नेपालमा के चुनौती देखेर बाहिरिन खोज्यो एनसेल ? यस्तो भन्छन् पूर्व अर्थसचिव

  २०८० मंसिर १३ गते १५:३६     विकासन्युज

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुख्य कम्पनी आजियाटा एनसेललाई बेचेर बाहिरिन खोजेको छ । विज्ञप्ति जारी गर्दै आजियाटाले एनसेललाई बिक्री गरेर बाहिरिने घोषणा गरेको हाे । एनसेलबाट बाहिरिनु पर्ने केही कारणहरू देखाउँदै आजियाटाले बाहिरिने घोषणा गरेको हो ।

एनसेलले करको मार र ब्याजपछिको नाफामा गिरावट आएको भन्दै बाहिरिने निर्णय गरेको उल्लेख गरेको छ । एनसेलले बिक्रीका लागि गरिएको सम्पत्तिको पुनःवर्गीकरण भएको जनाएको छ । कम्पनीले नाफामा गिरावट आउनुको कारण भनेको ह्रासकट्टी, वित्तीय लागत, औसत ब्याजदरमा भएको वृद्धि लगायतका विषयलाई बाहिरिनुको कारण देखाएको छ ।

एनसेल बिक्रीको लागि सम्पत्तिको पुर्नमूल्यांकन गर्नुपूर्व यसको ऋण बढेको जनाइएको छ । साथै, आजियाटाले घरेलु सस्क्राइबरहरू बढेको, डाटा तथा डिजिटल सर्भिसबाट आम्दानी बढेको र बद्लिँदो परिवेशमा कतिपय चुनौती थपिँदै गएको बताएकाे छ ।

गैर-व्यावसायिक ‘चुनौती’ शब्दको प्रयोग

विज्ञप्तिमा आजियाटाका अध्यक्ष तान श्री शहरिल रिड्जा रिडजुआन र आजियाटाका प्रबन्ध निर्देशक विवेक सूदले आफ्नो प्रतिक्रिया पनि दिएका छन् ।

प्रबन्धक निर्देशक सुदले ‘नेपालमा चुनौती थपिँदै गएकोले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको र सोहीअनुसार एनसेललाई बिक्रीमा राखिएको’ बताएका छन् । सो निर्णयले एजियाटाको प्राथमिकतापूर्ण रणनीति र सेयरहोल्डरहरूलाई दीर्घकालीन हितमा सहयोग पुर्याउने सुदले जनाएका छन् ।

नेपालमा चुनौती रहेको भनेपनि उनले नेपालमा एनसेलले व्यावसायिक बाहेक अन्य कस्तो चुनौतीको सामना गर्यो भन्ने विषयमा भने उल्लेख गरेका छैनन् ।

यो वर्षमा वृहत आर्थिक चुनौतीहरुको बाबजुद आजियाटाको अर्थपूर्ण यात्रा निरन्तर रहेको आजियाटाका अध्यक्ष तान श्री शहरिल रिड्जा रिड्जुआनले प्रतिक्रिया दिएका छन् । आफ्नो रणनीति अनुकुलन काम गर्न, पोर्टफोलियो सुधार गर्न र कम्पनीको सफलताको लागि सही व्यवसायिक साझेदारीमा अगाडि बढ्ने उनले विज्ञप्ति मार्फत् जानकारी गराएका छन् ।

पूर्व अर्थसचिव भन्छन् : प्रयोग गरिएको भाषा असामान्य छ

पूर्वअर्थसचिव रामेश्वर खनालले आजियाटाले प्रेस विज्ञप्तिमा प्रयोग गरेको भाषा सामान्य नभएको बताएका छन् । ‘सामान्य व्यावसायिक हिसाबले एउटा कम्पनीले अर्को कम्पनीलाई आफ्नो सम्पत्ति बेच्न खोज्नु चाहिँ सामान्य प्रकृयामा चिन्ता मान्न पर्दैनथ्यो, संसारभर एउटा कम्पनीले अर्को कम्पनी किन्छन्’, उनले भने, ‘तर, विज्ञप्तिमा मलेसियाको आजियाटाको प्रमुखले नेपालमा काम गर्न सहज नभएको भन्ने जुन शब्द प्रयोग गरेका छन्, त्यसले भने केही गम्भिर संकेत गर्छ,’ उनले भने ।

पूर्वसचिव खनालले यदि विज्ञप्तिमा भनिएको विषय सत्य भएको भए सरकारले आगामी दिनमा गर्न खोजेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन नगरे पनि हुने प्रतिक्रिया दिए । ‘यदि त्यो सत्य हो, उहाँहरूलाई काम गर्न अप्ठ्यारो भएको कारणले नेपालबाट बाहिरिन खोजेको हो भने त्यसले लगानी सम्मेलनलाई एकदम अप्ठ्यारो पार्छ, सरकारले लगानी सम्मेलन नगरे पनि हुन्छ’, खनालले भने ।

फाइभ जी परिक्षण गर्न दूरसञ्चारबाट अनुमति नपाएको, कर विभागसँग केही असहमति भएको हुनसक्ने र महालेखा परीक्षकको कार्यालयले पनि केही बेरुजु औंल्याएक लगायतका विषयहरू एनसेलसँग जोडिएको देखिएको भन्दै खनालले सरकारको तर्फबाट छलफल र समन्वय गर्न आवश्यक भएको बताएका छन् ।

पूर्व अर्थसचिव भएर समेत काम गरिसकेका खनाल एनसेलले नेपालमा गर्दै आएको व्यवसाय र कम्पनीको रणनीतिका विषयमा जानकार छन् । एनसेलले सरकारलाई अर्बौं कर नतिरेको विषय पनि बेला बखत चर्चामा आउने गरेको छ । एनसेलले सरकारलाई अर्बौं कर तिर्न बाँकी रहेको सरकारी अधिकारीहरू बताउँछन् ।

अब कसले किन्दैछ एनसेल ? 

एनसेलले नेपालबाट बाहिरिने घोषणा गरेसँगै अब एनसेलको स्वामित्व कसले ग्रहण गर्छ भन्ने विषयले पनि चर्चा पाएको छ ।

अहिले पनि ठूला व्यवसायिक घरानाहरूले दूरसञ्चार सेवाका लागि अनुमति माग गर्ने लविङ गरिरहे पनि त्यसमा सफलता हात पार्न सकिरहेका छन् । त्यसको एउटा उदाहरण हो सीजी ग्रुप । सीजी ग्रुपले सीजी टेलिकममार्फत् सरकारसँग दुरसञ्चार सेवाको अनुमति माग गरेपनि कम्पनीका मालिक विनोद चौधरीले सफलता पाउन सकेका छैनन् ।

अब उनै चौधरीले एनसेलको स्वामित्व खरिद गर्ने अड्कलबाजी पनि धेरैले गर्न थालेका छन् ।

हाल एनसेलसँगै सेयर साझेदारका रूपमा सुनिभेरा क्यापिटल भेन्चरले काम गरिरहेको छ । कम्पनीमा आजियाटाको ८० प्रतिशत स्वामित्व छ भने सुनिभेरा क्यापिटल भेन्चरको २० प्रतिशत सेयर स्वामित्व छ । धेरैले अब आजियाटाको ८० प्रतिशत सेयर सुनिभेराले नै खरिद गर्न सक्ने अनुमान गरेका छन् । तर, कम्पनीले आफ्नो औपचारिक धारणा भने अहिलेसम्म राखेको छैन ।

सन् २०२२/२३ मा एनसेलको व्यापार ३७ अर्ब ४४ करोड रूपैयाँमा भएको छ। कम्पनीले २०२१/२२ मा ३९ अर्ब ७२ करोड, २०२०/२१ मा ४० अर्ब ४२ करोड र २०१९/२० मा ४६  अर्ब ८७ लाख रूपैयाँको कारोबार गरेको थियो। प्रत्येक वर्ष एनसेलको बिजनेस खस्किँदै गएको तथ्यांकले पनि देखाउँछ । २०२३ को तेस्रो त्रैमासिकमा एनसेलको आम्दानीमा ८ प्रतिशत गिरावट आउँदा कम्पनीको वार्षिक आम्दानी  ६.४५ ले घटेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.