कोरोनाको नयाँ भेरियन्टलाई रोक्ने नीति नियमको आवश्यक

  २०८० पुष ९ गते १२:२६     डा. शेरबहादुर पुन

काठमाडौं । लगातार नयाँ नयाँ भेरियन्टमा देखिँदै आएको कोभिड-१९ को नयाँ भेरियन्ट ‘जेएन-१’ फेरि देखिएको छ । पछिल्लो समय भारतमा देखापरेको यो भेरियन्टबाट तीव्र रुपमा संक्रमण फैलिरहेको छ भने मृत्यु हुने क्रम पनि बढेका समाचारहरू आइरहेका छन् । अहिले फैलिरहेको भेरियन्ट विगतमा देखिएको ओमिक्रोन भेरियन्टको सन्तति हो । यसलाई अहिले ‘जेएन-१’ को रुपमा चिन्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनले यसलाई घातकताको हिसावले न्यून घातक भनेर राखेको छ । खासगरी यो दक्षिण एशिया बाहिरतिर अगाडिबाटै देखिएको थियो ।

पछिल्लो समय भारतमा देखिएपछि अहिले त्रास फैलिएको छ । अहिले मृत्यु भएकाहरूमा यसको कारण के थियो ? संक्रमणभन्दा बाहिर पनि केही थियो कि ? भन्ने विषयमा अनुसन्धान भएको छैन । कोरोना संक्रमणबाट वृद्धवृद्धा दीर्घरोगी बढी जोखिममा हुन्छन् । अहिले यो भेरियन्टबाट मृत्यु भएकाहरूबारे पनि अनुसन्धान भएको छैन । मरे भन्ने विषय बाहिर आएको छ, त्यसैले पनि यो कत्तिको जोखिम छ भन्ने एकिन भइसकेको छैन ।

कुनैपनि भाइरस (ब्याक्टेरिया) को नयाँनयाँ स्वरुप हुन्छ । त्यसैले पनि यो नयाँ भेरियन्टलाई स्वभाविक मान्न सकिन्छ । तर, हामी किन तर्सिरहेका छौँ भने पहिले पहिले पनि थुप्रै कोरोनाका नयाँ भेरियन्ट देखिए । अहिले पनि देखिरहेका छन् । तीमध्ये कुनै नरम देखिए भने, कुनै कडा देखिए । अहिले देखिएको यो भेरियन्ट बढिरहेको पनि छ, कडा पनि देखिरहेको छ, यसले गर्दा स्वास्थ्यमा नै समस्या आउँछ कि आउँदैन भन्ने एउटा प्रश्न छ ।

हामीले विगतमा यस्ता समस्याहरू भोगिरहेको हुनाले फेरि नयाँ भेरियन्ट देखियो, मान्छे नै मर्न थाले भन्ने विषयले विश्व नै झसंग भएको छ । मेरो विचारमा संक्रमित हुँदैमा डराउनुपर्ने अवस्था भने छैन । तर, संक्रमित भएर एकपछि अर्को बिरामीको मृत्यु नै हुन थाल्यो भने त्यो हाम्रा लागि गम्भीर हो । यहाँनेर अलिकति चाँसो दिनुपर्छ । पहिलेको अवस्था र अहिलेको अवस्थामा फरक छ । अहिले खोपहरू प्रशस्त छन् । तर, धेरै मान्छेले लगाइरहेको अवस्था छैन । एउटा बुस्टर पक्कै पनि तपाईं हामी सबैले लगाएकै हौँला, त्यही डोजले पनि धेरै हदसम्म काम गरिरहेको छ भन्ने बुझिएको छ । किनभने कोरोना निमिट्यान्न भएको हैन । एक पटक तीव्ररुपमा फैलिने र कम हुने अवस्था मात्र छ । सबैभन्दा पहिले सन २००३ मा सर्स कोरोना भाइरस देखिएको थियो । त्यो एक डेढ वर्ष देखियो त्यसपछि देखिएन । त्यसपछि सर्स कोप २ आयो । कोरोना निरन्तर नयाँ भेरियन्टमा देखिनुले यसले पूर्णरुपमा छोडेको छैन भन्ने बुझिन्छ । हामीले विगतको अवस्था हेर्ने हो भने, यो विषयमा झस्कने र ध्यान दिनुपर्ने बेला आएको छ ।

खुल्ला सीमाका कारण जोखिम
पछिल्लो समय नेपालको सम्बन्ध विश्वमै विस्तार भएको छ । अहिले नेपालीहरू विश्वका कयौँ देशमा पुगेका छन् । यो सम्बन्धले अब विश्वको जुनसुकै कुनामा देखिएको रोगको जोखिम नेपालमा रहन्छ । यो भेरियन्ट अहिले भारतमा देखिएको भनिएको छ । नेपाल र भारतको जुन खुल्ला सीमाना छ, त्यसैले झन् जोखिमपूर्ण छ । पहिले पनि थुप्रो लहर उत्पन्न हुँदा भारतबाट नेपालमा आएको थियो । अहिले पनि यस्तै खालको समस्या निम्तन्छ कि भन्ने हो । यसका लागि हामी चनाखो हुनुपर्ने देखिन्छ । हुन त यसमा ध्यान दिनुपर्ने भनेर मात्र हुँदैन । हामीले पहिले पनि सीमामा आवतजावत नै रोक लगाएका थियौँ । त्यो बेला पनि लुकिछिपी, नदीमा पौडी खेल्दै नेपालीहरू घर आएको समाचार पनि आएका थिए । त्यसैले पनि हामीले जोखिम कम गर्न कसरी लाग्ने भन्नेमा समयमै ध्यान दिन आवश्यक छ ।

कसरी सर्तक हुने ?

हामीले पहिले पनि धेरै विषयमा सतर्कता अपनाएका थियौँ । यो उपाय अहिले धेरैले बिर्सिसक्नुभयो होला । जुन हामीले एउटा सिस्टम बसालेका थियौँ , त्यो अहिले सायद सबै निष्कृय भएको होला । अहिले तुरुन्तै गरिहाल्ने भन्ने पनि नहोला । त्यो कुन अवस्थामा छ म भन्न सकिँदैन । यसका लागि स्थानीय रुपमै यसमा बढी सजग हुनुपर्ने देखिन्छ । पहिले खुल्ला सीमानामै एन्टिजेन परिक्षण गर्ने थियो, अहिले त्यस्तो छैन । कोभिड १९ भन्दा अगाडिको अरु पनि विभिन्न रोगहरू छन् । तिनीहरू पनि वारपार भएकै हुन् । हामी पूर्णरुपमा रोक्न त्यो बेला पनि सफल भएनौँ । अहिले रुघाखोकीको जस्तो लक्षणहरू छ भने, त्यसलाई चेक गराउन सक्नुहुन्छ । यसलाई कसरी रोक्ने, कसरी सतर्कता अपनाउने भन्ने विषयमा नीति नियम बनाउन आवश्यक देखिन्छ ।

कुनैबेला कोरोना भाइरसको ओमिक्रोन अफ्रिकामा पहिलो पटक पत्ता लाग्यो । त्यो बेला हामी धेरै रुघाखोकी लाग्यो भनेर बसिरहेका थियौँ । त्यो बेलामा ओमिक्रोन व्यापक रुपमा फैलिसकेको थियो । तर, त्यो बेला धेरैले परिक्षण गरेका थिएनन् । स्वाद, गन्ध, तितो, मिठो थाहा नपाउने अक्सिजनको मात्र घट्ने कुरा थियो । त्यो बेलामा खासै देखिएन । यो अरू भेरियन्टभन्दा कम घातक पनि मानिन्छ । त्यसकै अहिले सन्तति ‘जेएन-१’ बढी चर्चामा छ । यो नेपालमा छ कि छैन ? भन्नलाई परिक्षण नगरि थाहा हुँदैन । नेपाल सरकारकाले पक्कै पनि परिक्षण गरिरहेको होला भन्ने मेरो अनुमान छ । यी सबैका बाबजुद पनि डराउनुपर्ने अवस्था म देख्दिँन । तर, पनि कहिलेकाँही सोचेभन्दा फरक पनि हुनसक्छ । त्यसैले सतर्कता अपनाउनु पर्छ ।

ओमिक्रोन सुरुमा आउँदा पनि जाडोको बेला थियो । सबैजना रुघाखोकी भनेर बसेका थिए । अहिले पनि यो कोभिड १९ महामारी फैलेको धेरै भइसकेको छ । मलाई जहाँसम्म लाग्छ उहाँहरू अस्पताल जानुहोला भन्ने लाग्दैन । पछिल्लो समय कोभिडकै लागि भनेर अस्पतालमा जाँच गराउन आउनेको संख्या पनि न्यून छ । सबैजसोले कोरोनाको टेस्ट गर्न नै छोडिसके ।

मास्क लगाउन नछोडौँ
नेपालमा एकपटक यस्तो पनि थियो कि, स-साना बालबालिकादेखि वृद्धवृद्धासम्मले मास्क लगाउनु पर्ने बाध्यकारी व्यवस्था थियो । तर, आजभोलि सबैजनाले मास्क लगाउन छोडेको देखिन्छ । मास्क लगाउँदैमा कोरोना लाग्दैन भन्ने हैन, तर मास्क लगाउँदा श्वासप्रस्वासका संक्रमणबाट बच्न सजिलो हुन्छ । मास्क लगायो भने कोरोनाबाट मात्र बच्ने हो भन्ने एउटा जुन मान्छेको सोच छ यो गलत हो । तर मास्कलाई निरन्तरता दिइरह्यो भने राम्रो हुन्छ । पछिल्लो समय खोप लगाउनेको संख्या पनि घटेको देखिन्छ । तर, लगाउनु पर्ने आवश्यकता पनि छैन । र, लगाउँदैमा बेफाइदा पनि छैन ।

(संक्रामक रोग विशेषज्ञ डाक्टर पुनसँग विकासन्युजले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.