स्केट खेललाई हेर्ने दृष्टिमा परिवर्तन हुँदै

  २०८० पुष २६ गते १२:११     सुशील दर्नाल

काठमाडौंं । तिलोत्तमा–४ स्थित डिङ्गनगरका रामकृष्ण परियारलाई आजकल स्केट खेलप्रति आकर्षण बढेको छ । पहिला छोरा अभिषेकले स्केट खेल खेलेको पटक्कै मन पर्दैनथ्यो । छोराले स्केट खेलमै प्रगती गर्न थालेपछि उनी यस खेलप्रति आकर्षित भएका हुन् ।

रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा आयोजना गरिएको ‘पाँचौ दक्षिण एसियालीस्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा’ मा हेर्न आएका रामकृष्ण भन्छन्, ‘आजकाल त मलाई पनि खेल मन पर्न थालेको छ, म बुढो मान्छेलाई खेल्न त आउँदैन तर छोराले खेलेको देखेर खुसी लाग्छ, हामी बूढाबूढी छोराको स्केट खेल हेर्न तीन दिनदेखि दैनिक आउने गरेका छौँ ।’

आफ्नो छोराले राम्रो खेलेको देखेर रामकृष्णकी श्रीमती अर्जनालाई पनि यो खेल राम्रो लाग्न थालेको छ । “सुरुमा त छोराले घरमै स्केट बोर्ड लिएर आउँदा अब छोरो बिग्रिने भयो, गलत बाटोमा लाग्ने भयो भन्ने चिन्ता लागेको थियो, यो खेलको बारेमा बुझेपछि विस्तारै हामीलाई पनि मज्जा लाग्दै गयो, अहिले छोराले राम्रो खेलेको देख्दा रमाइलो लाग्छ” अर्चनाले भने ।

तिलोत्तमा–४ स्थित ड्राइभरटोलका अमर विकलाई पनि आफ्नो छोराले स्केल खेलमा प्रगति गरेको देख्दा खुसी लाग्छ । १९ वर्षिय छोरा सुनिलले स्केट खेलबाटै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार समेत जितिसकेका छन् । उनी स्केट खेलका लागि भारत र थाइल्याण्डसमेत पुगेका छन् । ‘हामीलाई छोराले यही स्केट खेलमै राम्रो गर्न सक्छ भन्ने लागेको छ’, विकले भने ।

ड्राइभरटोलकै बाबु रामबहादुर कामु र आमा प्रेमकुमारी कामुका १५ वर्षिय छोरा यमबहादुर कामुले पनि जात्रामा आयोजना गरिएको प्रतियोगितामा भाग लिएका थिए । छोराले प्रतियोगितामा भाग लिएको देख्दा बाबु रामबहादुर र आमा प्रेमकुमारी दङ्ग थिए । यो स्केट खेल पनि अरु फूटबल, भलिबल जस्तै खेलिने खेल रहेछ भन्ने लागेको छ उनीहरुलाई । अर्का खेलाडी खुसी विकेका बाबु मधु विके पनि स्केट जात्रा हेर्नका लागि लगातार तीन दिनदेखि उपस्थित भएका थिए ।

जात्रामा पाँच हजार खेलप्रेमीको सहभागिता रहेको थियो । युवादेखि वयस्क र वृद्धवृद्धाले समेत चासोका साथ जात्राबाट मनोरञ्जन लिएका थिए । जात्रामा सहभागी रमेश रानाभाटले भने, ‘आफूले अहिलेसम्म यस किसिमको खेल खेलेको देखेको थिएन, निकै रमाइलो लाग्यो । अब यो खेललाई पनि सरकारले प्राथमिकता दिनुपर्छ, यस्को संरक्षण गर्नुपर्छ र नेपालले यस खेलमा अन्तराष्ट्रिय प्रतिस्पर्धामा सफलता पाउन सक्छ ।’

हिजोका दिनमा यो खेल सडकमै खेल्नुपर्ने अवस्था थियो भने आज पार्कमै खेल्न सक्ने अवस्था रहेको अध्यक्ष पहाडीको भनाइ छ । ‘हिजोका दिनमा सडकमा खेल्न प्रहरीले दिंदैनथे, अभिभावकले पनि नकारात्मक रुपमा लिने गरेका थिए, तर आजको दिनमा विस्तारै सबैलाई बुझाउन सकिएको छ’, उनले भने । पछिल्लो समयमा नेपाली स्केट खेलाडीहरु भारतका विभिन्न स्थानमा हुने स्केट प्रतियोगितामा विजयी हुन थालेका छन् । कतिपयले स्केट खेलबाटै आम्दानीको स्रोत पनि बनाउन सुकेका छन् । विस्तारै नेपालमा स्केट खेललाई हेर्ने दृष्टिमा सकारात्मक परिवर्तन आउन थालेको छ ।

स्केट खेल प्रतियोगिताका लागि नेपाली खेलाडीहरु जापान, दुवै, थाइल्याण्ड, भारत र इन्डोनेसियालगायतका मुलुकमा पुगिसकेका छन् । सन् २०१६ मा थाइल्याण्डमा आयोजना गरिएको राष्ट्रिय प्रतियोगितामा मिलन शाह ठकुरी विजयी भएका थिए । पहाडीले भने, ‘हिजोका दिनमा हामी सात दोबोटोको सम्म भागमा खेल्नुपर्ने थियो भने अहिले सडकबाट स्केट पार्कमा छिरिसकेको छ, पछिल्लो जात्रामा भाग लिनका लागि भारतलगायतका देशबाट लामो यात्रा गरेर पनि खेलाडीहरु आएका थिए ।’

स्केट–एड नेपालले स्केट खेलको सकारात्मक प्रभावका लागि विभिन्न विद्यालय र क्याम्पसहरुमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । स्कूल र क्याम्पस पढ्ने अधिकांश विद्यार्थी तथा युवाको रुचीको खेल स्केट बन्दै गएको छ । संस्थाले सचेतनाको साथसाथै स्केट खेलसम्बन्धी सामग्री पनि हस्तान्तरण गर्दै आएको छ । सुरुको चरणमा नेपालमा स्केट खेल शून्य मात्रामा थियो भने आजकाल स्केट खेल खेल्ने खेलाडीको संख्यामा पनि वृद्धि भएको छ । स्केट पनि एउटा खेल हो भन्ने धेरैको बुझाइ भएको छ । पहिला स्केट भन्ने बित्तिकै दुव्र्यसनमा लागेका मानिसले खेल्ने खेल हो भनेर चिन्ने गरिन्थ्यो भने अहिले सोचाइमा परिवर्तन आएको छ । यो पनि भलिबल, फुटबल जस्तै एउटा खेल हो भन्ने चेतनाको विकास भएको छ ।

विश्वमा खेलिने फुटबल र क्रिकेटलगायतका खेलहरूमा जस्तै स्केट खेलमा पनि नेपालका युवाहरूको पछिल्लोपटक आकर्षण बढ्दै गएको हो । खासगरी अमेरिका, अस्ट्रेलियालगायत युरोपियन देशहरूमा साहसिक खेलको रूपमा खेलिने स्केट खेलप्रति नेपालका युवाहरू पनि सक्रिय बन्दै गएका छन् । सन् १९६० तिर अमेरिकाको एक शहरमा स्केट बोर्डलाई साधनको रुपमा लिने गरेको पाइन्छ । त्यसपछि युरोपियन देश हुँदै विश्वका अन्य देशहरुमा विकास भएको पाइन्छ ।

नेपालमा स्केट खेलको इतिहास हेर्ने हो भने सुरुसुरुमा विदेशहरु नेपाल आउँदा स्केट बोर्ड लिएर आउने र खेल्ने गरेको पाइन्छ । नेपालमा पहिले धनी परिवारका छोराछोरीले विदेशबाट ल्याएर खेल्ने गरे तापनि त्यसको व्यवस्थापन हुन सकेको थिएन । सन् २०११ मा स्केट खेलाडीहरुको एउटा सूमह बन्यो । यसले यो खेललाई व्यवस्थित बनाउन कोसिस ग¥यो । पछि सन् २०१३ मा युवा फर चेन्जलगायत निजी क्षेत्रबाट विभिन्न सङ्घसंस्थाले स्केट खेलको संरक्षण र प्रवद्र्धनमा काम सुरु गरेको पाइन्छ । अहिले नेपालभरि करिब एक हजार स्केट खेलाडी सक्रिय रहेका छन् ।

स्केट खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले २०७१ सालमा नेपाल स्केटिङ तथा स्केट बोडिङ सङ्घसमेत गठन गरेको छ । युवा फर चेन्ज संस्थाले बुटवलमा स्केट र अन्य खेलबारे समेत जानकारी लिन सकिने इन्डोर स्केट पार्क र रिसोर्स सेन्टर निर्माण गरेको छ । स्वदेशी एंम विदेशी खेलप्रेमी, उद्योगी, व्यवसायी, शिक्षाविद्, राजनीतिकर्मी, सञ्चार तथा कलाकर्मीहरुको समेत सहयोग र सद्भावमा आर्थिक सङ्कलन गरी बुद्धजन्मस्थल पवित्र भूमि लुम्बिनीस्थित रुपन्देहीको तिलोत्तमा–४ मा ‘इनडोर स्केट पार्क एवं रिर्सोर्स सेन्टर’ निर्माण प्रारम्भ गरिएको हो ।

पार्कमा सबै वर्गका खेलप्रेमी युवायुवतीलाई समान अवसर सिर्जना गर्ने गरी प्रशिक्षण, तालिम एवं होस्टेल र कार्यक्रम हल, पुस्तकालय समेत निर्माण गरी निःशुल्क सेवा प्रदान गरिँदै आएको छ । स्केट पार्क फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रमा लागेका र अन्य सहयोगी व्यक्तिहरुको सक्रियतामा निर्माण गरिएको हो ।

स्थानीय उत्पादनको प्रवद्र्धनका साथै बालबालिका र युवा वर्गलाई लक्षित गरी यसपटक स्केट जात्राको आयोजना गरिएको हो । रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा यही पुस ५ देखि ७ गतेसम्म आयोजना गरिएको जात्रामा नेपालले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्सका तीन सय खेलाडीको सहभागिता रहेको थियो । जात्रामा स्केटिङ प्रतियोगिताका साथै विभिन्न स्टलहरुसमेत राखिएको थियो । आगामी वर्षको छैटौँ संस्करण भारतमा गरिने भएको छ । पहिलो संस्करण काठमाडौंं हुँदै पाल्पा, र तेस्रो, चौँथो र पाँचौ रुपन्देहीमै आयोजना गरिएको थियो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्याक्र्याल लामाले आफू विभिन्न देशमा जाने क्रममा त्यहाँ स्केट र स्केटिङको बारेमा जान्ने र बुझ्ने मौका पाएको र नेपालमा पनि त्यसको विकास गर्नुपर्नेमा जोड दिए । ‘ओलम्पिकमा गइसकेको खेल भएका कारण पनि स्केट खेललाई नेपालमा मात्रै नभएर दक्षिण एसियामै प्रवद्र्धन गर्नुपर्छ, जापान र युरोपियन मुलुकहरुमा राम्रो प्रवद्र्धन भइरहेको छ’, उनले भने ।

नयाँ संविधानको कार्यान्वयनसँगै नेपाललाई सम्वृद्ध नेपाल बनाउने भनिएको छ । सम्वृद्ध नेपाल निर्माण हुँदै गर्दा नेपालको खेलकुद क्षेत्रको विकासलाई पनि तीव्र गतिमा अगाडि बढाउन जरुरी छ । लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव गोविन्द भट्टराईले स्केट र स्केटिङको विकासको निम्ति स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहका सरकारले उत्तिकै चासोका साथ प्रवद्र्धन र विकासमा जोड दिनुपर्ने बताए ।

सन् २०२० को जापानमा भएको ओलम्पिकमा रोलर स्केटिङले खेलको मान्यता पाएको सन्दर्भमा नेपालमा पनि स्केट खेललाई पनि फुटबल, भलिबल वा अन्य खेलहरुलाई जस्तै मान्यता दिँदै सकारात्मक सोचका साथ सरकारले त्यसको विकास र संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । विश्वका अन्य मुलुकहरुमा स्केट खेलको विकाससँगै खेलाडीहरु उत्साहका साथ अगाडि बढिरहेका सन्दर्भमा नेपालमा पनि अबका युवा पुस्तालाई प्रोत्साहन र हौसला दिन जरुरी छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.