जापानी अर्थतन्त्र सङ्कुचनमा

  २०८० कार्तिक २९ गते १८:५९     विकासन्युज

एजेन्सी । जापानी अर्थतन्त्र सङ्कुचित भएको छ । यसबाट सङ्घर्षरत प्रधानमन्त्री फुमियो किसिदालाई अर्को धक्का लागेको छ । विश्वको तेस्रो सबैभन्दा ठूलो जापानको अर्थतन्त्र दोस्रो चौमासिकको तुलनामा जुन र सेप्टेम्बरबीचमा शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचित भएको प्रारम्भिक आँकडाले देखाएको छ । यो माइनस शून्य दशमलव एक प्रतिशतको सहमति प्रक्षेपणभन्दा खराब हो ।

लगातार कम उपभोक्ता खर्च र वैश्विक अर्थतन्त्रको कमजोरीले जापानको निर्यातमा असर गरेका कारण लगातार दुई त्रैमासिकमा वृद्धिपछि यो गिरावट आएको हो । समीक्षा अवधिमा निर्यातमा शून्य दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । यो अघिल्लो चौमासिकको तीन दशमलव नौ प्रतिशतभन्दा कम हो । त्यस्तै आयातमा एक प्रतिशतले वृद्धि हुँदा समग्र विकासमा प्रभाव परेको छ । निजी आवासीय तथा कर्पोरेट लगानीसहित निजी मागमा शून्य दशमलव छ प्रतिशतले गिरावट आएको छ ।

ब्लुमबर्ग न्युजका अनुसार जापानको अर्थतन्त्र गत वर्षको तेस्रो चौमासिकको तुलनामा यस वर्षको सोही अवधिमा दुई दशमलव एक प्रतिशतले सङ्कुचन भएको छ । बजारको अपेक्षा भने माइनस शून्य दशमलव चार प्रतिशत थियो ।

बढ्दो महँगीले उपभोक्ताहरू त्रसित भएकाले दुई वर्षअघि पदभार सम्हालेपछि प्रधानमन्त्री किसिदाको पोल रेटिङ सबैभन्दा तल्लो तहमा पुगेको छ । उनले यसै महिना अर्थतन्त्रलाई बढावा दिन र मुद्रास्फीतिको पीडा कम गर्ने उद्देश्यले एक सय ७० खर्ब येन (एक खर्ब १३ अर्ब २० करोड अमेरिकी डलर) को प्रोत्साहन प्याकेज घोषणा गरे ।

कोभिड–१९ को महामारीसँग जुध्न सरकारले पछिल्लो तीन वर्षमा अर्थतन्त्रमा अर्बौं डलर लगानी गरिसकेको छ । पछिल्लो योजनामा प्रतिव्यक्ति ४० हजार येनको आम्दानी र आवासीय कर कटौती तथा कम आम्दानी भएका परिवारलाई ७० हजार नगद हस्तान्तर गरिने व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय मुद्राकोषको अनुमानअनुसार आंशिकरूपमा येनको गिरावटका कारण जर्मनी यो वर्ष जापानलाई उछिनेर विश्वको सबैभन्दा तेस्रो ठूलो अर्थतन्त्र बन्न तयार छ । यद्यपि जर्मनीको अर्थतन्त्र पनि यो वर्ष कमजोर भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.