कक्षा ८ का विद्यार्थीले पनि नयाँ सिम पाउने, टेलिकमले थप्यो निःशुल्क सुविधा

  २०८० मंसिर २८ गते १५:५१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ ।

टेलिकमका अनुसार हाल ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ ।

यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने छ। पहिले जस्तै यसमा १० रुपैयाँ ब्यालेन्स समेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यस्तै कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा ९० रुपैयाँमा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ ।

नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि १० रुपैयाँ ब्यालेन्स हुने टेलिकमले जनाएको छ ।

यस्तै विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब १०० रुपैयाँको रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ ।

यस अनुसार एमपोसमार्फत १०० रुपैयाँ देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

त्यसैगरी फिजिकल रिचार्जमार्फत १०० रुपैयाँको रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० तथा १००० रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

टेलिकमका अनुसार यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.