५ सय भारु लगानीमा जन्मिएको रिलायन्स ग्रुप

  २०८० पुष १४ गते १३:००     विकासन्युज

काठमाडौं । भारतको सबैभन्दा ठूलो व्यावसायिक घराना हो रिलायन्स ग्रुप । यो संसारका विशाल व्यापारिक समूहको सूचीमा पर्छ ।

यो ग्रुपका प्रमुख सञ्चालक मुकेश अम्बानी अहिले संसारका धनीमध्ये एक हुन् । उनी एसियाकै सबैभन्दा धनी व्यक्ति पनि हुन् ।

उनको रिलायन्स ग्रुप जम्मा ५ सय भारु बीउ पुँजीबाट स्थापना भएको थियो भन्दा अचम्म लाग्छ । जसलाई मुकेशका बुबा धीरुभाइ अम्बानीले आफूसँग भएको त्यही ५ सय रुपैयाँबाट स्थापना गरेका थिए ।

यो सत्यकथा उनै धीरुभाइ अम्बानीको हो ।

धीरुभाइ अम्बानीको जन्म २८ डिसेम्बर १९३२ मा गुजरातको एउटा सानो सहरमा भएको थियो । बुबा शिक्षक र आमा गृहिणी थिए। दुई कोठाको घरमा पाँच दाजुभाइसहित पूरै परिवार बस्थे ।

परिवारलाई सहयोग गर्न बाल्यकालदेखि नै काम गर्न थालेका थिए धीरुभाइले । उनले ठेलामा गांठिया बेच्न थाले र त्यसबाट आफूले कमाएको थोरै पैसा आफ्नी आमालाई दिए ।

१० कक्षा पास गरेपछि उनी आफ्नो भाइ रमणीकलालसँग यमन गए । त्यहाँ उनले पेट्रोल पम्पमा काम गर्न थाले । पूरा दिन काम गरेवापत उनले ३ सय रुपैयाँ तलब पाउँथे । त्यो जागिरमा उनलाई रुचि लागेन । उनी आफ्नै व्यापार गर्न चाहन्थे । यही सोचेर भारत फर्किए ।

बचतको नाममा उनीसँग जम्मा ५ सय रुपैयाँ थियो, जसलाई लिएर उनी मुम्बई पुगे । उनले आफ्ना भाइ चम्पकलाल दिमानीसँग मिलेर रिलायन्स कमर्सियल कर्पोरेशन कम्पनी खोले ।

यही कम्पनीको सहयोगमा उनी अदुवा, बेसार र अन्य मसला पश्चिमी मुलुकमा बेच्ने गर्दथे । धीरुभइलाई बजार र मागको राम्रो ज्ञान थियो । आगामी दिनमा पोलिस्टर कपडाको माग बढ्ने उनको बुझाइ थियो । उनले त्यसमा पनि जोड दिन थाले ।

धीरुभाइले मुम्बईमा ३ सय ५० वर्गफिटको कोठा भाडामा लिएका थिए । कार्यालयमा एउटा टेबुल र तीनवटा कुर्सीबाहेक केही थिएन । यही सानो कोठाबाट उनले रिलायन्स इन्डस्ट्रिजको यात्रा सुरु गरे ।

मसलासँगै पोलिस्टर कपडा बनाउने काम पनि सुरु गरे । सन् १९६६ मा उनले गुजरातको अहमदाबादमा टेक्सटाइल मिल सुरु गरे। जसको नाम रिलायन्स टेक्सटाइल थियो । बिस्तारै उनले व्यवसाय विस्तार गर्न थाले ।

धीरुभाइलाई व्यापारको हरेक चाल थाहा थियो। एकपटक उनले अरब देशका शेखलाई भारतीय माटो बेचेर पैसा कमाए । वास्तवमा शेखले आफ्नो बगैंचामा गुलाब उब्जाउनुपर्ने थियो, जसका लागि उनलाई उर्वर माटो चाहिन्थ्यो।

धीरुभाइले आफ्ना सम्पर्कहरूमार्फत भारतबाट माटो अरब शेखलाई पठाएका थिए। बदलामा शेखले उसलाई मनपर्ने मूल्य दिए। धीरुभाइ अम्बानीको व्यापार बढ्न थाल्यो ।

कपडा क्षेत्रमा कम्पनीको ठूलो नाम बन्न थाल्यो । कम्पनी कपडाबाहेक दूरसञ्चार, दूरसञ्चार सूचना, ऊर्जा, विद्युत्, खुद्रा बिक्री, पूर्वाधार, पुँजीबजार र खाद्यान्न क्षेत्रमा विस्तार भइसकेको थियो ।

धीरुभाइले स्वतन्त्र भारतको पहिलो आईपीओ सुरु गर्ने निर्णय गरे । त्यसबेला १० रुपैयाँमा २८ लाख कित्ताको आइपीओ निष्कासन भएको थियो ।

त्यतिबेला यो सेयर सात गुणा ओभरसब्सक्राइब भएको थियो । धीरुभाइ अम्बानी एक प्रतिभाशाली टोली नेता थिए । आफ्नो कार्यतालिका जतिसुकै व्यस्त भए पनि कर्मचारीलाई भेट्ने, समस्या सुन्ने र समाधान गर्ने गर्थे ।

उनले शून्यबाट पनि उचाइमा पुग्न सकिन्छ भन्ने प्रमाणित गरे । आज उनका छोराहरू मुकेश अम्बानी र अनिल अम्बानीले रिलायन्सको व्यापारलाई अगाडि बढाइरहेका छन् । एजेन्सी

One comment on "५ सय भारु लगानीमा जन्मिएको रिलायन्स ग्रुप"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.