बुद्धनगरबाट ‘रेल’ पुग्यो इमाडोल !

  २०८० मंसिर १३ गते ११:००     ऋतु

काठमाडौं । युएन पार्क वारि बुद्धनगर प्रवेश गरेको रेलले झन्डै दुई वर्षको यात्रा तय गरिसकेको छ । यसबीच ‘रेल स्टेसन’ आँगन अगाडिको बागमती र दायाँतिरको धोबी खोलामा धेरै पानी बगिसकेको छ । बुद्धनगरमै स्थापना भएको रेल अहिले कुदेर ललितपुर इमाडोल पुगेको छ, जहाँ अर्को स्टेसन खुलिसकेको छ ।

यो त्यस्तो रेल होइन, जुन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मेची-महाकाली गुटुङटुङ कुदाउने खालको चुच्चे रेल भनेजस्तो । बुद्धनगरको यो रेल चुच्चे त चुच्चे नै छ, तर यो यहाँबाट कुदेर जाँदैन, यहीँ बसिरहन्छ र पाहुनालाई डिब्बाभित्र आरामसँग बसाएर विभिन्न पेय र मिठा परिकारमात्र खुवाउँछ ।

हो, यसको नाम हो– रेल स्टेसन क्याफे । र, यो रेलका सञ्चालक हुन् सुदन बञ्जाडे, केशव पौडेल र जनक क्षेत्री । पश्चिम अर्घाखाँचीको बालसखाहरू १६ वर्षअघि एकै साल एसएलसी दिएपछि सिधै संघीय राजधानी काठमाडौं हुइँकिए । तर, रेलमा होइन, बस चढेर ।

०००

उनीहरू तीनैजना बाल्यकालदेखि नै एकदमै मिल्ने साथी हुन् । एसएलसीसम्मको पढाइ अर्घाखाँचीकै विद्यालयबाट पूरा गरे । त्यहाँबाट काठमाडौं आउँदा पनि उनीहरू सँगै आए । फरक–फरक स्वभाव र व्यवहार भएका यी तीनैजना साथी यहाँसम्म आइपुगेर सँगै व्यवसाय गर्नुलाई ठूलो उपलब्धि मान्छन् । विभिन्न निजी कम्पनीमा केही वर्ष काम गरेर अनुभव बटुलेपछि उनीहरूलाई ‘अब अर्काको जागिर होइन, आफ्नै व्यवसाय गर्नुपर्छ’ भन्ने आभाष मिल्यो । र, छलफल अनि बहस गर्दै जाँदा नयाँ आइडिया निकाले– रेल स्टेसन रेस्टुरेन्ट खोल्ने ।

राजधानी र सँगैको ललितपुरको सीमा नदी बागमती करिडोरमा कुनै व्यवसाय सञ्चालनका लागि ठाउँ पाउन मुस्किल नै हुन्छ । त्यहाँ उपयुक्त ठाउँ पाउन तीन सखाले राम्रै संघर्ष गर्नुपर्यो । त्यसपछि बल्ल उनीहरूले त्यहाँ क्याफे खोल्ने सौभाग्य पाए ।

२०७८ साल ।

कोरोना महामारीको दोस्रो ‘लकडाउन’ हुँदा देशको अर्थतन्त्र लगभग ‘ध्वस्त’ भइसकेको थियो । तर, ‘जहाँ इच्छा त्यहाँ उपाय’ र ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने लोकोक्ति आत्मसाथ गर्दै तीन साथीभाइले एकसाथ निर्णय गरे– रेल स्टेसन खोल्ने ।

उनीहरू तीनैजना फरक-फरक निजी कम्पनीमा जागिरे थिए । त्यसरी जागिर गरिरहँदा उनीहरूलाई आफ्नै केही व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने चाहिँ मनमा लागिरहन्थ्यो । सुदन जगदम्बा ग्रुप, केशव गोल्छा ग्रुप र जनक सिजी ग्रुपमा काम गरिरहेका थिए । त्यसपछि एकै ठाउँ भेला भएर व्यवसाय गर्ने योजना बुन्न थाले ।

‘लकडाउन हुँदा मान्छेहरू घरभित्रै बस्दा–बस्दा एकदमै तनावग्रस्त भइसकेका थिए,’ विकासन्युजसँग जनक भन्छन्, ‘तिनै मान्छेहरूलाई लक्ष्यित गरी फरक खालको स्वाद र स्पेस दिन भनेर हामीले रेलको डिजाइन ग¥यौं ।’

०००

प्राइभेट सेक्टरका जब होल्डर भएका कारण उनीहरूलाई त्यो जागिर खासै सुरक्षित लागेन । प्राइभेट जबबाट जुनसुकै बेला बाहिर निस्किनुपर्ने अवस्था आउने भएकाले उनीहरूलाई आफ्नै व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक थियो । कोरोना काल भएकाले ड्युटी पूरा समय गरे पनि तलब भने आधामात्रै आइरहेको थियो । अब विदेश नै जाने योजना बनाए पनि पूरै जिन्दगी उतै बित्छ, राम्रो काम नै पाइन्छ र टन्नै पैसा कमाइन्छ भन्ने कुनै ग्यारेन्टी नभएकाले तत्काल विदेश जाने योजना पनि बनाउन सकेनन् ।

त्यसपछि उनीहरूले रेस्टुरेन्ट सञ्चालन गर्नकै लागि व्यापक अध्ययन गर्न थाले । सुरुमा उनीहरूले काठमाडौं उपत्यकाका ९० प्रतिशत होटल तथा रेस्टुरेन्ट घुमेर त्यहाँका खानाका परिकार, स्वाद, सेवा, ग्राहक आवागमनलगायत विषय अध्ययन गरे । त्यसमाथि उनीहरू रेस्टुरेन्ट पारखी भएका कारण पहिला पनि घुमिरहेकै हुन्थे ।

उनीहरूले रेस्टुरेन्ट सुरु गर्ने बेला धेरैले यो व्यवसाय डुब्ने भएकाले यसमा हात नहाल्न भनेर सुझाएका पनि थिए । तीनैजना साथी एकअर्कामा विश्वस्त भएकै कारण लगानी जुटाएर रेस्टुरेन्टको काम गर्न थाले ।

रेस्टुरेन्ट आफैंले डिजाइन गर्न सके ग्राहक तान्न सकिन्थ्यो कि भनेर उनीहरूले रेलको डिजाइन बनाए । ‘उपत्यकामा खाना–खाजा खानकै लागि अनेक डिजाइनका रेस्टुरेन्टहरू उपलब्ध छन्,’ जनक भन्छन्, ‘कन्सेप्ट क्रिएट गर्दा गर्दै रेलका कन्सेप्ट आयो । नेपालमा पनि रेल आउनुपर्छ भन्ने चाहना पनि सबैको छ । त्यही कुरा मध्यनजर गर्दै हामीले रेलको डिजाइन लिएर आयौं ।’

९० लाखसम्म लगानी

उनीहरूले सुरुमा रेल स्टेसन बनाउन ८० देखि ९० लाख रुपैयाँ लगानी गरे । पछि अरू कुराहरू थप्दै जाँदा लगानी बढेर १ करोड रुपैयाँहाराहारी पुगेको जनक बताउँछन् । महामारीका बेला सधैं यस्तै रहिरहन्न भन्ने कुरामा उनीहरू लगभग ढुक्क थिए ।

‘हिजोका दिनमा भूकम्प आउँदा पनि त्यसको सामना गर्यौं,’ उनी भन्छन्, ‘विपत्ति सामना गर्दै जाने हो र आफ्नो काम पनि गर्दै जाने हो । अब परिणाम जे हुन्छ, त्यसलाई स्वीकार्ने भनेर नै लगानी गरियो ।’

०००

रेस्टुरेन्ट सुरु गर्दा उनीहरूसँग त्यस्तो भरपुर आइडिया खासै थिएन पनि । सुरुमा उनीहरूले खाना बनाउनका लागि सेफ राखे । सेफ उनीहरूले द्वारिकाज होटलबाट ल्याएका थिए । अहिले रेल स्टेसनमा एकजना सेफ र तीनजना कुक छन् । रेल स्टेसनले अहिले २८ जनालाई रोजगारी दिएको छ । बुद्धनगरको रेल स्टेसनमा १८ कामदार छन् भने उता इमाडोलको अर्को स्टेसनमा १० जना ।

०००

बागमती नदी करिडोडरमा अनेक ठूला रेस्टुरेन्ट लहरै देख्न सकिन्छ । तिनै रेस्टुरेन्टहरूसँग रेल स्टेसनले सिधा प्रतिस्पर्धा गरिरहेको छ । ‘मार्केटमा प्रतिस्पर्धा त हुन्छ नै,’ जनक थप्छन्, ‘आफूले दिने भनेको टेस्ट र सर्भिस हो । हामी आफूले सकेको गरेका छौं । प्रतिस्पर्धालाई सामान्य लिएका छौं ।’

रेल स्टेसनमा ‘रेल चढ्न’ अर्थात ग्राहक खान जानैपर्ने त्यस्तो के विशेषता छ ? जनक हौसिँदै भन्छन्, ‘एक त हाम्रोमा रेलको कन्सेप्ट युनिक छ । हामीले सबैले अफोर्ड गर्न सक्ने फुड प्राइस राखेका छौं । १५० देखि १६० मा चिकेन मोमो खान पाइन्छ । रेलको डिब्बाभित्र बसेर ४० रुपैयाँमा कटिङ चिया पिउनुको मजै बेग्लै छ ।’

०००

एकपटक आएर सेवा लिएका ग्राहक नियमित आइरहेको अनुभव तीनैजनासँग छ । ‘हामीबाट कुनै गल्ती भयो या कमी भयो भने ग्राहकले त्यही बेला नै हामीलाई सुझाव दिनुहुन्छ,’ उनी भन्छन्, ‘हामीले आफ्ना कमी कमजोरी सुधार गर्दै यहाँसम्म आइपुगेका हौं ।’

हाल रेल स्टेसनमा दैनिक २ सयदेखि ३ सयसम्म ग्राहक आउने गर्छन् । ‘हाम्रो रेस्टुरेन्टमा ९२ वटा टेबुल लाग्छ । कुनै टेबुलमा चारजना पनि बस्नुहुन्छ, कुनैमा दुईजना,’ उनी भन्छन्, ‘चियामात्रै खाने भए पनि वा अन्य खानेकुरा खाने भए पनि ग्राहक भनेको ग्राहक हो । हाम्रा लागि सबै महत्वपूर्ण हुनुहुन्छ ।’

रेल स्टेसनले वार्षिक २ करोड रुपैयाँसम्मको कारोबार गर्ने गरेको जनक बताउँछन् । ‘ग्राहक हाम्रा लागि भगवानजस्तै हुनुहुन्छ । हामीले ग्राहक आकर्षित गर्नका लागि विभिन्न स्किम पनि ल्याउने गरेका छौं,’ उनी भन्छन्, ‘पुराना  र नयाँ ग्राहक दुवैका लागि विशेष  छुटकाे व्यवस्था छ ।’

०००

नेपालमा पनि रेल आओस् भन्ने सन्देश दिनका लागि रेस्टुरेन्टलाई रेलको डिजाइनअनुसार बनाएको उनी बताउँछन् ।

रेल स्टेसनले ललितपुर इमाडोलमा पनि आफ्नो नयाँ शाखा स्टेसन विस्तार गरेको छ । ‘ललितपुर क्षेत्रका रेल स्टेसन पारखीले सहजै खाना तथा खाजाको स्वाद लिन पाउनुहुने छ,’ जनक थप्छन्, ‘फ्रान्चाइज मोडेलमा आधारित यो इमाडोल शाखा, काठमाडौं उपत्यकाको दोसो शाखा हो । दक्ष युवालाई उद्यमी बन्न प्रेरित गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले रेस्टुरेन्ट विस्तार गरेका हौं ।’

इमाडोलमा शाखा विस्तार गर्नका लागि डेढ करोड रुपैयाँ खर्च गरेको जनक खुसीसाथ सुनाउँछन् । ‘त्यहाँ रेलको सर्भिस भने छैन,’ उनी भन्छन्, ‘अहिलेको रेस्टुरेन्ट माथिल्लो तलामा भएकाले रेलको कन्सेप्ट दिन सकिएन । फोटोमात्रै भए पनि टाँसेका छौं । त्यहाँ पनि हाम्रा ग्राहकको मन जित्न सक्नेमा हामी विश्वस्त छौं ।’

रेस्टुरेन्ट क्षेत्रमा लामो समय टिकिराख्न ग्राहकलाई नै सन्तुष्ट बनाउनुपर्ने जनक बताउँछन् । रेल स्टेसनमा काम गर्ने अधिकांश कलेज पढ्ने विद्यार्थी छन् । नेपालका हकमा रेस्टुरेन्ट व्यवसायमा कामदार टिकाइराख्न पनि अहिलेको अवस्थामा गाह्रो नै रहेको तीनैजना साथीको अनुभव छ ।

‘सबैभन्दा पहिलो कुरा भनेको उनीहरूलाई नियमित तलब दिन सक्नुपर्छ,’ जनक भन्छन्, ‘अब हामीले दिन सक्ने तलबले मात्रै पनि उनीहरूको खर्च नचल्ने हुनाले अहिलेका युवापुस्ता वैदेशिक रोजगारीकै लागि हानिन्छन् ।’

अहिले रेल स्टेसन सञ्चालनमा आएको तीन वर्ष लाग्यो । साझेदारीमा लगानी गरेर सञ्चालनमा ल्याइएको व्यवसाय जोगाउन पनि चुनौतीपूर्ण नै छ । पहिला मिलेर काम गर्ने र पछि छुट्टिने उदाहरण पनि थुप्रै छन् । तर, ‘पार्टनसिप’ मा काम गर्नका लागि एकअर्कालाई विश्वास गर्नु महत्वपूर्ण रहेको जनक बताउँछन् ।

‘एकअर्काका कुरा सुन्नुपर्याे, बुझ्नुपर्यो,’ उनी भन्छन्, ‘पार्टनरसिप व्यवसायमा साथीबीच पनि खटपट त भइरहेकै हुन्छ । तर, त्यसलाई कसरी समाधान गर्ने भन्ने कुराले पनि महत्व राख्छ । व्यवसाय टिकाइराख्न कुनै न कुनै कुरामा सबैले एडजस्ट पनि गर्नुपर्छ ।’

अब भने रेल स्टेसनको तेस्रो शाखा विस्तार गर्ने योजना तीनैजना मिलेर बनाइरहेका छन् । तेस्रो रेल स्टेसन बुटवलमा सञ्चालन गर्ने योजना भइरहेको जनक बताउँछन् । अहिले तत्कालै विस्तार गर्न आर्थिक मन्दीले सम्भव नभएको उनको भनाइ छ । ‘आर्थिक अवस्था पूर्णरूपमा सुचारु भएपछि बुटवलमा काम सुरु गर्ने योजना छ । त्यसका लागि एक–डेढ वर्ष पक्कै लाग्नेछ,’ उनी उत्साहित हुँदै भन्छन् ।

One comment on "बुद्धनगरबाट ‘रेल’ पुग्यो इमाडोल !"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.