ह्याम्स अस्पतालले आईपीओ जारी प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डमा दियो निवेदन

  २०८० पुष ८ गते ९:३४     विकासन्युज

काठमाडौं। हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । अस्पतालले  सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर निष्कासन गर्न शुक्रबार बोर्डलाई निवेदन दिएको हो ।

अस्पतालले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमा १८८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा निवेदन दिएको छ । ह्याम्स अस्पताललाई गत आर्थिक वर्षको असारमा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड बनेको अस्पतालले जारी पुँजीको १५ प्रतिशत आईपीओ जारी गरेको हो ।

अस्पतालले सेयर निष्कासनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ भने सेयर अण्डरराइटिङ एसबीआई मर्चेन्ट लिमिटेडले गर्नेछ ।

यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ ।

ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले क्रेडिट रेटिङ पनि गराइसकेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओ निष्कासनका लागि इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ।

२०५४ मंसिर २ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालित यस अस्पतालले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, हेटौँडाबाट इजाजतपत्र लिई १०० (एक सय) शय्याको जनरल स्वास्थ्य संस्था/अस्पताल सञ्चालन गर्दै आइरहेको छ ।

अस्पतालले उच्च गुणस्तरीय र किफायती स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले संगठित संस्थाको शतप्रतिशत लगानीमा सहायक कम्पनी ह्याम्स नर्सिङ कलेज २०६५ पुस ९ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति पत्र प्राप्त गरी ३ वर्षे प्रवीणता प्रमाण पत्र नर्सिङ कार्यक्रम संचालान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.