गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो, सरकारले दियो सहमति

  २०८० पुष २६ गते १०:४८     विकासन्युज

भरतपुर । अलपत्र परेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुलेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ ।

भरतपुर महानगरपालिकालाई  रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरिएको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भइसकेको थियो । तर, भरतपुर महानगरपालिकाले तयार गरेको लागत इस्टिमेटअनुसार राष्ट्रिय स्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने देखिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले लागत अनुमान (इस्टिमेट) बनाउँदा एक अर्ब रुपैयाँ लाग्ने देखिएकोले यसअघिको सहमतिअनुसार बजेट सुनिश्चितता गर्न प्रदेश सरकारलाई हिजो नै प्रस्ताव पठाइएको बताइन्  ।

पहिलो चरणमा खेल मैदान र प्याराफिट लगायतका काम सकेर खेल खेल्न मिल्ने बनाइने उनले जानकारी दिए, ‘लागत तयार गर्दा पहिलो चरणमा एक अर्बको काम गर्नैपर्ने देखिएकाले ७० करोड प्रदेशलाई व्यवस्था गर्न भनेका छौँ । ३० करोड हामी व्यहोर्छाैं ।’

चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि यो रंगशाला अलपत्र छ । अब ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेको छ ।

नेपाल सरकारले गौतम बुद्ध क्रिकेट रंगशालासहित ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.