६ दशकसम्म नथाकेका डा.पाण्डे र सपनाले दिएको त्यो सफलता

  २०८० पुष ४ गते १७:१८     इन्द्रसरा खड्का

काठमाडौं । चिटिक्कको सुट पाइन्टमाथि रातो टाई । हँसिलो मुहार । मुहारको मुस्कानले बताइरहेको थियो मिहिनेत । उमेरले ६० वर्ष । तर, कल्पना पनि गर्न सकिँदैन, ६० वर्षको उमेरसम्म पनि यतिसम्मको सक्रियता रहन्छ ? यही जिज्ञासामा हामीले सुरुमा डा. चक्रराज पाण्डेसमक्ष राख्यौं । उनले जवाफमा भने, जति काम गरियो, जति आफूलाई व्यस्त राख्न सक्यो, त्यति नै जवानी भइन्छ ।’

चिकित्सा क्षेत्रमा एउटा परिचित नाम हो डा. चक्रराज पाण्डे । ३२ वर्षको उमेरदेखि अहिले ६० वर्षसम्म आइपुग्दा पनि उनी आफ्नो क्षेत्रमा सक्रिय छन् । वरिष्ठ अर्थोपेडिक सर्जनकारूपमा उनले उपत्यकाका धेरै अस्पतालमा काम गरे । उनी अहिले काठमाडौँको लाजिम्पाटमा आफ्नै अनामिवा अस्पताल सञ्चालन गरिरहेका छन् ।

उनको दिन बिरामी हेर्दै, अप्रेसन गर्दै बित्छ । गएको साता उनकै अनामिवा अस्पताल गएर डाक्टरलाई भेट्दा उनी बिरामीको जाँच गरिरहेका थिए । एउटा डाक्टरको दैनिकी कसरी बित्छ ? हाम्रो जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘बिरामी हेर्दै, उपचार गर्दै,’ उनले थपे, ‘ मेरो त केही समय पढाइमा बित्छ ।’

पढाइको मतलब उनी कुनै कोर्षको तयारीमा छैनन् । आफूले उपचार गर्ने बिरामीको सफल उपचार कसरी गर्ने भन्नेमा उनी धेरैभन्दा धेरै मिहिनेत गर्छन् । उनी भन्छन्, ‘एउटा गुड डाक्टर तब बेष्ट ठानिन्छ, जब उ आफ्नो विशेषज्ञताबारे पोख्त हुन्छ ।’

डा. पाण्डे हरेक दिन बिहान सबेरै उठेर सबैभन्दा पहिले आफ्नो नित्यकर्म गर्छन । त्यसपछि आज गर्नुपर्ने काम के छ, आफ्नो दैनिकी रुटिन हेर्छन । त्यो दिन कस्तो बिरामीको अप्रेसन  गर्नुपर्छ, त्यसका लागि चाहिने औषधी, प्रविधि तथा उपकरण कस्तो छ र त्यसका लागि अक्सिजनको व्यवस्था छ या छैन भन्नेबारे हेर्छन् ।

त्यसपछि त्यो केशलाई सफल बनाउन कसरी काम गर्ने भनेर डाक्टर र नर्ससँग छलफल गर्छन् । आफ्नो टोलीसँगै गएर बिरामीको सल्यक्रिया गर्छन् । अस्पतालमा भर्ना भएका बिरामीहरूसँग भेटघाट गर्छन् । दिउँसोको खाना खाएर फेरि काममा लाग्छन् ।

अस्पतालमा अहिले दैनिक ६०/७० बिरामी आउँछन् । तीमध्ये अप्रेसन गर्नुपर्ने कमै हुन्छन् । उनले दिनभर गरेको कामको समीक्षा साँझ हुन्छ । फेरि भोलिको अप्रेसनका लागि कति जना छन्, त्यसको तयारीमा लाग्छन् । उनी आफ्नो मानसिक र शारिरीक अवस्थालाई कसरी सन्तुलन राख्ने भन्ने कुरामा ध्यान दिनुपर्ने बताउँछन् ।

उनी आफ्नो लागि पनि समय छुट्याँउछन् । घरमा श्रीमती छिन् । छोराछोरी विदेशमा पढ्छन् । ‘छोराछोरीसँग भीडीओमा कुरा गर्छु, धेरै समय म आफ्नो काममा बिताउँछु, मेरो मुख्य काम भनेको बिरामीको सेवा गर्ने र पढ्ने हो,’ उनले भने ।

उनी आफूलाई मान्छेसँग भेटघाट तथा कुराकानी गर्न मन पर्ने बताउँछन् । ‘हाउ इज दि डाक्टर्स थिंक,’ ‘मेडिकल कम्प्लिकेसन’ लगायतका किताबहरू उनी बढी पढ्छन् । अरूको अनुभवबाट पनि धेरै विषयहरू सिक्न सकिने उनी बताउँछन् ।

अध्ययन कति आवश्यक ?

एउटा डाक्टरका लागि अध्ययन कति आवश्यक छ होला ? जवाफमा उनले भने, ‘डाक्टरलाई मात्रै होइन, हरेक क्षेत्रको मान्छेलाई अध्ययन आवश्यक छ, सबैले पढ्नैपर्छ, सबै कुरा अनुभवबाट मात्रै सिकिँदैन, अध्ययनबाट धेरै कुरा सिकिन्छ ।’

उनी पढ्ने विषय अनुसन्धानसँग जोडिएकोले सोही अनुसन्धानका आधारमा बिरामीको उपचारको निर्णय हुने बताउँछन् । २७ वर्षअघि उनले अर्थाेपेडिक पढे । २७ वर्ष अगाडिको अर्थोपेडिक्सलाई मात्र आधार मान्ने हो भने राम्रो डाक्टर भइँदैन । हरेक दिनको अपडेटले अहिलेको अर्थोपेडिक्समा आफूलाई माथि राख्न सकिएको उनी बताउँछन् ।

‘म अब केही गर्दिनँ भनेर बस्नुहुन्छ भने त्यो दिन पढाइ छोड्नुपर्छ । तर, म यो काम गर्छु भनेको दिनसम्म पढ्नैपर्छ, पढाइ भन्दा अर्को विकल्प म देख्दिनँ,’ उनले भने ।

सपनाले दिएको त्यो सफलता

डाक्टर पाण्डे दिनमै १५ वटासम्म अप्रेसन गरेको उनीसँग अनुभव छ । अहिले पनि उनी दैनिक दुई÷तीन जनाको अप्रेसन गर्छन् । अप्रेसन आफैंमा एउटा गम्भीर र जटिल विषय हो । मान्छेको मासु काटेर पुनः सिलाउनु असामान्य काम हो । कुनै माया, ममता, डर र त्रासको प्रवाह नगरी अप्रेसन गर्ने डाक्टर आफैंमा महान हुन् ।

दिनभर अप्रेसन गर्ने डाक्टरले राति कस्तो सपना देख्छन् होला । यो जिज्ञासा हामीले डा. पाण्डेसँग राख्यौं । जवाफमा उनले भने, ‘मैले गाह्रो अप्रेसनहरू सपनामै सामाधान गरेको छु, कहिलेकाहीँ किताबमै नपाएको प्रश्नको उत्तर मैले सपनामा पाउने गरेको छु,’ उनी रोकिए ।

सपनामा अप्रेसन कसरी सम्भव भयो ? हाम्रो जिज्ञासामा थप उत्सुकता थपियो । उनले सुस्त गतिमा त्यो दिन स्मरण गर्दै भने, ‘म ग्राण्डी अस्पतालमा कार्यरत थिएँ, तीन खुट्टा भएको बच्चाको अप्रेसन गर्नुपर्ने थियो, बच्चाको तीन खुट्टामध्ये कुन खुट्टा निकाल्ने भन्ने अन्योलता मनमा रहिरह्यो, अन्योलताकाबीच सुतें,’ त्यो कहानी सुनाउँदै डा. पाण्डेले अगाडि बढ्दै भने, ‘राति यो खुट्टा निकाल्दा राम्रो हुन्छ, बच्चा स्वस्थ हुन्छ भन्ने सपना देखें, भोलि बिहान सपनाले निकाल भनेको खुट्टा निकालें, अप्रेसन सफल भयो ।’

त्यो अप्रेसन उनको जीवनको अविस्मरणीय पल बनेको छ । उनी थप्छन्, ‘जब कुनै विषय समाधान हुँदैन, तबसम्म दिमाखमा खेलिरहन्छ, मेरो दिमाखमा बिरामीको विषय बाहेक अन्यले खासै स्पेस पाउँदैन ।’

बिरामीप्रतिको व्यवहार

भनिन्छ नि, ‘मुस्कान एउटा औषधी हो ।’ कुनैपनि मान्छेसगँ हामी मुस्कुराएर बोल्दा हामीप्रति उसको धारणा सकारात्मक हुन जान्छ । अझ यो कुरा बिरामीको हकमा बढी लागू हुन्छ । एउटा बिरामीलाई नर्स अथवा डाक्टरले गर्ने व्यवहारले धेरै फरक पार्छ । हरेकसँग पृथक क्षमता हुन्छ । त्यो क्षमता डाक्टरले पनि देखाउनु पर्ने उनको भनाइ छ ।

‘म मेरो बिरामीलाई जाँच्दा मनबाट जाँच्छु, मेरो जीवनभरको मिहिनेत बिरामीका लागि हो, बिरामी बिनाको म केही पनि हैन,’ उनी भन्छन्, ‘एउटा डाक्टरले बिरामीलाई व्यापारका रुपमा मात्र हेर्नु हुँदैन, यसरी हेर्दा त्यहाँ समस्या हुन्छ ।’

डा. पाण्डेलाई बिरामीसँग भेटेर कुराकानी गर्दा धेरै खुसी लाग्छ । ‘उहाँहरूको दुःखलाई हटाएर सफल बनाउन सक्यो भने एक साता मलाई ‘रिल्याक्स फिल’ हुन्छ, यसले मलाई थप काम गर्ने हौसला दिन्छ, यही हौसलाको कारण पनि अहिलेसम्म काम गर्न सकेको छु,’ उनले भने ।

उनी डाक्टरको केन्द्रबिन्दु बिरामी भएको धारणा राख्छन् । ‘बिरामीले सिकाएर डाक्टरलाई डाक्टर बनाएको हो, उनीहरू बिना डाक्टर हुन गाह्रो छ, उनीहरूले आफ्नो शरीरमा अप्रेसन गर्न दिएर डाक्टरको सीप र क्षमता बढेको हो, बिरामीहरूले औषधी खाइदिएर डाक्टरले साइड इफेक्टहरू पत्ता लगाएको हो,’ उनी भन्छन्, ‘उनीहरूले दुई पैसा तिरेर आज डाक्टरले राम्रो लुगा लगाउन पाएको हो ।’

साढे दुई दशक काम गरेपछि आफ्नै अस्पताल

डाक्टर चक्रराज पाण्डेको घर सिन्धुपाल्चोकको जरायटार हो । उनी ६ वर्ष गाउँमै बसे । त्यसपछि उनलाई काकाले पढाउन काठमाडौं ल्याए । उनी कीर्तिपुरमा रहेको लेबोरेटरीमा पढे । पढाइ राम्रै थियो । पढाइ राम्रो भएकै कारण उनी छात्रवृतिमा पढ्न पाए । त्यही स्कुलबाट उनले २०३६ सालमा एसएलसी पास गरे ।

एसएलसीमा राम्रो अंक ल्याएर उनी बोर्ड छैटौं भए । त्यसपछि उनी अमृत साइन्स कलेजमा भर्ना भए । त्यहाँ पनि उत्कृष्ट अंक ल्याएर प्लसटु पास गरे । त्यो बेला पनि उनी छात्रवृतिमै पढे । त्यसपछि नेपाल सरकारको स्कलरसीपमा उनी टर्की गए । त्यहाँ उनले मेडिकल स्कुल गरे । ७ वर्ष मेडिकल स्कुल पाँच वर्ष हाडजोर्नीको विशेषज्ञता हासिले गरे । त्यसपछि उनले हाडजोर्नीमा अर्थोपेडिक्स ट्रमाटोलोजीमा विशेषज्ञता गरे । टर्कीमा पढिसकेपछि सन् १९९७ पछि उनी नेपाल फर्के ।

उनी नेपाल फर्किसकेपछि काठमाडौँ नर्सिङ अस्पतालमा काम गरे । त्यसपछि बिएण्ड बी अस्पतालमा काम गरे । ११ वर्ष मेडिकियर अस्पतालमा काम गरे । त्यसपछि उनलाई लाग्यो नेपालमा मल्टिपल डिपार्टमेन्टको जरूरी छ । बिरामीलाई तत्काल रेस्क्यू गर्न सक्ने संस्था आवश्यक परेको देखेपछि उनले ग्राण्डी अस्पतालको सुरूवात गरेको बताउँछन् ।

दुई वर्ष अगाडिमात्र पाण्डे ग्राण्डी अस्पतालबाट निस्केका हुन् । त्यसपछि उनले नर्भिक अस्पतालमा काम गरे । नर्भिकपछि उनी फ्रन्टलाईन अस्पतालमा गए । तर, अहिले उनी आफ्नै अस्पताल अनामीवा सञ्चालन गरिरहेका छन् ।

‘धेरै ठाउँको अनुभव लिइयो, जहाँ भएपनि नेपाललाई स्वास्थ्य क्षेत्रमा राम्रो गर्नुपर्छ भन्ने नै लाग्यो, करिब तीन दशक यही क्षेत्रमा बिताएँ, अब आफ्नै अस्पतालबाट सकेको सेवा दिन्छु,’ उनले भने ।

सकुञ्जेल काम गर्छु

डाक्टर पाण्डेको इच्छा सकुञ्जेल यही क्षेत्रमा काम गर्नेछ । उनलाई जुन दिन सबैभन्दा अप्ठ्यारो अप्रेसन सफल भयो, जुनदिन बिरामीलाई भेटेर सल्लाह दिन पायो, त्यही दिन धेरै खुसी मिल्ने बताउँछन् ।

यस्ता किसिमका खुसीले आफुलाई ६० वर्षमा पनि तन्नेरी देखाएको उनी मुसुक्क मुस्कुराएर बताउँछन् । ‘म मान्छे बुढो देखिन्छु होला । तर, मेरो जोश जाँगर र काम गर्ने रूचि आज पनि त्यही २८ वर्षअघिको जस्तो छ, उनी थप्छन्, ‘अब बाँकी जीवनलाई कसरी गुणस्तरीयमा कन्भर्ट गर्ने, कसरी मानिसलाई प्रभावित बनाउन सक्छु भन्नेतर्फ नै रहन्छ ।’

उमेर ६० भयो भन्दैमा पाण्डे आँतिएका छैनन् । उमेर बढेसँगै अनुभवी भएको र थप मिहिनेत गर्नु पर्ने जोश आएको उनी बताउँछन् ।

‘कतिपयले डाक्टर कति काम गरेको, आराम गर्नु पर्दैन भनेर प्रश्न गर्छन्, के गर्नु मेरो जीन नै यस्तै छ त्यत्तिकै बस्न मान्दैन भनेर जवाफ फर्काउन्छु,’ उनले आफ्नो अनुभव सुनाउँदै भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.