबाट ३०, युकेबाट ३९ गरी कुल ९७८ जना विदेशी वद्यार्थी नेपाल आएका छन् ।

सन् २०२२ सालमा अस्ट्रेलियाबाट १६ जना, चाइनाबाट ११७, जापानबाट ७५, अमेरिकाबाट ८४, जर्मनबाट ३३, क्यानडाबाट २१, दक्षिण कोरियाबाट ११३ गरी कुल ९२५ विद्यार्थी नेपाल आएका छन् ।

यस्तै, सन् २०२१ सालमा अस्ट्रेलियाबाट १४, जापानबाट २४, युकेबाट १०१, अमेरिकाबाट ९४, दक्षिण कोरियाबाट ७७, चीनबाट १०३ र श्रीलंकाबाट ६२ जना गरी कुल ८५९ जना विद्यार्थी आएका छन् ।

सन् २०२० सालमा जापानबाट ७७, अस्ट्रेलियाबाट १४, युकेबाट ५८, अमेरिकाबाट १०७, क्यानडाबाट १९, भुटानबाट ४, चीनबाट ११०, श्रीलंकाबाट ५१ र साउथकोरियाबाट १३० गरी कुल ८७८ जना विद्यार्थी नेपाल आएका छन् ।

यो तथ्यांक हेर्दा जापान र अमेरिकाबाट पनि विद्यार्थीहरू नेपाल आइरहेका छन् । नेपालीहरू धमाधम जापान, अमेरिका, कोरिया लगायत सुविधा सम्पन्न देशमा पढ्न गइरहेको बेला तिनै देशबाट पनि नेपाल आउने विद्यार्थीको संख्या पनि बढ्दै गएको छ ।

विश्वभाषा क्याम्पसका प्रमुख डा.यादवराज पन्त अधिकांश विदेशी विद्यार्थीहरू नेपालमा चिकित्सा र इन्जिनियरिङ पढ्न आउने गरेको बताउँछन् । उनका अनुसार विश्वभाषा क्याम्पसमा पनि हाल ३१८ जना विदेशी विद्यार्थीले नेपाली भाषा सिकिरहेका छन् ।

विदेशी विद्यार्थीले सुरुमा नेपाली भाषा सिक्ने र पछि पढ्न विभिन्न कलेजमा जाने गरेको उनी बताउँछन् ।

‘जति विद्यार्थी पढ्न भनेर आउँछन्, ती सबै पढ्छन् भन्ने पनि हुँदैन, कोही पढछ्न, कोही घुम्छन्, जान्छन्, त्यसैले पनि एकिन तथ्यांक हामीसँग हुँदैन,’ उनले भने ।

८ सय विद्यार्थी चिकित्सा शिक्षामा

विदेशबाट अध्ययनको लागि आएका ८ सय बढी विद्यार्थी यो वर्ष चिकित्सा क्षेत्रमा अध्ययन गरिरहेका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार ८०९ जनाले चिकित्सा क्षेत्रमा अध्यनको लागि आयोगमा नाम दर्ता गराएका छन् । जसमा सबैभन्दा धेरै भारतका विद्यार्थी रहेका छन् ।

आयोगका अनुसार हरेक वर्ष यही संख्याको हाराहारीमा नेपालमा पढ्न आउने गरेका छन् । त्रिभुवन विश्व विद्यालयसँग भने कति विदेशी विद्यार्थी नेपाल पढिरहेका छन् भन्ने एकिन तथ्यांक छैन ।

त्रिभुवन विश्व विद्यालयका सूचना अधिकारी योगेन्द्र दाहाल त्रिविसँग यकिन तथ्यांक नभएको बताउँछन् । उनका अनुसार केही विदेशी विद्यार्थीहरू त्रिविमा पढिरहेका छन् । ‘यहाँ विभिन्न संकायका छुटछुटटै डिन कार्यालय हुन्छन्, यो विषयमा सायद उनीहरुले छुट्याएको हुनसक्छ । तर, अहिले यति विदेशी विद्यार्थी पढ्छन् भन्ने तथ्यांक तयार गरेका छैनौं,’ उनले भने ।

केयूमा १३ प्रतिशत विदेशी विद्यार्थी

गत वर्ष काठमाडौं विश्वविद्यालयबाट १३ प्रतिशत विदेशी विद्यार्थीहरू दिक्षित भएका छन् । अहिले ६ प्रतिशत विद्यार्थी अध्ययन गरिरहेका छन् । काठमाडौँ विश्व विद्यालयका उपकुलपति डा. भोला थापा केयुमा ६ प्रतिशत विद्यार्थी अध्ययनरतत रहेको बताउँछन् ।

उनका अनुसार करिव ४२ हजार विद्यार्थी ग्रेजुएट हुँदा १३ प्रतिश विदेशी विद्यार्थी दीक्षित भएका छन् । ‘नेपाली विद्यार्थीको लहरो बाहिर लाग्दा नेपाली इन्सिच्युट कमजोर हुन कि भन्ने प्रश्न उठेको बेला यो तथ्यांक राम्रो हो, केयूमा अहिले पनि अफ्रिका, क्यानडा, श्रीलंका भारत लगायतका देशका विद्यार्थी इन्जिनियर, एमबीबीएस, सामाजिक र विज्ञान लगायतका विषयहरू अध्ययन गरिरहेका छन्,’ उनले भने ।

केयूको २९औं दिक्षान्त समारोहमा भारतबाट आएका मा ४ हजार ४ सय ४४ विद्यार्थी दीक्षीत भएको उनको भनाइ छ । श्रीलंकन झण्डै चार सय, अमेरिकन १ सय गरी विभिन्न देशका विद्यार्थी दीक्षित भएका छन् । उनका अनुसार केयूमा साउथ एसिया मेडिकल क्षेत्रबाट अध्ययन गर्नेहरू बढी आउँछन् । अस्ट्रेलिया, अफ्रिका लगायत देशका विद्यार्थीहरू इन्जिनियरिङ र युरोप, अमेरिका, क्यानडा लगायत देशका विद्यार्थी सामाजिक विज्ञानमा बढी चाँसो राख्ने गर्दछन् ।

किन आउँछन नेपालमा ?

यो जिज्ञासामा विज्ञहरूका आ-आफ्नै तर्क छन् । शिक्षाविद् विनय कुसियत प्राविधिक शिक्षा नेपालमा सस्तो र राम्रो हुँदा विदेशी विद्यार्थी नेपाल आउने गरेको बताउँछन् । ‘नेपालमा एन्जिनियरिङ शिक्षा र मेडीकल शिक्षा राम्रो हुन्छ, त्यसैले पनि विदेशी विद्यार्थी आएको हुनुपर्छ,’ उनी भन्छन्, ‘ जति विदेशी विद्यार्थी आउनुपथ्र्याे त्यति भने आएको पाइँदैन ।’

काठमाडौं विश्व विद्यालयका प्राध्यापक संघका महासचिव विकास अधिकारीको भनाइ पनि विनयको जस्तै छ । भारत, अफ्रिका लगायतका न्यून स्तरका विद्यार्थीलाई अन्य देशमा महँगोमा पढ्नुभन्दा नेपालमा पढ्न सस्तो हुने भएकाले पनि उनीहरू नेपाल रोज्ने गरेका छन् ।

‘नेपाल राम्रो नभएको राजनीतिक हिसावले होला । तर, सामाजिक, भौगोलिकरूपमा निकै सुन्दर छ, यहाँ संस्कृति विविधता छ, यही विषयमा अध्ययन गर्न पनि केही विद्यार्थीहरू नेपाल आउँछन्,’ उनले भने ।

काठमाडौं विश्व विद्यालयका प्राध्यापक डा.उद्धब प्याकुरेल नेपालमा बहुल जाती, भाषा, धर्म रहेकाले सामाजिक विज्ञानको रूपमा अध्ययन गर्न विदेशी विद्यार्थीहरू नेपाल आउने गरेको बताउँछन् । ‘नेपालमा धेरै कुरा छ, एउटा सामाजिक विविधता छ, अर्को सस्तो पनि छ, जुन उनीहरूलाई अमेरिका अस्ट्रेलिया पढ्न गएर प्राप्त गर्न सकिँदैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.