९ महिनादेखि घरभाडा नतिरेपछि निदान हस्पिटललाई घरखाली गर्न ३५ दिनको अल्टिमेटम

  २०८० मंसिर १२ गते ७:२५     विकासन्युज

काठमाडौं । ललितपुरस्थित निदान हस्पिटल प्रा.लि.ले ९ महिनादेखिको घरभाडा नतिरेपछि घर खाली गर्न घरधनीले आग्रह गरेकी छिन् । मंगलबार एक सूचना प्रकाशन गर्दै घरधनी मिना श्रेष्ठले ३५ दिनभित्र घर खाली गर्न र बाँकी रहेको घरभाडा वापतको रकम उपलब्ध गराउन आग्रह गरेकी हुन् ।

ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित निदान हस्पिटलले श्रेष्ठका पिता इन्द्रमान जोशीसँग वि.सं. २०७४ मंसिर १ गतेदेखि लागु हुने गरी कित्ता नम्बर ६२, ६३ र ६४को जम्मा क्षेत्रफल दुई रोपनी एघार आना दुई पैसा जग्गामा बनेको घर र बाँकी खाली सम्पूर्ण जग्गा भाडामा दिनेलिने गरि घरबहाल सम्झौता भएको थियो ।

उक्त जग्गा पिताको शेषपश्चात् आफ्नो नाममा नामसारी भई आएकोमा हस्पिटलले पटक–पटक अनुरोध गर्दा समेत सम्झौताको उल्लंघन गरि २०७९ फागुनदेखि २०८० कार्तिकसम्म ५५ लाख ५१ ह्जार ७२९.२० रुपैयाँ घरभाडा रकम नबुझाएको घरबेटी श्रेष्ठले बताइन् ।

‘अब उपरान्त भाडामा दिने वा नदिने मेरो निजी हकअधिकारको विषय भएकोले उक्त रकम तथा सोको कानुन बमोजिमको ब्याज तथा मनासिव क्षतिपूर्ति उपलब्ध गराई ३५ दिनभित्र उक्त घर जग्गा खाली गराइदिन तथा उल्लेखित घर वहाल सम्झौतापत्र समेत रद्द भएको २०८० कात्तिक २० गते इमेलमार्फत् हस्पिटलको आधिकारिक इमेल तथा संचालकहरुको इमेलमा पठाइएको र सोही व्यहोराको पत्र उक्त हस्पिटलमा बुझाउन जाँदा बुझ्न इन्कारी गरेकोले हुलाक मार्फत पठाउँदा समेत बुझ्न इन्कारी गरेको भनी हुलाकबाट जानकारी प्राप्त भएकोले यो सूचना प्रकाशित गरिएको छ,’ घरबेटी श्रेष्ठले भनिन् ।

हस्पिटललाई इमेलमार्फत् दिइएको ३५ दिने सूचना मंसिर २४ गते समाप्त हुने भएता पनि अन्तिम पटकको लागि यो मौका प्रदान गरिएको उनको भनाइ छ । अतः उल्लेखित सम्झौता रद्द भइसकेको र ३५ दिनभित्र घर जग्गा खाली गराई बाँकी भाडा रकम उपलब्ध नगराए कानून बमोजिम अघि बढ्ने श्रेष्ठले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.