विश्व : पश्चिम डार्फरमा सशस्त्र समूहद्वारा आठ सयभन्दा धेरै सुडानी मारिए

  २०८० कार्तिक २६ गते १२:५८     विकासन्युज

एजेन्सी । सुडानको पश्चिमी डार्फरको आर्दमतामा सशस्त्र विद्रोहमा पछिल्लो छ महिनामा आठ सयभन्दा बढी मानिस मारिएको र ४८ लाखभन्दा धेरै विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले जनाएको छ । सुडानको डार्फर क्षेत्रमा बढ्दो हिंसाले दुई दशकअघि गरिएको अत्याचार दोहोरिनसक्ने आशङ्का गरिएको राष्ट्रसङ्घको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । आर्दमतामा आन्तरिकरूपमा विस्थापित मानिसहरूका लागि एउटा शिविर पनि थियो ।

विज्ञप्तिमा करिब एक सय आश्रयस्थललाई नष्ट गरिएको र युएनएचसिआरको राहत सामग्रीसहित व्यापक लुटपाट भएको पनि उल्लेख छ । दुई दशकअघि डार्फरमा हजारौँ मानिस मारिएका भएका थिए । राष्ट्रसङ्घका अनुसार जान्जिवाद नामक सहयोगी मिलिसियाद्वारा समर्थित सुडानी सरकारी सेना र राष्ट्रपति उमर अल–बशिरको निरङ्कुश शासनको विरोध गर्ने विद्रोही समूहरूबीचको सङ्घर्षमा लाखौँ मानिस विस्थापित भएका थिए । राष्ट्रपति अल–बशिरलाई अपदस्थ गरिएको थियो ।

नरसंहारको रोकथामका लागि गत जुनमा राष्ट्रसङ्घका विशेष सल्लाहकार एलिस वाइरिमु नदेरितुले पश्चिम डार्फरमा जातीयताका आधारमा सङ्घर्ष भइरहे यो युद्ध अपराध र मानवताका विरुद्ध अपराध हुनसक्ने चेतावनी दिएका थिए । युएनएचसिआरले निरन्तररूपमा यौन हिंसा, यातना, स्वेच्छाचारी हत्या, सर्वसाधारणसँग जबर्जस्ती असुली र विशिष्ट जातीय समूहहरूलाई निशाना बनाइएको रिपोर्टप्रति चिन्ता व्यक्त गरेको छ ।

‘बीस वर्षअघि डार्फरमा भयानक अत्याचार र मानवअधिकारको उल्लङ्घनबाट विश्व स्तब्ध थियो, यस्तै प्रकारको गतिशीलता विकास हुनसक्छ भन्ने हामीलाई चिन्ता छ’, युएनएचसिआरका उच्चायुक्त फिलिप्पो ग्रान्डीले भन्नुभयो, “अर्को विपत्बाट बच्नका लागि तत्काल सङ्घर्ष अन्त्य गर्न र सबै पक्षले नागरिकको निःशर्त सम्मान गर्नु महत्त्वपूर्ण छ ।’

मध्य अप्रिलमा सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) नामक अर्धसैनिक समूहबीच सङ्घर्ष सुरु भएपछि सुडानभित्र ४८ लाखभन्दा धेरै सर्वसाधारण विस्थापित भएका छन् । यसका साथै १२ लाख मानिस छिमेकी देशमा शरण लिएका छन् । युएनएचसिआरका अनुसार पछिल्लो एक सातामा मात्र आठ हजारभन्दा बढी मानिस चाडतिर भागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.