सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार प्रवेशका लागि विशेष पास

  २०८० मंसिर ७ गते १४:२५     विकासन्युज

काठमाडौं । सरकारले सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार प्रवेशका लागि विशेष पास (परिचय पत्र)को व्यवस्था गर्ने भएको छ । कर सप्ताह तथा करदाता सम्मान कार्यक्रममा बोल्दै अर्थसचिव डा.कृष्णहरि पुस्करले उत्कृष्ट करदातालाई सिंहदरबार प्रवेशमा विशेष पास उपलब्ध गराउने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै सुर्य नेपालका उपाध्यक्ष रवि केसीले प्रत्येक वर्ष उत्कृष्ट करदाताको रुपमा सम्मानित भएपछि सिंहदरबार सहज रुपमा प्रवेश पाउनु पर्ने माग राखेका थिए । उत्कृष्ट करदातालाई एक वर्षको लागि भएपनि सिंहदरबार प्रवेशमा सरकारले सहजीकरण गर्नु पर्ने उनको भनाइ थियो ।

उनले सो माग राखेपछि अर्थसचिव डा. पुस्करले उत्कृष्ट करदातालाई परिचयपत्र दिने प्रक्रिया आजैदेखि सुरु भएको जानकारी दिए ।

सरकारले राष्ट्रिय कर दिवस, २०८० का अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको थियो । आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी पुरस्कृत भएको छ । निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एण्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन् ।

यस्तै बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, ५० करोडदेखि १ अर्ब रुपैयाँ कर तिर्ने मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्स्चेन्ज र ऊर्जा मुलुक उद्योगतर्फ भोटेकोसी जलविद्युत् कम्पनी सम्मानित भएका छन् ।

विप्रेषण व्यवसायतर्फ आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ विजयकुमार साह तथा संस्थागततर्फ सबैभन्दान बढी आयकर, मूल्यअभिवृद्धि, अन्तःशुल्क तिर्ने र पाँच वर्षको मूल्यअभिवृद्धि कर समयम दाखिला गर्ने विधामा सूर्य नेपाल प्रालिलाई सरकारले सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.