आइआइएमएसका प्राध्यापकहरुलाई टेलर्स विश्वविद्यालयद्वारा प्रशिक्षण

  २०८० कार्तिक १४ गते १२:३७     विकासन्युज

काठमाडौं । आइआइएमएस कलेजका प्राध्यापकहरुलाई विश्वको प्रतिष्ठित टेलर्स विश्वविद्यालय, मलेसियाले प्रशिक्षण प्रदान गरेको छ । विश्वस्तरीय शैक्षिक ब्राण्ड स्थापित गरेको विश्वविद्यालयले सम्बन्धन लिएका कलेजहरुको शैक्षिक गुणस्तर र व्यवस्थापन उत्कृष्ट बनाउन प्रशिक्षण प्रदान गरेको हो ।

आइआइएमएस कलेका अनुसार मलेसिया स्थित विश्वविद्यालयमा अक्टोबर १८ देखि २३ सम्म भएको प्रशिक्षण कार्यक्रममा कलेजको तर्फबाट ७ जना सहभागी भएका थिए । जसमा ब्याचलर अफ कम्प्युटर साइन्स फ्याकेल्टीको तर्फबाट एकेडेमिक को-अर्डिनेटर सुजन अर्याल, प्रोग्राम को-अर्डिनेटर आहाना श्रेष्ठ, लेक्चर सुदिप तिमल्सिना र लेक्चर सचिन श्रेष्ठ सहभागी भएका थिए ।

त्यस्तै, प्रशिक्षण कार्यक्रममा ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट फ्याकेल्टीको तर्फबाट एसोसिएट डाइरेक्टर अस्वीनी कुमार लघु, प्रोग्राम को-अर्डिनेटर रिमा मानन्धर र टिम लिडर तथा लेक्चर सुमित रायमाझी सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टका एसोसिएट डाइरेक्टर अस्वीनी कुमार लघुले विश्वविद्यालयमा आफूहरुले प्रशिक्षण र अध्ययन अवलोकन भ्रमण गरेको बताए । टेलर्स विश्वविद्यालयमा के कसरी अध्यापन गर्ने काम गरिन्छ, शैक्षिक प्रशासनको व्यवस्थापन कसरी हुन्छ, अध्ययन अध्यापनमा सूचना प्रविधिको प्रयोग कसरी गरिन्छ, परीक्षा कसरी लिने काम गरिन्छ लगायतका विषयहरुमा प्रशिक्षण र अवलोकनको माध्यमबाट अनुभव आदानप्रदान गर्ने काम गरिएको थियो ।

एसोसिएट डाइरेक्टर लघुका अनुसार विद्यार्थीलाई कसरी पढाउने, शिक्षण सामग्री कसरी बनाउने, संकायमा के–के विषयहरुको आवश्यक पर्छ, परीक्षा पत्र कसरी तयार गर्ने जस्ता महत्वपूर्ण विषयहरु टेलर्स विश्वविद्यालयले प्रशिक्षण तथा प्रत्यक्ष अवलोकनको माध्यमबाट अनुभव प्रदान गर्ने काम गरेको थियो ।

प्रशिक्षणको क्रममा विद्यालय तह अर्थात् कक्षा १२ उत्तिर्ण भएर विश्वविद्यालय तहको अध्ययन गर्न आउने विद्यार्थीहरुमा के कस्ता मनोवैज्ञानिक समस्या देखिन सक्छन र ती समस्याहरु समाधान गर्न के कसरी परामर्श गर्ने भन्ने विषयमा पनि अनुभव आदान प्रदान गरिएको थियो ।

विश्वस्तरीय शैक्षिक प्रतिष्ठा हासिल गरेको टेलर्स विश्वविद्यालयको कलेजमा कसरी गुणस्तर कायम गर्न नीतिगत र व्यवहारिक रुपमा के–के गर्न आवश्यक छ भन्ने विषयमा पनि धारणा साझा गर्ने काम भएको कार्यक्रममा सहभागी भएका एसोसियट डाइरेक्टर लघुले बताए । उनका अनुसार आधुनिक प्रविधिलाई अध्यापनमा कसरी जोड्ने, भौतिक पूर्वाधार कस्तो हुनुपर्ने विषयमा पनि प्रशिक्षण तथा अनुभव आदानप्रदान गरिएको थियो ।

टेलर्स विश्वविद्यालयमा सम्बन्धन लिएर सञ्चालन भएका कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक सेमेस्टर विश्वविद्यालयमा नै अध्ययन गर्ने सुविधा रहेको छ, सो विषय र विश्वमा जुनसुकै ठाउँमा कलेजका विद्यार्थीलाई कसरी इन्टर्नसिपमा पठाउन सकिन्छ भन्ने विषयमा पनि आवश्यक छलफल भएको उनले बताए । साथै, विद्यार्थीहरुको तथ्यांक फाइलिङ कसरी व्यवस्थापन गर्ने विषयमा पनि प्रशिक्षण तथा अवलोकनमार्फत् धारणा साझा गरिएको थियो ।

टेलर्स विश्वविद्यालयले सम्बन्धन आफूसँग सम्बन्धन लिएका कलेजहरुलाई नियमित नियमन गर्ने, आवश्यक प्रशिक्षण दिने, विश्वविद्यालयकै लेक्चरहरुमार्फत् प्रत्यक्ष अध्यापन गराउने काम गर्दै आएको छ । प्रशिक्षणको सन्दर्भमा अहिलेसम्म भर्चुअल हुने गरेकोमा पहिलोपटक कलेजका प्राध्यापकहरुलाई विश्वविद्यालयमा नै आमन्त्रण गरेर प्रत्यक्ष प्रशिक्षण तथा अवलोकनको अवसर प्रदान गरेको हो ।

विश्वविद्यालयले प्रदान गरेको सो अवसरले आइआइएमएस कलेजको आगामी शैक्षिक तथा व्यवस्थापकीय गुणस्तर थप विकास योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.