एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७औं सम्मेलन सोमबारदेखि

  २०८० कार्तिक १९ गते ११:००     विकासन्युज

काठमाडौं । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७औं सम्मेलन सोमबारदेखि काठमाडौंमा हुने भएको छ। परिसंघ एसिया प्रशान्त क्षेत्रका २६ देशका २८ वटा राष्ट्रिय स्तरका उद्योग वाणिज्य महासंघ–संघहरुको छाता संस्था हो ।

नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यमा आयोजना हुने सम्मेलनको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दैछन् ।

समुद्घाटन कार्यक्रमलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्।

अर्थमन्त्री डा. प्रकाशरण महत, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासघका पूर्वअध्यक्ष एवं क्यासीका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायतले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी उद्यमी र नेपालका उद्यमी व्यवसायी, सरकारी प्रतिनिधि समेत गरी दुई सयभन्दा बढीको सहभागिता रहने छ।

सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशीलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय सञ्जाल विस्तारलगायतमा छलफल हुनेछ।

सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै कार्तिक २१ गते समापन गरिने छ ।

सन् १९६६ मा स्थापना भएको क्यासी एसिया–प्रशान्त क्षेत्रभित्रका व्यावसायिक संस्थाहरूलाई एकताबद्ध गर्दै यसका सदस्य राष्ट्रबीच आर्थिक सहयोग, व्यापार र लगानी प्रवर्द्धनमा काम गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.