किसान धान काट्न र थन्क्याउन व्यस्त, उत्पादन बढ्ने अनुमान

  २०८० कार्तिक १६ गते १३:३३     विकासन्युज

नवलपरासी । दसैं सकिएलगत्तै नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । खेतीमा विगतमा जस्तो श्रमिक परिचालन गर्नुपर्ने अवस्थाको भने अन्त्य हुँदै गएको छ । खेतीमा कृषि उपकरणको प्रयोग बढेको हो ।

अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेको कावासोतीस्थित विष्णुनगर कृषि सहकारी संस्थाका अध्यक्ष खुमकान्त गौडेलले बताए । ‘खेतीबाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषि क्षेत्रको विकासमा सहज भएको छ,’ उनले भने, ‘अहिले धान काट्ने मेसिन र धान झाँट्ने थ्रेसरको प्रयोगले किसानलाई सजिलो बनाएको छ ।’

धान झाँट्ने थ्रेसरको प्रयोगले एकै दिनमा धेरैको धान झाँट्न सकिने भएकाले काम गर्न छिटो र सहज भएको किसान धनपती अधिकारीले बताए ।

जिल्लामा यो वर्ष करिब १९ हजार हेक्टरमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । यो वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए ।

‘यो वर्ष करिब १९ हजार हेक्टरमा धान लगाइएकोमा करिब ६३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ,’ तिवारीले भने । यस वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेर रोपाइँ भएकाले उत्पादन राम्रो हुने अनुमान गरिएको उनको भनाइ थियो ।

जिल्लामा अहिलेसम्म ४५ प्रतिशत किसानले धान थन्काइसकेका छन् । तिवारीले अबको १५ दिनभित्र सबै धान थन्क्याइसक्ने बताए । ‘जिल्लामा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार किलो हुने गरेको छ,’ उनले भने, ‘जिल्लामा सिफारिस भएका ८६ जातमध्ये सात जातका मात्र रैथाने धानको खेती हुने गरेको छ ।’

यस वर्ष जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान बढी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.