सुरुवातमै लघुबीमाको उत्साहजनक व्यवसाय, मंसिरदेखि थप ‘पिकअप’ लिने अपेक्षा

  २०८० कार्तिक २० गते १७:५४     सीआर भण्डारी

काठमाडौं । बीमाको दायरा बढाउन नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको अवधारणा अघि सार्याे । सोही अनुसार प्राधिकरणले ७ वटा कम्पनीलाई लघुबीमाको कारोबार गर्न अनुमति दिएको छ । जसमध्ये हाल विभिन्न ४ वटा कम्पनीले आफ्नो व्यवसाय सुचारु गरिसकेका छन् ।

नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले बीमा कारोबार गरिरहेका छन् भने लिवर्टी माइक्रो लाईफ इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले भने तयारीमा छन् ।

हाल बीमा कारोबार सुचारु गरेका बीमा कम्पनीहरुको सुरुवाती चरणमा व्यवसाय विस्तार उत्साहजनक रहेको बीमक बताउँछन् । गरिब, विपन्न वर्ग र कम आम्दानी भएका वर्गले बीमा गर्ने भएकाले सचेतनाको अभाव रहेतापनि दीर्घकालमा राम्रो हुने उनीहरुको तर्क छ । सुरुवाती चरण भएकाले एकैपटक ठूलो छलाङ नमार्ने भएकाले भविष्यमा आफ्नो उद्देश्य पुरा गर्न लघुबीमा कम्पनी अघि बढिरहेको लघुबीमाकर्मीहरुको भनाइ छ ।

नेपाल माइक्रो इन्स्योरेन्सका सूचना अधिकारी सुशन थापा लघुबीमा कम्पनीको व्यवसाय राम्रो भइरहेको बताउँछन् । हाल शाखा सञ्जाल विस्तारको क्रममा रहेकाले लघुबीमाप्रति जनताको आकर्षण बढ्दो रहेको उनको भनाइ छ । साथै, बीमा प्राधिकरणले पनि थप प्रडक्ट बिक्रीका लागि स्वीकृति दिइरहेकोले व्यवसाय गर्न सहज हुने उनले बताए ।

‘लघुबीमा कम्पनी शाखा कार्यालय बिस्तार गरिरहेका छन्, बीमा प्राधिकरणले पनि क्रमिक रुपमा प्रडक्ट बिक्रीका लागि स्वीकृत दिइरहेको छ,’ उनले भने, ‘प्रारम्भिक चरणमा व्यवसाय राम्रो छ, अपेक्षा गरेअनुसार नै लघुबीमाको व्यवसाय भइरहेको छ, थप शाखा बिस्तार गर्ने तयारी भएकाले आगामी दिनमा व्यवसाय वृद्धि हुने आशा छ ।’

उनका अनुसार हाल प्राधिकरणले व्यावसायिक सवारी साधन दुई पाँग्रे र सम्पत्ति बीमा गर्न अनुमति दिएको छ । कृषि बीमा लगायतको प्रडक्ट जारी गर्न प्राधिकरणको स्वीकृति अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

नेपाल माइक्रो इन्स्योरेन्सले गुर्जुधारा थर्डपार्टी काउन्टर र नेपालगन्ज शाखा सञ्जाल विस्तार गरी बीमा गरिरहेको उनले बताए । थप ४ ठाउँमा शाखा विस्तारको तयारी रहेको उनकाे भनाइ छ । शाखा कार्यालय विस्तारसँगै जनशक्ति पनि भर्ना गरिरहेको उनले बताए ।

‘पूर्वको इटहरी, हेटौंडा, वीरगञ्ज र बनेपामा शाखा विस्तार गर्दैछौं, हालसम्म कम्पनीले ३० लाख रुपैयाँसम्मको प्रिमियम संकलन गरेको छ, शाखा कार्यालय विस्तार भएपछि थप प्रिमियम संकलन बढाउँछौं,’ उनले भने ।

नेपाल माइक्रोका सीईओ मृगेन्द्रनाथ रिमाल भने कृषि बीमा गर्न अनुमति पायो भने व्यवसाय विस्तारमा छलाङ मार्ने बताउँछन् । हाल बिक्री गरिरहेको प्रडक्टबाट पनि लघुबीमा कम्पनीको व्यवसाय विस्तारमा हौसला छाएको उनको भनाइ छ ।

‘मुख्य प्रडक्ट कृषि क्षेत्रको हो, त्यो नै हामीले बिक्री गर्न पाएका छैनौं, जतिपनि प्रडक्ट आएका छन्, त्यो प्रडक्ट बिक्री गर्दा उत्साहजनक नै छ, कृषि बीमा गर्न पायौं भने बीमा लेखको संख्या बढि हुन्थ्यो,’ उनले भने, ‘कम्पनीले दैनिक औषत ७५ वटासम्म बीमा लेख जारी गरिरहेको छ ।’

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी लघुबीमा कम्पनीहरु भर्खर बामे सर्दै गरेकाले सुरुवाती चरण उत्साहजनक नै रहेको सुनाउँछन् । लघुबीमा कम्पनीहरुले डिजिटल माध्यमबाटै बीमा लेख जारी गरिरहेको उनको भनाइ छ ।

‘भर्खर जन्मेको मान्छे दौडिन सक्दैन, बामे सर्ने हो, लघुबीमा कम्पनी पनि बामे सरिरहेका छन्, हाल एउटा प्रडक्टको मात्रै कारोबार अनुमति छ, अन्य प्रडक्ट स्वीकृतका लागि प्राधिकरणमा निवेदन पेश गरेका छौं,’ उनले भने, ‘सुरुवाती चरण भएपनि सोचेअनुरुप काम भइरहेको छ, डिजिटल माध्यमबाटै बीमा पोलिसी जारी गर्न मिल्ने भएकाले सहज भइरहेको छ, जुनसुकै बेला जहाँबाट पनि बीमा लेख खरिद गर्न सकिन्छ ।’

उनका अनुसार गार्डियन माइक्रोले ९ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । साथै, थप शाखा विस्तारको तयारी भइरहेको उनको भनाइ छ । हालसम्म कम्पनीले १८ सय पोलिसी बिक्री गरेर २५ लाख रुपैयाँ बराबर प्रिमियम संकलन गरेको उनले बताए ।

दैनिक २०/२५ वटा पोलिसी बिक्री भइरहेको उनको भनाइ छ । बीमा सम्बन्धी सचतेना अभाव हुँदा व्यवसाय विस्तारमा भने चुनौति रहेको उनले बताए ।

‘बीमा सचेतना अभाव छ, बीमा गर्नु पर्छ भन्ने अवधारणा नै छैन, एजेन्टले जोडबल गरेर, कर तिर्नका लागि गर्नै पर्ने बाध्यता भएर, पुराना कम्पनीले गरेको आधारमा गरेको देखिन्छ,’ उनले भने, ‘भित्री आत्मादेखि बीमा गर्नु पर्ने सोच छैन, साथै कम आम्दानी भएको ब्यक्तिको बीमा गर्नु पर्ने भएकाले दैनिक ज्यालामजदुरी गरेर खाने कि बीमा गर्ने भन्ने समस्या छ ।’

प्रोटेक्टिभ माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ नरेश रोक्का लघुबीमा कम्पनीहरुले सुरुवाती चरणमा उत्साहजनक प्रतिक्रिया पाइरहेको बताउँछन् । जुन उद्देश्यका लागि लघुबीमा ल्याइएको हो सो प्राप्त गर्न आफूहरु सक्रिय भएर काम गरिरहेको उनको भनाइ छ ।

‘लघुबीमाको व्यवसाय भयंकर उत्साहजनक छ, सुरुवातमै निराशाजनक भयो भने गन्तव्यमा पुग्न सकिँदैन, बजारले सकारात्मक प्रतिक्रिया दिएको छ,’ उनले भने, ‘लक्ष्यमा पुग्न अझै बाँकी छ, शाखा विस्तारदेखि सबै स्थानीय तहमा पुग्ने तयारी छ, भर्खर उदाउँदै गरेको सुर्यको किरणहरुले आजको दिन झलमल्ल हुन्छ भन्ने संकेत गरेजस्तै लघुबीमाको व्यवसाय वृद्धि भइरहेको छ ।’

उनका अनुसार कम्पनीले हालसम्म १ करोडभन्दा बढीको प्रिमियम संकलन गरिसकेको छ । कम्पनीले बिर्तामोड, भैरहवा, लम्की, डडेल्धुरा, दार्चुला लगायतका क्षेत्रमा शाखा विस्तार गरिरहेको र जनशक्ति भर्नाको काम भइरहेको उनले बताए ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ प्रताप मान श्रेष्ठले लघुबीमाप्रति स्थानीय स्तरमा उत्साहजनक प्रतिक्रिया पाएको बताए । तर, पुराना कम्पनीको हेर्ने नजर फरक रहेको र लघुबीमा निर्देशिका अनुसार काम नहुँदा व्यवसाय विस्तारमा समस्या भइरहेको उनको भनाइ छ ।

‘गरिब विपन्न वर्गले बीमा गर्छन्, पुराना कम्पनीलाई व्यवसाय खोस्ने डर छ। तर, ठूला कम्पनीहरुसँग लघुबीमा कम्पनीको प्रतिस्पर्धा छैन, विजनेश खोस्नेभन्दा पनि बीमाको दायरा बढाउन लघुबीमा ल्याइएको हो,’ उनल भने, ‘हामी पनि ट्रेडिसनल बीमा कम्पनीबाट नै आएका हौं, लघुबीमा निर्देशिका अनुसार काम गरिरहेका छौं तर अहिलेसम्म एउटा प्रडक्टको मात्रै बीमा गर्न दिएको छ ।’

उनका अनुसार मंसिरदेखि लघुबीमा कम्पनीहरुले पिकअप लिने देखिन्छ । कम्पनीले १६ वटा शाखाबाट सेवा प्रदान गरिरहेको उनले बताए । हालसम्म १२ सय पोलिसी बिक्री गरेर साढे १३ लाख रुपैयाँ बराबरको कारोबार भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.