‘भिजन’ नभएकाले ट्राभल एजेन्सी चलाइरहेका छन् : टुरिस्ट गाइड बरालको अन्तर्वार्ता

  २०८० मंसिर १९ गते १३:२२     विकासन्युज

करिब पाँच दशकअघि पर्यटन क्षेत्र प्रवेश गरेका हुन् हरेराम बराल । सन् १९७८ मा पर्यटन क्षेत्र छिरेका बरालले १९८० मा यती ट्राभल्समा जागिर सुरु गरे । उनले त्यहाँ १४ वर्ष जागिरे जीवन बिताए । सुरुमा यती ट्राभल्समा आबद्ध हुँदा उनले एयरपोर्टमा छुटेका गेस्ट (विदेशी पर्यटक) लाई रिसिभ गर्ने र उनीहरूलाई उनीहरूले भनेको गन्तव्यसम्म पुर्याइदिने काम गरे । ६ महिनापछि उनले टुर अफिसर भएर २÷३ वर्ष काम पनि गरे । त्यो बेला यती ट्राभल्समा ४० देखि ५० जना टुर गाइड थिए । उनीहरूसँग अन्तक्र्रिया गर्ने क्रममा उनलाई टुरिस्ट गाइड गर्ने काममा इच्छा जाग्यो । त्यहीँ उनले इटालियन भाषा सिके । त्यो बेला इटालियन भाषा बोल्ने एकदमै कम थिए । उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा तीन महिनाको तालिम लिए । उनले टुर गाइडको लाइसेन्स त्यहीँबाट लिए । त्यसपछि उनले यती ट्राभल्सबाट नै टुरिस्ट गाइड गर्न थाले ।

त्यहाँ १४ वर्ष बिताए । त्यसपछि भारतको ठूलो टुर अपरेटर एजेन्सीले नेपालमा सीता ट्राभल एजेन्सी खोलेको थियो । त्यसमा उनलाई कामका लागि प्रस्ताव आयो र उनले त्यहाँ पनि करिब २५ वर्ष काम गरे । पञ्चायत व्यवस्था ढल्ने बेलामा टुरिस्ट गाइडहरूलाई एकै छातामुनि ल्याउन टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) स्थापना भयो । त्यतिबेला उनी संस्थापक सदस्य थिए । त्यसपछि उनी कार्यसमिति सदस्य भए । बिस्तारै तृतीय, द्वितीय र प्रथम उपाध्यक्ष हुँदै उनी दुई कार्यकाल टुर्गान अध्यक्ष भए । ६ वर्ष अध्यक्ष र दसौं वर्ष उपाध्यक्ष भए उनी । ७३ वर्षका बरालले टुरिस्ट गाइडिङको काम छाडेको आठ वर्षजति भयो । नेपालमा टुरिस्ट गाइडको अवस्था, चुनौती, प्रतिस्पर्धा, सरकारले हेर्ने दृष्टिकोणलगायत विषयमा केन्द्रित रहेर बरालसँग विकासन्युजकर्मी ऋतुले कुराकानी गरेकी छन् ।

नेपालमा टुरिस्ट गाइड (पर्यटक पथप्रदर्शक) को वर्तमान अवस्था कस्तो छ ?

पहिला ट्राभल एजेन्सी चलाउने व्यक्तिको एउटा भिजन थियो । आफ्ना गाइडहरूलाई ड्रेस दिन्थे । हरेक कुरामा अप टु डेट हुन्थे । त्यस एजेन्सीमा काम गर्ने फ्रिलान्स गाइडले आफ्नो क्षमता प्रर्दशन गरेपछि राम्रो लाग्यो भने त्यही एजेन्सीमा नै काम पाउँथे । अहिलेको समयमा त्यस्तो भिजन पनि छैन । पहिला सबै गाइडहरू एकै ठाउँमा भेला भएर अन्तक्र्रिया गर्थे । अहिलेको गाइडिङ हेर्ने हो भने गाइडहरूको आउटलुक त्यति राम्रो छैन । यदि बसन्तपुरमा कुनै गाइडले टुरिस्ट घुमाइरहेको छ भने ऊ ड्रेसअपमा पनि राम्रो देखिँदैन । उसँग पर्याप्त ज्ञानको पनि अभाव देखिन्छ । भाषामा पनि त्यति परिमार्जन भएको देखिँदैन ।

अहिलेको अवस्थामा ज्ञानको अभाव सबैभन्दा बढी देखिएको छ । अध्ययन पनि गर्दैनन् । हामीले काम गर्ने समय रातभरि अध्ययन गथ्र्यौं टुरिस्ट घुमाउनका लागि । हामीले क्वालिटी टुरिज्मको कुरा गर्छौं । तर, हाम्रो प्रडक्ट नै क्वालिटी भइदिएन । हामी क्वान्टिटीमा गयौं । पहिले एउटा ट्राभल एजेन्सीको लाइसेन्स लिँदा दुईजना टुर गाइडको सिफारिस लिनुपथ्र्यो । एउटा करेस्पोन्डेन्ट र अर्को पूर्वकरेस्पोन्डेट र टिकेटिङको मान्छे गरी चारजनाको सर्टिफिकेट देखाएपछि मात्रै त्यो बेलाको पर्यटन विभाग तथा पर्यटन मन्त्रालयले ट्राभल एजेन्सी खोल्न दिन्थ्यो । अहिले जसले पनि ट्राभल एजेन्सी खोलेका छन् । उनीहरूले ल्याएका पर्यटकलाई जुन किसिमको सर्भिस दिनुपर्ने हो त्यो दिन सकेका छैनन् । यो भनेको देशका लागि दुर्भाग्य हो अहिलेको अवस्थामा ।

कोरोना महामारीबाट पर्यटन आगमन ह्वात्तै घट्न पुग्यो, पर्यटकलाई ठाउँ, सम्पदा, हिमाल, पहाड, तराई देखाउँदै हिँड्ने टुरिस्ट गाइडको रोजीरोटीमा यसले कत्तिको प्रभाव पारेको थियो ?

कोरोना महामारीका कारण तीन वर्ष टुर गाइडमात्रै होइन ट्राभल एजेन्सी, होटललगायत सबै क्षेत्रमा प्रभाव पार्यो । एक शब्दमा भन्नुपर्दा देशकै अर्थतन्त्रमा ठूलो असर पर्यो । कति मान्छेको भोक टार्ने अवस्था पनि थिएन । तर, अहिलेको अवस्थामा त्यो सुधार हुँदै आएको छ । अहिलेको तथ्यांकले देशमा ९ लाख पर्यटक देश भित्रिएको देखाएको छ । वास्तविक पर्यटक को हुन् त ? यहाँ प्रश्न छ । एनआरएनए पनि नेपाल आएका छन्, उनीहरूलाई पर्यटक मान्ने कि नमान्ने ? जहाजबाट आएका सबैलाई पर्यटकमा गन्ने हो भने त्यसमा नेपाली पनि छन्, भारतीय र अन्य मुलुकका पनि होलान् । त्थ्यपरक पर्यटक को हो भन्दा जसले अर्को देशमा गएर दुईचार पैसा खर्च गर्न सक्छन्, त्यो खर्च गरेर आर्थिकरूपमा इम्पावर गर्न सक्छन् तिनीहरूलाई नै पर्यटक भन्ने हो ।

अहिलेको अवस्थामा होटलको संख्या पनि बढ्दै गइरहेको छ । हिजोका दिनमा १ लाखमात्रै पर्यटक आउँदा पनि राम्रो पैसा तिर्थे, अहिले दसौं लाख पर्यटक आउँदा पनि हामीले राम्रो आम्दानी गन सकेका छैनौं । पाँचवटा होटलका ठाउँमा १० होटल खोलेपछि प्राइस त घट्छ नै । यसले हाम्रो देशको आम्दानीलाई पनि असर गरेको छ ।

नेपालमा टुरिस्ट गाइड कति संख्यामा छन् ? लाइसेन्स लिएर गाइड गर्ने कति छन् ? लाइसेन्सवाहक गाइडलाई लाइसेन्स नभएका गाइडका कारण समस्या परेको छ कि छैन ?

नाथमको तथ्यांकअनुसार ३ हजारदेखि ३५ सय टुर गाइड छन् । टुर्गानसँग आबद्ध १ हजार टुर गाइड छन् । टुर्गानमा आबद्धमध्ये ६ देखि ७ सय जना सत्रिय छन् । नाथमको तथ्यांकअनुसार उसले उत्पादन गरेका विद्यार्थीले लाइसेन्स पाएका छन् । लाइसेन्स नभएकाले पनि टुरिस्ट गाइड गर्दा असर त परेको नै छ । यस्तो इलिगल गाइडिङलाई रोक्नुपर्छ । अस्ति समाचार आएको थियो कि नेपाल मेडिकल काउन्सिलमा २ सय डाक्टरले एमबिबिएसको परीक्षा दिएकोमा ५१ प्रतिशतमात्रै पास भएका थिए । हाम्रो टुर्गानलाई पनि त्यही अवस्थामा पुर्याउनुपर्ने देखिन्छ । तर, त्यो कतैबाट पनि पहल भएको छैन ।

अहिले टुर्गानका अध्यक्ष बद्री नेपालले पनि राम्रो बनाउनका लागि पहल गरिरहनुभएको छ । हाम्रो भनाइ के हो भने टुर्गानमा लिगल हुन् वा इलिगल हुन् तिनलाई छुट्ट्याउनुपर्छ । अर्को कुरा, ट्राभल एजेन्सी तथा ट्रेकिङ एजेन्सीका सञ्चालक हुनुहुन्छ, उहाँहरूले आफ्नो अफिस स्टाफलाई टुरिस्ट गाइडका लागि पठाउनुहुन्छ, त्यो अवैधानिक हो । उहाँहरूले गाइड नै राखेर पठाउनुपर्छ । यस्ता एजेन्सीले सरकारको नियम पालना गरेका छैनन् । यो कुरामा नियामक निकायले स्ट्रिक्ट एक्सन लिनुपर्छ । पर्यटन मन्त्रालय, पर्यटन विभाग कानमा तेल हालेर बसेका छन् । हामीले क्वालिटी टुरिज्मलाई प्रमोट गर्नका लागि नियामक निकाय एकदमै भिजिबल र अलर्ट भएर बस्नुपर्छ ।

अब पर्यटन उद्योगले बिस्तारै गति लिन थालेको छ । कोरोना महामारीबाट विस्थापित भएका टुरिस्ट गाइडहरू अब पुरानै पेसामा आउन सक्ने अवस्था छ त ?

यो देशको अथोरिटीमा बस्नेले राजनीतिमात्रै धेरै गरे । देशप्रति उनीहरूले गर्नुपर्ने कर्तव्य निर्वाह गरेका छैनन् । अहिले हाम्रा धेरै गाइडहरू विदेशमा विस्थापित भइसकेका छन् । तीन वर्ष कोरोनाको असर पर्यो । मान्छेल काम नभएपछि विदेश अप्लाइ गरे । अहिलेको तथ्यांकअनुसार ७० लाख नेपाली विदेशमा छन् । अनुभव र ज्ञान भएका मान्छे सबै विदेश पलायन भइसके । कतिपय पुरानै गाइडहरू फर्केका पनि छन् । कतिपय नयाँ आउने क्रम पनि जारी छ ।

तपाईंले लगभग सारा जीवन यही पेसामा बिताउनुभयो । तपाईंले पेसा सुरु गर्दाको अवस्था र अहिलेको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

मैले सन् १९८० मा टुर गाइड भएर काम गरेको हुँ । त्यतिबेला सबै कुरा व्यवस्थित थियो । त्यतिबेला पपुलेसन प्रेसर थिएन । हामीले ठूलो बसमा टुरिस्ट लगेर बसन्तपुरमै रोक्थ्यौं । आनन्दले घुमाएर फर्किन्थ्यौं । अहिले जनसंख्या वृद्धिले, ट्राफिक व्यवस्थापनले गर्दा सहज परिस्थिति छैन । पहिला हामीले हाफ डे गर्दा पनि सारा काठमाडौं घुमाउन भ्याउँथ्यौं । अहिले हामीले हाफ डे गरेर उनीहरूलाई होटलमा खाना खुवाउने व्यवस्था गर्न सक्दैनौं ।

अहिले ट्राभल तथा ट्रेकिङ एजेन्सीहरूले फुल डे टुर राखिदिन्छन् । बाटोमा सानातिना क्वालिटीका रेस्टुरेन्ट छन् । पर्यटकले त्यहीँ नै खाजा, खाना खान्छन् । यो एउटा परिवर्तन आएको छ । मैले देखेको एउटा परिवर्तन हाम्रो पालामा जुन एउटा मौलिकता थियो, घर तथा भवनका स्ट्रक्चर थिए, ती परिवर्तन भएका छन् । अहिले बसन्तपुर तथा पाटन क्षेत्रमा नयाँ स्ट्रक्चर देख्न सकिन्छ । पुराना स्ट्रक्चर सबै परिवर्तन भएका छन् ।

नेपालमा आम्दानीका हिसाबले टुरिस्ट गाइड बनेर जीवन धान्न कत्तिको सहज छ ? र, यो पेसामा नयाँ आउन चाहनेलाई के सुझाव दिनुहुन्छ ?

भाषाको राम्रो ज्ञान भएको, टुरिस्टलाई टुरिस्टको नजरले नहेरेर पाहुना हो भनेर त्यस किसिमको व्यवहार गर्ने हो भने यस क्षेत्रमा गाइडले आनन्दले गुजारा गर्न सक्छन् । आम्दानीको हिसाबले भन्नुपर्दा सबै गाइडले अहिले अंग्रेजी बोल्छन् । अंग्रेजीमा साइट सिइङ गरेका गाइडको पारिश्रमिक थोरै छ । कसैले अंग्रेजी बोलिरहेको छ भने १५-२० प्रतिशत उसको दैनिक पारिश्रमिक छ । पूरा एक दिन २५ जना टुरिस्टलाई हामीले साइट सिइङ गरायौं भने उसको दैनिक पारिश्रमिक ५ हजार रुपैयाँभन्दा बढी हुन्छ । १० दिन राम्रो काम पाइयो भने ५० हजार कमाउन सकिन्छ । यो पनि सिजनल हुन्छ । ३ सय ६५ दिन नै गाइड इन्गेज्ड हुँदैनन् ।

डेढ सय दिनमा उनीहरूले पाएको पारिश्रमिकले नै घर चलाउने हो । त्यो पारिश्रमिकले खर्च धान्न खासै मुस्किल देखिँदैन । जसले खटेर गर्न सक्छन् उनीहरू स्थापित भएका छन् । अब केहीले सर्भाइभ पनि गरिरहेका छन् । यदि कोही नयाँ मान्छे यस क्षेत्रमा आउन चाहन्छन् भने एकदमै अध्ययन गरेरमात्रै आउन मेरो सुझाव छ । अनि, भाषामा पनि दक्खल हुनुपर्छ । हामीले बोलेको भाषा पर्यटकले पनि बुझ्ने हुनुपर्छ । हाम्रो पालामा भाषा सच्याउने मौका पनि हुँदैनथ्यो । अहिले धेरै विकल्प पनि छन् । त्यो विकल्पको सदुपयोग गर्नुपर्यो । हामीले हाम्रा धर्म, संस्कृति, भाषा, भेषभूषा, इतिहास सबैलाई राम्ररी बुझाउन सक्नुपर्छ । यी सबै कुराबारे बुझाउँदा हामीले हाम्रोमा यस्तो अभ्यास चलिरहेको छ भनेर बुझाउनुपर्छ ।

यो पेसामा दशकौं काम गरेको अनुभवका आधारमा भन्नुपर्दा टुरिस्ट गाइड र टुरिस्टले गर्ने व्यवहार कस्तो पाउनुभएको छ ?

टुर गाइडको काम भनेको उसले रिसिभ गरेको गेस्टलाई यो कुनै कम्पनीको टुरिस्ट हो अथवा अमेरिकाको या त बेलायतको मान्छे हो भनेर सोच्नु भएन । उसलाई यो मेरो गेस्ट हो भनेर सोच्नुपर्छ । हामीले जस्तो व्यवहार गर्छाैं, उसले पनि त्यस्तै व्यवहार गर्छ भनेर सोच्न जरूरी छ । यो हामी आफैंमा भर पर्ने कुरा हो ।

टुरिस्ट गाइडलाई अधिकांश ट्राभल एजेन्सीहरूले तोकिएको पारिश्रमिक दिँदैनन्, समयमा पैसा दिँदैनन् भन्ने गुनासो पनि बेलाबेला सुनिन्छ ? यसबारे के भन्नुहुन्छ ?

नयाँ ट्राभल एजेन्सी खोल्ने क्रम रोकिएको छैन । उनीहरूको वर्षमा एक÷दुई जना मात्रै टुरिस्ट आउँछन् । उसले हतारमा गाइड हायर गर्छ र पारिश्रमिक दिँदैन । त्यो गाइडको समस्या हो भन्छु म । गाइडले पनि कम्पनीबारे बुझ्नुपर्छ, एडभान्स लिनुपर्छ । काम प्रोफेसनल तरिकाले गर्नुपर्यो नि ।

टुरिस्ट गाइडको लाइसेन्स लिएकालाई सरकारले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने विषय एकपटक बहसमा थियो । अहिले यो विषय कता पुग्यो ?

ऋण केका लागि ? प्रश्न त्यो छ । हरेक कामका लागि अहिले ऋण दिने संस्था छन् । यो ऋण कुन बेलाको आवश्यकता थियो भने जतिबेला नेपालमा टुरिस्ट अभाव थियो । त्यो बेला सरकारले ऋण दिएको भए हुन्थ्यो । त्यसरी सहुलियत दिँदा हाम्रा टुर गाइड साथी जो कम काम गर्नुहुन्छ उहाँसँग आजीवन गाइडिङ गर्ने कागज बनाएर दिन सकिन्थ्यो । अहिले त्यो ऋण आवश्यक छैन ।

जति धेरै पर्यटक आए, त्यति नै यो पेसामा रोजगारी र आम्दानी बढ्छ । तर, पर्यटक संख्या बढाउन सरकार, नेपाल पर्यटन बोर्डलगायतले गरेका कामबाट सन्तुष्ट हुने ठाउँ छ ?

पर्यटन बोर्डको उद्देश्य के थियो भने विदेश गएर नेपालको पर्यटनलाई प्रचारप्रसार गर्ने । कोही जापानी भाषामा पोख्त छन् भने उनीहरू जापान गएर प्रचारप्रसार गर्ने र त्यहाँका पर्यटक नेपाल ल्याउने गर्थे । त्यस्तै, अन्य देशका भाषा जानेकाले पनि त्यसै गर्थे । पर्यटन बोर्डले पनि त्यो काम गरेको हो । अहिले पनि आफूले सकेको काम गरिरहेकै छ । अहिले के छ भने पर्यटन बोर्डले कुनै व्यक्तिलाई फेबर गरेन भने संस्थाको आलोचना गर्ने, विरोध गर्ने काम भइरहेको छ । जसको संस्थाबाट स्वार्थपूर्ति भएन, उनीहरूले विरोध गर्ने हुन् । पर्यटन बोर्ड, मन्त्रालयले आफ्नो ठाउँमा आफ्नो काम राम्रो गरिरहेको छ । त्यसैले मैले पर्यटन बोर्डले राम्रो काम गरेको छैन भन्दिनँ ।

सरकारले के गरिदियो भने टुरिस्ट गाइडले यसैलाई प्रमुख पेसा बनाएर बाँच्न सक्लान् ?

सरकारले त केही गर्दैन । सरकारको नेतृत्वमा बसेकाले देश विकासबारे सोच्दैनन् । उनीहरूले खाली आफ्ना आफन्त र कार्यकर्ताका लागि मात्रै सोच्छन् । अब साँच्चै पर्यटन क्षेत्र राम्रो बनाउन, धेरै संख्यामा पर्यटक भित्र्याउन त पूर्वाधार विकास हुन जरुरी छ । सरकारको ध्यान त्यतातिर हुनुपर्यो । राम्रा पर्यटकीय गन्तव्य पहिचान गरेर त्यहाँ सहज बाटोघाटो बनाउनुपर्यो । बिजुली, पानीको व्यवस्था गर्नुपर्यो । बाटो बिजुली भयो भने ठाउँठाउँमा हाम्रा सानातिना लजहरू छन् । तिनीहरूले पनि पर्यटकलाई राम्रा सुविधा प्रदान गर्न सक्छन् ।

अन्त्यमा, पूर्वअध्यक्ष भएका नातामा टुर्गानले आफ्ना सदस्यको हकहितका लागि गरेका कामबाट तपाईं आफू कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

टुर गाइडले जति सहयोग टुर्गानलाई गर्नुपर्ने हो, त्यति गरेका छैनन् । टुर्गानले गर्न खोज्दाखोज्दै त्यसका सदस्य संस्थाप्रति लोयल छैनन् । त्यहाँका अथोरिटीले धेरै गरेका हुन् । मभन्दा अघि विष्णु ज्ञवाली अध्यक्ष हुनुहुन्थ्यो । उहाँले टुर्गानलाई सस्टेन गर्नुभयो । मैले संस्थालाई पपुलराइज गरेँ । अहिले बद्री नेपाल पनि राम्रो काम गर्न लागिराख्नुभएको छ । संस्थाले राम्रो गर्न खोजे पनि टुर गाइडहरू एकदमै स्वार्थी छन्, जो आफ्नाबारेमा मात्रै सोच्छन्, संस्थाका बारेमा सोच्दैनन् । पछिल्लो समय टुर्गान र टुरिस्ट प्रहरीको सहकार्यमा लाइसेन्स नभएका गाइडहरूलाई चेकिङ गरिरहेको छ । संस्थाले कसरी राम्रो गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.