यति कार्पेटले एक वर्षमै ५२ प्रतिशतले बढायो व्यापार, गर्यो ४६ करोड बढी आम्दानी

  २०८० पुष २५ गते ११:५५     विकासन्युज

काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेट प्राइभेट लिमिटेडले एक वर्षमा ५२.३० प्रतिशतले आफ्नो व्यापार बढाएको छ । गत आर्थिक वर्ष २०२२ को तुलनामा आर्थिक वर्ष २०२३ मा कम्पनीको आम्दानी ५२ प्रतिशत अर्थात १५ करोड ९० लाख रुपैयाँले बढेको हो ।

कम्पनीको अपरिस्कृत विवरण अनुसार २०२३ मा कार्पेटले ४६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी कम्पनीले २०२२मा ३० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०२१ मा यस्तो आम्दानी १९ करोड २० लाख रुपैयाँ थियो ।

यति फ्याब्रिक प्रा. लिको नामबाट कार्पेट उत्पादन गर्दै आएको कम्पनी सन् २०१८ को फेब्रअरीमा यति कार्पेट प्रा.लि.मा परिणत भएको हो । यति कार्पेट नेपालमा स्थापित दुई व्यापारिक घरना केडिया अर्गनाइजेशन र रिलायन्स समूहबीचको संयुक्त उद्यम हो । जसमा दुबैको ५०/५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

आर्थिक वर्ष २०२० सालदेखि सञ्चालनमा आएको कम्पनीले फाइबर र धागोजस्ता कच्चा पदार्थ आयात गरेर गलैंचा बनाउँदै आएको छ । सन् २०२३ देखि कम्पनीको प्रमुख सेयरधनीहरुमा अनिलकुमार केडिया, आयुष केडिया, नरेन्द्रकुमार अग्रवाल र लोकेश तोदी रहेका छन् । जसमध्ये अनिलको २५ प्रतिशत, आयुषको १५ प्रतिशत, अग्रवालको १३ प्रतिशत र तोदीको १३ प्रतिशत सेयर लगानी छ ।

मधेश प्रदेशको वीरगञ्जमा स्थापित यो कारखानाले हालै ५७ करोड ४९ लाख रुपैयाँ बराबरको कर्जाको लागि इक्रा नेपालमा रेटिङ्ग गराएको छ । इक्रा नेपालले दीर्घकालिन अवधिको लागि अर्थात ४४ करोड ९९ लाख रुपैयाँको कर्जाको लागि इक्राएनपी एलबी प्लस रेटिङ्ग दिएको छ भने बाँकी १२ करोड ५० लाख कर्जा (अल्पकालिन अवधि) को लागि इक्राएनपी एफोरको रेटिङ्ग दिएको छ ।

यसअघि कम्पनीले ५९ करोड ९६ लाख रुपैयाँ कर्जाको लागि रेटिङ्ग गराएको थियो । इक्रा नेपालले भने ५७ करोड ४९ लाख रुपैयाँ बराबरको कर्जाको लागि पुनः पुष्टि गरिदिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.