एनसेल वुमन आइकन आइसिटी अवार्डबाट सुनैना घिमिरे पाण्डे सम्मानित

  २०८० पुष ९ गते १२:१५     विकासन्युज

काठमाडौं । सुनैना घिमिरे पाण्डे ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मानित भएकी छन् । द सोल्टी काठमाडौंमा शुक्रबार आयोजना गरिएको अप ग्राड आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो ।

सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि कार्यरत पाण्डे कम्प्युटर एसोसिएसन (क्यान) महासंघकी पहिलो महिला उपाध्यक्ष हुन् । उनी जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक हुन् र क्यान महासंघको महासचिव र सचिवको पदमा रहेर पनि काम गरिसकेकी छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले संयुक्त रुपमा पाण्डेलाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरेका थिए ।

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले यो अवार्ड प्रदान गर्दै आएको छ । यो पुरस्कारको राशी नगद ३ लाख रहेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘समाजको भविष्य निर्माणमा सूचना प्रविधिको ठूलो महत्व छ । अरुका लागि प्रोत्साहन बनेका, प्रविधि र डिजिटल विकासमा योगदान पुर्याएका उहाँ जस्ता महिलाहरुको सम्मान गर्न पाएकोमा हामी हर्षित छौं ।’

‘एनसेल वुमन आइकन आइसिटी अवार्डद्वारा मेरो समर्पण, कडा परिश्रम र सूचना प्रविधिको क्षेत्रमा उत्कृष्टता हासिल गर्ने ईच्छाको विशेष सम्मान गर्नु भएकोमा म एनसेल र आइसिटी अवार्डप्रति कृतज्ञ छु । यो अवार्ड मेरो कामको मात्र सम्मान नभई प्रविधिको परिवर्तनकारी क्षमतामा विश्वास गर्नेहरूको जोश, समर्पण र सामूहिक कार्यको कदर हो,’ पाण्डेले भनिन् ।

यो वर्ष वुमन आइकन आइसिटी अवार्ड विधामा कुल ३४ जना मनोनयनमा परेका थिए । यी मनोनयनहरुबाट सूचना प्रविधिको क्षेत्रमा पुर्याईएको योगदानका आधारमा तीन चरणको मुल्याङ्कन पश्चात लागि ७ जना महिलाहरु छनोटमा परेका थिए र उनीहरु मध्येबाट निर्णायक मण्डलले पाण्डेलाई विजयी छानेका थिए । सूचना प्रविधिमा महिलाको संलग्नताले सामाजिक र आर्थिक समावेशीकरणलाई बढावा दिन्छ र प्राविधिक विकासका फाइदाहरू बढी समानुपातिक रूपमा वितरण भएको सुनिश्चित गर्दछ ।

प्रत्येक वर्ष, आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीले संयुक्त रुपमा आइसिटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरु, नवप्रवर्तन र संघ संस्थाहरूलाई आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गर्नका लागि एनसेलले आइसिटी अवार्डसँग सहकार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.