ठूलो लगानी र मेहनत लगाएर ई–ड्राइभ नेपाल सञ्चालन गरेका छौं, छिट्टै पब्लिकको मन जित्छ : अध्यक्ष मास्के

  २०८० कार्तिक २७ गते १४:४०     विकासन्युज

काठमाडौं । ई-ड्राइभ नेपाल कम्पनीले इलेक्ट्रिक ट्याक्सीबाट सेवा दिने उद्देश्यसहित राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सञ्चालनमा ल्याएको छ । नेपाली सफ्टवेयर इन्जिनियरहरूको समूहले तयार गरेको यो एप सञ्चालनमा ल्याएर कम्पनीले सेवा प्रारम्भ गरेको हो ।
पृथक अवधारणासहित आएको यो कम्पनी आफैंले ईभीका ट्याक्सी खरिद गरी सञ्चालनमा ल्याएको हो । विद्युतीय ट्याक्सीको मूल्य सस्तो भएमा एक वर्षभित्र ३०० ट्याक्सीसम्म पुर्याउने लक्ष्य कम्पनीको छ । यो एपको प्रयोग कसरी गर्ने, यो एप अन्यको भन्दा के फरक छ, कम्पनीसँग चालक कसरी जोडिने, कम्पनीको आगामी योजना लगायत विषयमा कम्पनीका अध्यक्ष राजेश मास्केसँग विसकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

नेपालमा एकपछि अर्को राइड सेयरिङ एप आइरहेका छन् । यसै बिचमा तपाईंरूले पनि ‘ई–ड्राइभ नेपाल’ एप सञ्चालनमा ल्याउनु भएको छ । यो एप तयार गरेर सञ्चालनमा ल्याउने योजना कसरी बन्यो ?

म देश तथा विदेश घुम्न रुचाउने मान्छे । यो एप सञ्चालनमा ल्याउनु पूर्व म युरोप भ्रमणमा गएको थिएँ । मैले यहाँ र त्यहाँ धेरै विषयमा फरक अनुभूति गरेँ । नेपालमा एउटा पर्यटक आउँदा उसले एयरपोर्टदेखि नै झमेला खेप्नु पर्ने बाध्यता छ । किनभने उनीहरूले कुनै ठाउँमा पुग्नुपर्दा ट्याक्सी प्रयोग गर्नुपर्छ । भाडाका ट्याक्सी नभएको हैन । तर, अधिकांश ट्याक्सी पुराना छन् भने पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको बाहुल्यता छ । नेपालमा पेट्रोल र डिजेलको खपतमा ठूलो रकम बाहिरिरहेको छ । यसलाई रोक्न तथा ईभीको सवारीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो एप अध्ययन गर्दै गयौं । नेपालमा पछिल्लो समय ईभीका सवारी प्रयोग बढ्दै गएको छ । ईभीको प्रयोगले वातावरण प्रदुषण र गाडीबाट निस्कने ध्वनीले न्यूनीकरण हुने भयो । त्यसैले ईभीको प्रयोग तथा विस्तार गर्नमा मद्दत गर्ने योजनासहित हाम्रो टिमले एक वर्ष अध्ययन गरी यो एप सञ्चालनमा ल्याएको हो ।

यो एपले कसरी काम गर्छ ? अन्यभन्दा यो के फरक छ ?

यो अन्य राइड सेयरिङ एपजस्तै हो । यसलाई डाउनलोड गरेर सहज तरिकाले प्रयोग गर्न सकिन्छ । सुरक्षाको दृष्टिकोणले यो एप निकै उपयुक्त छ । अन्य राइड सेयरिङ एपबाट सवारी बोलाउँदा चालकसहित गाडी आउँछ र प्यासेन्जर लिएर जान्छ । तर, यस एपमा हामीले चालक र प्यासेन्जर बिचको पुष्टीकरणको लागि ओटीपी कोडको व्यवस्था गरेका छौं । जस्तो कुनै प्यासेन्जरले यसमार्फत सवारी बोलाउनु भयो भने चालकलाई ओटीपी दिएर एसेप्ट गरिसके पश्चात् मात्र यात्रा गर्न सकिन्छ । यस एप मार्फत ईभी र पेट्रोलबाट चल्ने सवारी बिचको मूल्य बारे भिन्न पनि देखाउन सकिन्छ ।

तपाईंहरुले ल्याएको यो एपको प्रयोग किन गर्ने ?

यसमा राष्ट्रियता जोडिएको छ । किनभने नेपालमा चल्ने धेरै जसो राइड सेयरिङ एप विदेशी लगानीबाट सञ्चालित छन् । हामीले ल्याएको एप नेपाली सफ्टवेयर इन्जिनियरहरूको समूहबाट तयार भएको छ । यसमा लगानी पनि नेपालीको नै छ । त्यसैले विदेसिने पैसा रोक्नुका साथै रोजगारी सिर्जनामा पनि मद्दत पुर्याउछ भन्ने विश्वास छ । देशबाट ठूलो आर्थिक पेट्रोलियम पदार्थबाट बाहिरिरहेको छ । यसलाई धेरै हदसम्म रोक्न सकिने भयो । ईभीको प्रमोट गर्ने उद्देश्यसहित बनाइएको यो एपमार्फत् ईभीको प्रतिस्थापनको लागि सहयोग पनि पुग्छ । अर्को विषय देशमा भएको ऊर्जा उत्पादनको खपत हुन्छ । जसले गर्दा विद्युत निर्यात भएन भने समस्या भएन ।

कति लगानी गरेर यो एप सञ्चालनमा ल्याउनु भएको छ ?

हामीले पहिलो चरणमा करिब १० करोड रुपैयाँ लगानी गरी यो एप सञ्चालनमा ल्याएका हौं । अहिले हामी आफैंले लगानी गरेर चार्जिङ स्टेशनको पनि निर्माण गरिरहेका छौं । सो स्टेशन सितापाइँला र एकान्तकुनामा निर्माणाधीन छ । चार्जिङ स्टेसनमा समेत भएको लगानी गर्दा १५ करोड रूपैयाँसम्म लगानी पुग्ने भएको छ । चार्जिङ स्टेशनको काम अहिले अन्तिम चरणमा पुगेको छ । सम्भवतः केही हप्ताभित्रै सो स्टेशन पनि सञ्चालनमा आउँछ ।

यो राइड सेयरिङ एप मार्फत ट्याक्सी बोलाउँदा अन्यको तुलनामा सेवा शुल्क महँगो पर्छ कि सस्तो ?

ईभी ट्याक्सी बिजुलीबाट सञ्चालित हुने भएकाले भाडा पनि केही प्रतिशतसम्म सस्तो हुन्छ । तर, गाडीको मूल्य चाहिँ अत्यन्तै महँगो भयो । यदि प्रट्रोलबाट चल्ने ट्याक्सीकै सो सरह विद्युतिय ट्याक्सी पाइने भएको सेवा शुल्क एक दमै न्यून हुने थियो । अन्य भन्दा यसबाट १०/१५ प्रतिशत कम मूल्यमा यात्रा गर्न सकिन्छ ।

कुनै एउटा व्यक्ति ई-ड्राइभको राइडर बन्न के गर्नुपर्छ ? रजिस्ट्रेसन शुल्क कति लाग्छ ?

ई-ड्राइभ कम्पनीमा अहिले चालकले आफ्नो गाडी निःशुल्क रजिस्ट्रेसन गर्न सक्नु हुन्छ । हामीले रजिस्ट्रेसन पुष १ गतेसम्मलाई निःशुल्क गरेका छौं । रजिस्ट्रेसन अवधि लम्बिन पनि सक्छ । कम्पनीमा सबै ईभीका चालकलाई जोडिने मैका दिनुपर्छ भन्ने हाम्रो चाहना हो । हामी रजिस्ट्रेसन शुल्कपछि हजारदेखि २५ सय रुपैयाँसम्म लिन्छौं । अन्य राइडिङ एपलाई १५ देखि २५ प्रतिशतसम्म कमिसन शुल्क लिन्छन् । अहिलेको लागि हामीले कमिसन शुल्क पनि लिएका छैनौं । शुल्क लिँदा ईभी ट्याक्सीबाट १० प्रतिशत र बाइकबाट १२ प्रतिशतसम्म कमिसन लिन्छौं । रजिस्ट्रेसन ईभीका ट्याक्सी मात्र हुने छन् ।

एक जना मात्रै कतै निस्कनु पर्यो भने ट्याक्सी बोलाउन आवश्यकता ठान्दैनन्, त्यसको लागि बाईक चाहिन्छ, तपाईंहरूले बाइक पनि इभी सञ्चालन गर्नु भएको छ हो ?

हाम्रो चाहाना भनेको ईभीका स्कुटर तथा बाइक मात्र कुदाउने हो । तर, नेपाल सरकारको नीति अनुसार दुई पाँग्रे सवारी भाडाका रूपमा चलाउन पाइँदैन । त्यसले गर्दा हामीले दुई पाङग्रे सवारी खरिद गर्न सकेनौं । अहिले पेट्रोल वा ईभीबाट चल्ने दुई पाङग्रे सवारी दर्ता गरी सेवा दिन्छौं । बाइकको हकमा पेट्रोलबाट चल्ने बाइक पनि हाम्रोमा दर्ता गर्न सकिन्छ ।

यो एपमार्फत् अहिले कहाँ-कहाँ सेवा दिन थाल्नु भएको छ ?

हामीले अहिले उपत्यकाभित्र र काभ्रेको बनेपासम्म सेवा दिन सुरु गरेका छौं । हाम्रो एपभित्र नेपाल यात्रा भन्ने सेग्मेन्ट छ । जुन सेगमेन्ट अन्तर्गत सिटी टु सिटी जोड्ने अवधारणा छ । यसलाई हामी बिस्तारै विस्तार गर्दै जाने छौं । यदि नेपाल सरकारको नीति, नियम तथा कानुन सहजीकरण वा सहुलियत भयो भने हामी चार्जिङ स्टेशन उपत्यकाभित्र सयौं वटा र बाहिर पनि कम्पनी कै लगानीमा तयार गर्ने लक्ष्य छ ।

ईभी भएपछि भाडा पनि सस्तो हुनु पर्ने नागरिकको भनाइ छ । तर, पेट्रोल र ईभीको गाडीमा भाडादर उस्तै भएको धेरैको गुनासो छ । ईभीको भाडा किन सस्तो हुन नसकेको ?

नेपाल सरकारले तोकिदिएको भाडादर यो एपमा कायम भएको छ । सरकारले तोकिदिएको भाडादर भन्दा १ रुपैयाँ पनि माथि रकम लिदैनौं । हाम्रो एपमा जोडिनु भएका साथीहरूले पनि त्यो दर भन्दा माथि भाडा लिएर गाडी चलाउन पाउनु हुन्न ।

अहिले बजारमा इनड्राइभर तथा पठाओ कडा प्रतिस्पर्धीको रूपमा छन्, यसलाई तपाईंले कसरी लिनु भएको छ ?

उहाँहरूको विषयलाई लिएर टिप्पणी गर्नु उचित हुँदैन । हामी उहाँहरूसँग प्रतिस्पर्धामा उत्रिएका छौं । राइड सेयरिङ एपको लागि नेपाल सरकारले नीति निर्माण गरेर प्रतिस्पर्धात्मक रूपमा लानु भयो भने धेरै राम्रो हुन्छ ।

तपाईंको कम्पनी ईभी ट्याक्सी किनेर पनि सेवा दिन थालेको छ, पहिलो चरणमा कति ट्याक्सी खरिद गर्नु भयो ? कम्पनीका आफ्नै ट्याक्सी कति पुर्याउने लक्ष्य छ ?

टाटा मोटर्सले ल्याएका ट्याक्सी नेपाल सरकारको मापदण्ड अनुरूपका छन् । एउटा ट्याक्सीको मूल्य करिव ३७ लाख रुपैयाँ पर्छ । हामीले पहिलो चरणमा ४० वटा गाडी बुक गरेका छौं । महँगो गाडी ल्याएर व्यवस्थापन गर्न समस्या देखिएकोले अहिले २० वटा गाडी ल्याएका छौं । जसमध्ये १४ वटा गाडी सञ्चालनमा ल्याइसकेका छौं । बाँकी ६ वटा गाडीमा कालो नम्बर प्लेट राख्ने प्रक्रिया सुरु भइरहेको छ । त्यसमा कालो प्लेट राखे पश्चात् सञ्चालनमा ल्याउँछौं ।

चालकले कम्पनीलाई निश्चित रकम दिएपछि गाडी पनि उपलब्ध गराउँछौं भन्नु भएको छ, यसको प्रक्रिया के छ ?

हाम्रो कम्पनीमा ३ तरिकाले रजिस्टेशन गरेर गाडी चलाउन पाइन्छ । एउटा कम्पनीको आफ्नै गाडी, कम्पनीबाट गाडी सञ्चालन र व्यक्तिगत रूपमा पनि रजिस्टेशन गरेर यो एप चलाउन सकिन्छ । इभी गाडी किन्न अत्यधिक महँगो छ । एउटा गाडी किन्नलाई ३७ लाख रुपैयाँ पर्छ । नम्बर प्लेट पनि लिनु पर्यो लगायत सबै काम गरेर एउटा गाडी सोरुमबाट निकाल्दा करिव ४२ देखि ४३ लाख रुपैयाँसम्म खर्च हुँदो रहेछ । त्यसमा बैंक तथा वित्तीय संस्थाहरूले २० प्रतिशत डाउन पेमेन्टमा गाडी सहज रूपमा खरिद गर्ने व्यवस्था गरेको छ ।

त्यो २० प्रतिशत डाउन पेमेन्ट गर्दा पनि १३ देखि १४ लाख रुपैयाँ खर्च हुँदो रहेछ । सबैसँग १३/१४ लाख रुपैयाँ खर्च गर्न सक्ने क्षमता नहुन सक्छ । उनीहरूको लागि भनेर हामीले ५ लाख रुपैयाँ डिपोजिट गरेको खण्डमा र बाँकी रहेको रकमा किस्ता बन्दी गरेर सर्त सहित गाडी उपलब्ध गराइ दिन्छौं ।

ब्याज चाहिँ कति बुझाउनु पर्छ नि ?

हामी ब्याज पनि लिन्छौं । उहाँहरूले हामीलाई १६/१७ प्रतिशत व्याज तिर्नु पर्छ । किनभने उहाँहरूबाट बीमा शुल्क लगायत थुप्रै सेवाको शुल्क लिदैनौं । उहाँहरू आफैले गाडी निकाल्नु भयो भने त झनै राम्रो भयो । जसले कस्नु हुन्न उहाँहरूको लागि मात्र यो सुविधा दिएका हौं । त्यसमा हामीले कुनै पनि मुनामा नराखीकन दिने व्यवस्था मिलाएका छौं । हाम्रो खरिद गरेका गाडीमा पनि चालकलाई तलब दिएर भने राखेका छैनौं । उहाँहरूले हाम्रो गाडी भाडामा रूपमा लिएर जान पनि सक्नु हुन्छ । दैनिक ३ देखि ४ हजार रुपैयाँ तिर्ने सर्त सहित लिएर जान सक्नु हुन्छ ।

अन्त्यमा, तपाईंको कम्पनीको आगामी योजना के छन् ?

हामीले ईभी ट्याक्सीलाई मात्र प्रमोट गर्ने भएकाले हामीसँग धेरै चुनौती छन् । एउटा चुनौती ईभीका ट्याक्सी एकदमै न्यून छन् । जसले गर्दा व्यवस्थित रूपमा यो एपलाई सञ्चालन गर्नको लागि समस्या भई रहको छ । विभिन्न कम्पनीले ल्याएका न्यून मूल्य ईभी गाडी जति छन् । त्यी गाडीलाई नेपाल सरकारले भाडाका गाडी बनाइदिने वातावरण मिलाइ दियो भने एक वर्षभित्र हाम्रो आफ्नै लगानीमा २०० देखि ३०० गाडी खरिद गरी सञ्चालन गर्ने लक्ष्य छ । बजारमा हामी जसरी जानु पर्ने हो त्यसरी जान सकी रहेका छैनौं । गाडीको मूल्य महँगो भएकाले पनि समस्या भएको हामीले महसुस गरेका छौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.