दूध दान : बच्चाहरूका लागि अमृत बन्दै ‘ह्युमन मिल्क बैंक’

  २०८० पुष २५ गते १५:२३     इन्द्रसरा खड्का

काठमाडौं । काठमाडौंको सीतापाइँलाकी लक्ष्मी सिवाकोटी थापाथली अस्पताल बसेको २४ दिन भयो । उनको बच्चा एनआईसियूमा छ । अस्पतालमा उनी छटपटीमा छिन् । उनी दैनिक एनआइसीयूको ढोकामा पुग्छिन, फनक्क फर्किन्छन्, किनकि बच्चा राखिएको ठाउँमा घरी–घरी जान मिल्दैन । डाक्टर नर्स जो भेटिन्छन्, छोराको बारेमा सोध्छिन्, डाक्टरको जवाफ हुन्छ, ‘बिस्तारै नर्मल हुन्छ, आत्तिनु पर्दैन ।’

एकपटक मन शीतल भए पनि छोरा काखमा नपाउँदा मन फेरि अशान्त हुन्छ । बेलाबेला टनक्क दूध भरिन्छ । दूध भरिने बित्तिकै उनी अस्पतालको नयाँ बनेको भवनको दोस्रो तलामा पुग्छिन्, जहाँ ‘ह्युमन मिल्क बैंक’ (अमृत कोष )छ । मिल्क बैंकमा पुगेर दूध जम्मा गर्छिन् । फेरि तल झर्छिन् । उनको आजभोलिको दैनिकी यसैगरी चलेको छ ।

‘बच्चा एनआईसीयूमा छ, दूध चुसाउन पाएको छैन, २१ दिन भयो,’ उनी भन्छिन, ‘दैनिक तीन÷चार पटक दूध जम्मा गर्छु, बस्छु, यसरी नै दिन बित्छ ।’

डाक्टरले लक्ष्मीको बच्चा जन्माउने समय फागुन १३ गतेको दिएको थियो । तर, बच्चा पुस १ गते नै जन्मियो । समय नपुग्दै जन्मेको बच्चामा श्वासप्रश्वासको समस्या देखियो । जसकारण छोरा एनआईसीयूमा राख्नुपरेको उनको भनाइ छ । छोरालाई दूध चुसाउन नमिलेपछि उनी आफ्नो दूध ‘ह्युमन मिल्क बैंकमा’ राख्दै आएकी छन् ।

‘यति दिन भइसक्यो बच्चालाई काखमा राखेर दूध चुसाउन पाएको छैन,’ उनी भावुक हुँदै भन्छिन्, ‘बेला-बेला दूध भरिन्छ, आफैंले बच्चालाई खुवाउने अवस्था छैन, दूध दान गर्छु, मेरो बच्चालाई पनि हुन्छ, अरु बच्चालाई पनि पुग्छ ।’

लक्ष्मी जस्ता धेरै महिला अहिले दूध दान गरिरहेका छन् । यस्ता महिलाले दान गरेको दूधले कसैका लागि अमृतको काम गरिदिन्छ । थापाथलीमा आमाहरूले गरेको दूध दानले दार्चुलाको मालीकार्जुनकी राधा धामीले छोरा बचाउन सकिन् ।

शिक्षण अस्पताल महाराजगञ्जको एनआईसीयूमा राखेको छोरालाई ‘ह्युमन मिल्क बैंक’बाट दूध लिएर दिन पाउँदा अहिले छोरा काखमा बोकेर घर फर्कन पाएको खुसी उनले हामीसँग बताइन् ।

राधा गर्भमा बच्चा बसेदेखि नियमित जाँच गर्दै आएकी थिइन् । अवस्था ठिकै थियो । तर, उनमा थाइराइड देखियो । केही समयपछि एनिमिया भएको थाहा भयो । दुई जीउको अवस्थामा स्वास्थ्य समस्या देखियो । राधाको यसअघिका २ गर्भपनि खेर गए । यो पटक पनि जोखिम हुने भन्दै नियमित जाँचमा रहन डाक्टरले सल्लाह दिएका थिए । सल्लाह बमोजिम उनी बच्चा जन्माउन दार्चुलाबाट काठमाडौं आइन् ।

‘दार्चुलामा न राम्रो अस्पताल नत राम्रा डाक्टर, कतै गाह्रो पो पर्छकी भन्ने हामीलाई डर थियो, त्यसैले हामीले अगाडि नै काठमाडौं बोलायौं,’ राधाका देवर कमल धामीले भने ।

डाक्टरले राधालाई बच्चा जन्माउने समय मंसिर २६ गते दिएको थियो । तर, आमा र बच्चा दुवैमा समस्या देखिएपछि मंसिर १५ गते नै अप्रेसन गरी बच्चा निकालियो । बच्चा गर्भमै रहँदा जण्डिस देखियोे । बच्चाको तौल २१ सय ग्राम मात्र थियो । तौल र जण्डिसले गर्दा बच्चाको अवस्था जटिल देखिएपछि शिक्षण अस्पताल महाराजगञ्जमा अप्रेसन गरेर निकाल्नु पर्‍यो ।

आमाको अवस्था पनि नर्मल नहुँदा बच्चालाई दूधको आवश्यकता पर्‍यो । धामी परिवारले थापाथली अस्पतालमा ‘मिल्क बैंक’ रहेको थाहा पाएपछि कमल थापाथली अस्पताल पुगे । अस्पताललाई आफ्नो समस्या बताएपछि एक साताका लागि बच्चालाई दूध दिने सहमति भयो ।

‘बच्चालाई दैनिक आवश्यक पर्ने दूधको मात्रा थापाथली अस्पतालले दियो,’ कमल भन्छन्, ‘थापाथलीको मिल्क बैंकको दूध हाम्रो बच्चाको लागि साच्चिकै अमृत बन्यो, अहिले आमा र बच्चा सकुशल दार्चुला फर्किएका छन् ।’

राधाजस्तै धेरै आमाहरूले मिल्क बैंकबाट दुध लिएर बच्चाको जीवन बचाएका छन् । उनीहरूले मिल्क बैंकप्रति आभार प्रकट गरिरहेका छन् ।

बच्चा एनआईसीयूमा, आमा दूध दानमा

मिल्क बैंकमा सबैभन्दा धेरै दूध दिने भनेको बाध्यतावस अस्पतालमै बस्नु परेका आमाहरू छन् । जसको बच्चा बिरामी छ, तौल कम छ, एनआइसीयूमा राख्नुपर्ने अवस्था छ, त्यस्ता आमाहरू लामो समय अस्पताल बस्नुपर्ने हुन्छ ।

बच्चा एनआइसीयूमा राख्दा दूध चुसाउन मिल्दैन । तिनै आमाहरू आफ्नो बच्चाको लागि र बाँकी दूध दानको रुपमा दिने गर्छन् । त्यस्ता आमाहरू एकपटक भनिसकेपछि अस्पताल रहुञ्जेलसम्म दैनिक रुपमा दूध दान गर्ने गर्छन् ।

अस्पतालमै सुत्केरी भएका सबै महिलाहरू अस्पतालमा लामो समय नरहने भएकाले दान गर्ने आमाको संख्यामा कमी रहेको अस्पतालका डाक्टर शैलेन्द्र बिक्रम कर्माचार्य बताउँछन् ।

‘टाढा-टाढाबाट बच्चा जन्माउन आमाहरू अस्पताल आउनुहुन्छ, नर्मल बच्चा पाउनेहरू तत्कालै गइहाल्नुहुन्छ, उनीहरूलाई दूध दान गराउनकै लागि अस्पतालमा रोकाउन सक्ने अवस्था छैन, जसकारण पनि दान गर्नेहरूको संख्याको कम देखिएको हो,’ उनले भने ।

४ सय ५५ लिटर दुध संकलन

२०७९ साल भदौ ३ गते परोपकारी प्रसूति तथा स्त्री रोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ (अमृत कोष) स्थापना गरिएको थियो । झण्डै डेढ वर्षको अवधिमा करिब १ हजार १ सय बढी आमाहरूले दूध दान गरेका छन् । यस्तै, १ हजार ५ सय बढी बच्चाले दूध पाएका छन् भने अहिलेसम्म ४ सय ५५ लिटर बढी दूध संकलन भएको छ ।

अस्पतालमा दूधको माग दैनिक २ हजार ५ सय मिलि लिटर छ भने दैनिक१ हजार ५ सय एमएल संकलन हुने गरेको छ । संकलन कम र माग बढी भएकाले सबै बच्चालाई दूध पुर्‍याउन नसकिएको ‘ह्युमन मिल्क बैंक’ तथा ‘बृहत स्तनपान व्यवस्थापन’की व्यवस्थापक स्मृती पौडेल बताउँछिन् ।

‘मिल्क बैंक’मा अहिले दैनिक १० देखि १५ आमाहरू दूध दान गर्ने गरेका छन् । तर, अस्पतालमा दैनिक ६० देखि ८० जना आमाहरूले बच्चा जन्माउने गर्छन् ।

‘सबै आमाहरूले दूध दिन सक्ने हुँदैनन्, कस्ता आमाको दूध लिने भन्ने मापदण्ड पुरा हुनुप¥यो, अर्को ८० जनामा २० देखि २५ प्रतिशत आमाहरूको अप्रेसन हुन्छ, उनीहरू तीन दिनसम्म उठ्न सक्ने अवस्थामा हुँदैनन्, नर्मल डेलीभरी हुने आमाहरू २४ घण्टा मै डिस्चार्ज हुन्छ जसका कारण दूध दान गर्ने आमाहरू संख्या बढ्न नसकेको हो,’ उनले भनिन् ।

यस्तो छ मापदण्ड

मिल्क बैंकमा सबै आमाहरूले दूध दान गर्न सक्छन् । त्यसका लागि अस्पतालले एउटा मापदण्ड बनाएको छ । दूध दान गर्न चाहने आमाहरूको सबैभन्दा पहिला ल्याब र शारिरीक जाँच हुन्छ । जसमा एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोलरेटरी (भिडिआरएल) र हेपटाइटिस बी सर्फेस एन्टिजेन (एचबीएसजी) लगायतका परीक्षण गर्नुपर्छ ।

यी परिक्षणमा आमा स्वस्थ भेटियो भने मात्र त्यस्ता आमाहरूले दूध दान गर्न पाउँछन् । अस्वस्थ आमाहरूको दूध संकलन हुँदैन । स्मृती भन्छिन्, ‘कुनै पनि प्रकारको इन्फेक्सन नभएका, दूधबाट सर्न सक्ने कुनै पनि रोग नभएका, स्तन परीक्षणको रिपोर्ट राम्रो आएका आमाहरुले दूध दान गर्न पाउँछन्, यो जाँच सबै अस्पतालले गरिदिन्छ ।’

कस्ता बच्चालाई खुवाइन्छ दूध ?

मिल्क बैंकमा संकलन गरिएको दूध सबैभन्दा पहिले अस्पताल भित्रका बच्चाहरूलाई दिइन्छ । जो समय अगावै जन्मिएका हुन्छन् । तौल कम छ , जन्मदा उनीहरूको राम्रोसँग विकास वृद्धि भएको हुँदैन, यस्ता बच्चाहरूलाई प्राथिमकता राखिन्छ । यस्ता बच्चाहरूलाई बट्टाको दूध खुवाउँदा झनै कुपोषण हुने, आन्द्राको समस्या बढी हुने र अरु संक्रमण हुने जोखिम हुने भएकाले यस्ता बच्चालाई यो दूध दिने गरिन्छ ।

त्यसपछि आमा नभएको, भएका आमामा पनि कुनै खालको संक्रमणको कारण दूध चुसाउन नमिल्ने बच्चाहरूलाई दोस्रो प्राथमिकता दिइन्छ । त्यसपछि समय पुगेरै जन्मेका बच्चाहरूमा पनि आमाको दूध प्रयाप्त मात्रामा नआए, जुम्ल्यहा, तिम्ल्हा बच्चा भएका आमाका बच्चालाई दूध दिने गरिन्छ । पहिलो र दोस्रो प्राथमिकतामा रहेका बच्चालाई दूध पुगेपनि सबै बच्चाहरूलाई पुग्ने खालको दूध भने अझै संकलन हुन सकेको छैन ।

विश्वभर वार्षिक १ करोड ५० लाख शिशुहरू समय नपुगि नै जन्मिने गरेको तथ्यांकले देखाउँछ । नेपाल जस्ता निम्न-मध्यम आय भएका देशहरूमा यस्तो समस्या अझ बढी छ । नेपालमा वर्षमा करिब ८१ हजार शिशु समय नपुग्दै जन्मिन्छन् । शिशुहरू आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् भने समय नपुगि जन्मेका र कम तौल भएका शिशुहरू अझ बढी जोखिममा हुन्छन् । यस्ता जोखिममा रहेका बच्चाहरूलाई ‘ह्युमन मिल्क बैंक’ले धेरै सहयोग पुग्ने जानकारहरू बताउँछन् ।

स्तनपान गराउनेको संख्या बढ्यो

मिल्क बैंक स्थापनापछि अस्पतालमा स्तनपान गराउनेको दर पनि बढेको छ । पहिले ४० देखि ४५ प्रतिशत महिलाले मात्र स्तनपान गराउने गरेकोमा मिल्क बैंक स्थापनापछि ८० देखि ८५ प्रतिशत आमाहरूले स्तनपान गर्ने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले स्तनपानबारे परामर्श दिन ६ जना परामर्शदाता (काउन्सिलर) राखेको छ । ६ जना काउन्सिलरको काम अस्पतालमा सुत्केरी भएका महिलाहरूलाई भेट्ने, उनीहरूलाई दूध कसरी चुसाउने भन्नेबारे जानकारी र तरिकाबारे सिकाउने काम गर्छन् ।

काउन्सिलर सुमित्रा गिरी स्तनपानलाई सजिलो तरिकाले लिने गरेपनि सबैभन्दा जटिले हुने बताउँछिन् । उनका अनुसार स्तनपानको कुरा गर्दा धेरैले सामान्य तरिकाले लिन्छन् तर यसको पोजिशन तथा तरिका नजान्दा साह्रै गाह्रो हुन्छ ।

दूध संकलन गर्न मिल्क एम्बुलेन्सको तयारी

विश्वका कयौँ देशले आजभन्दा सय वर्ष अगाडि सुरुवात गरेको ह्युमन मिल्क बैंक नेपालमा पहिलो पटक थापथलीमा अस्पतालमा सञ्चालनमा छ । एउटा अस्पतालमा मात्र सीमित यो बैंकको सेवा देशभर बिस्तार गर्ने तयारी गरिरहेको छ ।

एउटा अस्पतालमा हुँदा सोचेजति दूध संकलन नभएको र माग बमोजिम दूध उपलब्ध गराउन नसकेकाले अब मिल्क एम्बुलेन्स सञ्चालन गर्ने योजना भइरहेको बृहत स्तनपान व्यवस्थापन केन्द्रका प्रबन्धक स्मृती पौडेल बताउँछिन् ।

उनका अनुसार त्यसका लागि अन्य निकायसँग समन्वय गर्ने काम भइरहेको छ । मिल्क एम्बुलेन्सले आफ्नो बच्चालाई पुगेर थप आएको दूध दान गर्न चाहाने आमाहरूको घरमै गएर दूध संकलन गर्नेछ ।

थापाथली अस्पताललाई मात्र लक्षित गरी सञ्चालनमा ल्याएको ‘ह्युमन मिल्क बैंक’को आवश्यकता देशभर भएकाले सेवा बढाउनका लागि यसको तयारी थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.