चिसोबाट कसरी बच्ने ? यस्तो छ डा. पुनको सुझाव

  २०८० मंसिर ९ गते १२:२१     विकासन्युज

चिसो दिनहुँ बढिरहेको छ ।  चिसोकै कारण यतिबेला मानिसहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेका छन् । चिसो मौसममा खोकी, मौसमी फ्लू, जोर्नी दुख्ने, दम बढ्ने, हृदयघात जस्ता रोगले बढी संक्रमण गर्ने गर्छ । प्राय: उमेर ढल्किदै गएका ५० वर्ष माथिका मानिसलाई यस प्रकारका रोगले बढी संक्रमण गरेको पाइन्छ । हरेक वर्ष मौसम परिवर्तन हुने गर्छ । तर, हाम्रो शरिरलाई बानी पर्न समय लाग्छ । यो समयमा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन जान्छ । प्रतिरोधात्मक क्षमता कमजोर भएको अवस्थामा भाइरस, व्याक्टेरिया हाम्रो शरिरमा प्रवेश गर्छन् र रोग लाग्छ ।

चिसोकै कारण कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित ११ जनाको मृत्यु भइसकेको छ । चिसोमा लाग्ने संक्रामक रोग र भूकम्प प्रभावितले चिसोबाट बच्न के कुरामा ध्यान दिने भन्ने विषयमा केन्द्रित रहेर हामीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका संक्रामक रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनसँग  विकासन्युजले कुराकानी गरेकाे छ ।

अहिले टेकु अस्पतालमा कस्ता बिरामी बढी आइरहेका छन् ?

टेकु अस्पतालमा दिनहुँ उपचारका लागि आउने सयौँ बिरामीमध्ये कोही दीर्घरोगी छन् भने कोेही अन्यखालका बिरामी छन् । आजभोलि रुघाखोकी, ज्वरो, श्वाशप्रश्वासलगायत समस्या लिएर पनि धेरै जना आउने गरेको पाइन्छ । सर्ने, नसर्ने, मौसमी र बेमौसमी सबै खालका बिरामी आइरहेका छन् । तर, पछिल्लो केही दिन यता चिसोका कारण लाग्ने समस्या लिएर बढी आइरहेका छन् । सम्भवतः अब यस्ता बिरामीको संख्या दिनहुँ बढ्दै जाने छ ।

चिसोमा लाग्ने सरुवा रोगहरू के के हुन ?

हामी धेरैको मानसिकता गर्मीमा मात्र सरुवा रोग फैलिन्छ र चिसोमा फैलिँदैन भन्ने छ । तर, यो गलत हो । चिसो मौसममा पनि यस्ता धेरै किसिमका रोगहरू देखा पर्छन् । जुन एकबाट अर्कोमा सजिलै सर्न सक्छन् । यसमा सबैभन्दा बढी देखिने भनेको रुघाखोकी हो । यो बेलामा चिसो मौसम सुरु हुने र मौसममा समेत परिवर्तन हुने भएकाले यस्ता समस्या बढी देखिन्छन् । यस्तै झाडा पखाला (कोल्ड डायरीया) पनि लाग्छ । खानपानको कारण लाग्ने संक्रामक पनि लाग्छ । भाइरल फिबर जाडोसमयमा बढी देखिन्छ ।

भाइरल फिबर भनेको के हो ?

भाइरल फिबर मौसम परिवर्तनको समयमा देखिने एक प्रकारको गम्भीर संक्रमण हो । यो मौसममा परिवर्तनकोे बेला बढी देखिन्छ । मौसम परिवर्तनको समयमा मानिसको रोग प्रतिरोधात्मक प्रतिक्रिया (इम्युन रेस्पोन्स) मा कमी आउने गर्दछ । अहिले चिसो मौसम छ यस्तो बेला यो फिबर बढी फैलिन्छ । मानिसमा देखिने अधिकांश भाइरल फिबर ‘सिजनल फ्लु’ अथवा ‘इन्प्लुफन्जा फ्लु’ हो । भाइरल फिबरको सङ्क्रमण सबैभन्दा बढी र छिटो बच्चामा हुन्छ । दुई वर्षभन्दा कम उमेरका बच्चामा भाइरल फिबरको सङ्क्रमण भएमा अन्य खतरा बढ्ने सम्भावना उच्च हुन्छ । भाइरल फिबर धेरै भाइरसको सङ्क्रमणबाट हुन्छ । यसको समयमै उपचार नभए बच्चामा हुने इन्फ्लुन्जा फ्लु’ ले निमोनिया पनि गराउन सक्छ ।

भाइरल फिबर कसरी सर्छ ?

सङ्क्रमित व्यक्ति खोक्दा, हाच्छ्युँ गर्दा, बोल्दा, छुँदा, हात मिलाउँदा, अङ्कमाल गर्दा, चुम्बन गर्दा सर्छ । त्यसैले यस्तो समस्या देखिने बित्तिकै बिरामी भएको मान्छेले सबैभन्दा बढी ध्यानदिनुपर्छ भने, स्वस्थ मान्छेले पनि बिरामीको नजिक जाँदा ध्यान दिनुपर्छ ।

भाइरल फिबर भएको कसरी थाहा पाउने ?

कुनै पनि स्वस्थमान्छेलाई आफु अस्वस्थ भएको सजिलै थाहा हुन्छ । प्रत्येक रोगका लक्षण फरकफरक हुन्छन् ,तर धेरैजसोका लक्षण मिल्दाजुल्दा पनि हुन्छन् । भाइरल फिबर भएको मान्छेलाई सबैभन्दा पहिले चिसो लाग्छ । सँगै ज्वरो आउनु, शरीर दुख्नु, ढाड तथा खुट्टा दुख्नु, खोकी लाग्नु, घाँटी अमिलो हुनु, सिँगान बग्नु, नाक बन्द हुनु, टाउको दुख्नु, थकित हुनु, वाकवाकी लाग्नु, वान्ता हुनु, पखाला लाग्नु र पेट दुख्नु यसका लक्षण हुन् ।

यसको उपचार के हुन्छ ?

यसका लागि निश्चित औषधि छैन । उपचार भने अत्यन्तै आवश्यक हुन्छ । अहिलेसम्म गर्दै आएको यसको उपचार भनेको ज्वरो आउँदा पारासिटामोल, टाउको दुख्दा आइबुप्रोफिन, पखाला लागेमा जीवनजल तथा अन्य झोलिलो पदार्थ पिउन सल्लाह दिइन्छ । खानपानमा ध्यान दिइएन भने जाडो महिनामा पनि यस्ता सरुवा रोग फैलने गर्दछन् ।

हामीले चिसोमा लाग्ने रोगका विषयमा कुरा गर्दा भर्खरै गएको भूकम्पबाट घरबास गुमाएकाहरू अहिले त्रिपालमुनि बसेका छन् उनीहरू कसरी जोगिने ?

यो प्रश्न गम्भीर छ । हामीले चिसोमा लाग्ने रोगबाट कसरी जोगिने भन्ने कुरा गरिहँदा मैले न्यानो पार्नुपर्छ भनुँला, झोलिलो, पोषणयुक्त खानेकुरा खानुपर्छ भनुँला । तर, यो जवाफ एउटा त्रिपालमुनि बसेकाको हकमा गाह्रो हुन्छ । बल्ल बाँचेकालाई तपाईं यस्तो गर्नुस उस्तो गर्नुस् भन्न सक्ने अवस्था पनि हुँदैन र अर्को कुरा उहाँहरूले हामीले भनेको जस्तो गर्न पनि सक्नुहुन्न । यस्तो चिसो मौसममा पालमुनि कठ्याङ्ग्रिएर बस्नेहरूमा स्वास्थ्य समस्या निकै गम्भीर हुन्छ । तर, हामी डाक्टरले तपाईं तातो लुगा लगाएर न्यानो पारेर जोगिनुहोस् भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा उहाँहरूले आगो बालेर न्यानो पार्ने, पराल भए त्यसको बाक्लो ओछ्यान लगाएर पनि न्यानो पार्न सकिन्छ । यसका लागि त्यहाँको स्थानीय तह प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिनुपर्छ ।

अहिले धेरै परिवार एकै ठाउँमा बस्नुपर्ने अवस्था छ, कस्तो जोखिम हुन सक्छ ?

यस्तो अवस्थामा संक्रमण फैलन सक्ने डर हुन्छ । झाडापखाला , टाइफाइडलगायत रोग लाग्ने जोखिम ठूलो हुन्छ । स्क्रब टाइफस देखिने सम्भावना पनि उच्च हुन्छ । अहिले जाजरकोट, पश्चिम रुकुमको हकमा त्यस्तो नदेखिए पनि २०७२ सालको भूकम्पको अनुभवलाई आधार मान्ने हो भने चार–पाँच महिनाको अन्तरालमा स्क््रब टाइफस पनि बढेको हामीले पाएका थियौँ । त्यसैले त्यहाँ पनि बिस्तारै यस्तो समस्या देखिन सक्ने सम्भावना उच्च रहन्छ ।

त्रिपालमुनि पनि स्वयम् प्रभावितले के गर्न सक्नुहुन्छ ?

साबुनपानीले हात धुने, संक्रमण भइसकेको व्यक्तिले अलग बस्ने कुरा हामीले गरेर र उहाँहरूले चाहेर पनि सम्भव हुँदैन । अर्को कुरा शौचालय र खानेपानीको पनि राम्रो व्यवस्था नहुन सक्छ । यस्तो बेलामा हामीले दिएको सुझावले उहाँहरूलाई काम गर्न सम्भव हुँदैन । यसमा त्यो क्षेत्रमा पुग्नुभएका वा त्यहाँका सरोकारवालले हेर्नुपर्छ भन्ने मेरो भनाइ र आग्रह पनि हो ।

यस्तो अवस्थामा के गर्न सकिन्छ ?

जो विस्थापितहरू बसिरहनुभएको छ उहाँमध्ये कसैलाई यस्तो लक्षण देखिएमा तुरुन्तै अलगै राखेर उपचार गरिएको खण्डामा अरुलाई बचाउन सकिन्छ । यसमा प्रकोपसम्बन्धी जुन संघसस्थाले काम गरिरहनुभएको छ उहाँहरूले ध्यान दिनुपर्ने देखिन्छ । किनभने, यो फैलियो भने अवस्था गम्भिर हुन्छ । त्यसैले त्यहाँ पनि जोखिम रहेकाले समयमै सचेत रहनु राम्रो । अहिले धेरैले भननुहुन्छ होला तपाईं यसरी बस्नुहोस्, यस्तो गर्नुहोस भनेर तर उहाँहरूको दिमागमा के चलिरहेको हुन्छ कसैलाई थाहा हुँदैन । धेरैले परिवार गुमाउनुभएको छ , कतिपयले आफन्त गुमाउनुभएको छ, केही नगुमाएकाले पनि घरबास, अन्नपात, जनावर गुमाउनुपरेकोे छ । यस्तो बेला उहाँलाई मानसिक स्वास्थ्यसम्बन्धी सल्लाह दिनसक्यो भने राम्रो हुन्छ ।

चिसोमा मान्छेअनुसार फरक फरक रोग लाग्छ ?

मान्छेको रोगसँग लड्नसक्ने क्षमता र शारीरिक अवस्था हेरेर हुन्छ । चिसो मौसममा प्रायजसो दीर्घरोगी, गर्भवती महिला, बालबालिका जो शारीरिकरूपमा कमजोर हुन्छन उनीहरू बढी जोखिममा पर्ने गर्छन् । मैले यसो भनिरहदा युवालाई चिसोमा कुनै रोग लाग्दैन, उनीहरूले स्वास्थ्यको ख्याल गर्न पर्दैन भन्न खोजेको हैन । तर, मलाई केही भएको छैन म ठिक छु भन्दै बेवास्ता गर्न थाल्यो भने यसको असर अझ बढी पर्छ । त्यसैले मान्छेको शारीरिक अवस्था हेरे मान्छेअनुसार फरक फरक समस्या देखिन थाल्छ । झोलिलो कुरा खादाँ राम्रो हुन्छ । प्रभावितलाई चिसोमा सागसब्जी खानुपर्छ भन्ने हुँदैन् । त्यहाँको अवस्था कस्तो छ, पेटभरी खाना नै नभएको वा चाउचाउ ड्राइफुड खानुपर्ने बाध्यता होला । यस्तो अवस्थामा हामीले यसो गर्नुपर्छ यस्तो खानुर्छ भनेर चाहिँ हुँदैन ।

अन्तिममा तपाइको सुझाव के छ ?

भूकम्पजस्ता प्राकृतिक प्रकोप हामी नेपालीले बेलाबेला बेहोर्दै आइरहेका छौँ । हामीले खासगरी स्वास्थ्यको कुरा गर्दा गास, बास र कपासलाई छोड्न हुँदैन भन्ने हो । तत्काल आफ्नो स्वास्थ्यमा कतिपय कुरामा चाहेर पनि ध्यान पु¥याउन नसकिएला । तर, सकेसम्म आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । संक्रामक रोगको कुनै लक्षण देखार्‍यो भने तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नु मेरो आग्रह छ । यसमा ढिलो गर्न हुँदैन । किनकि, तपाईंबाट अरुमा नसरोस् । अर्को कुरा, तपाई लामो समयदेखि औषधि खाइरहनुभएको छ भने औषधि नियमित गर्नुहोला । सकेसम्म औषधि खान छुटाउनु हुँदैन । र, अहिले चिसोे दिनहुँ बढ्दै जानेछ । यस्तो बेला आफ्नो स्वास्थ्यको ख्याल हामी आफैंले गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.