अर्थतन्त्र सुधारिन थालेकाले लगानीका अवसर छोप्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह

  २०८० कार्तिक १३ गते १४:२९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महास‍ंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रचुर अवसरहरु भएकाले लगानी बढाउन बेलायतमा रहेका गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।

नेपाल जनसम्पर्क समिति बेलायतले लन्डनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको जलविद्युत र पर्यटनमा लगानी प्रतिफल उच्च रहेकाले लगानी बढाउन आग्रह गरेका हुन् ।

बेलायतस्थित गैरआवासीय नेपालीको समेत लगानीमा चन्द्रागिरि हिल्स तथा केबलकार सञ्चालनमा ल्याएको चन्द्रागिरि हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ढकालले लगानी बढाउन हिचकिचाउनु पर्ने कारण नरहेको बताए ।

सातै प्रदेशमा चन्द्रागिरि जस्तै हिल स्टेसनसहितका केबलकार परियोजना अघि बढाएको उल्लेख गर्दै अध्यक्ष ढकालले आफू जन्मे हुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि गैरआवसीय नेपालीलाई आग्रह गरे ।

कास्कीको सिकलेस, ताप्लेजुङको पाथीभरा र कर्णालीको चिसापानीको जालपादेवी केबलकार परियोजना निर्माणको चरणमा प्रवेश गर्न थालिसकेकाले लगानीको अवसर हातमै आइपुगेको पनि अध्यक्ष ढकालले जानकारी गराए ।

यसैगरी गैर आवासीय नेपालीसँगको सहकार्यमा म्याग्दीमा जलविद्युत परियोजना सम्पन्न भइसकेकोले अन्य जलविद्युत परियोजनामा समेत लगानी बढाउन पनि अध्यक्ष ढकालले आग्रह गरे।

विश्वव्यापी संकटका असरले नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको, उल्लेख्यरूपमा रेमिटेन्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैंकिङ क्षेत्रमा लगानी योग्य रकम बढिरहेकाले लगानीको वातावरण सुधार भइरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सामाजिक सञ्जालमार्फत फैलिने नकारात्मक कुरालाई ध्यान नदिएर नेपालमा रहेका लगानीका अवसर छोप्न पनि अध्यक्ष ढकालले आग्रह गरे।

लगानी तथा प्रतिफलका हिसाबले नेपालमा अवसरै अवसरको सम्भावना भएकाले त्यसबाट फाइदा उठाउन ढिलाइ नगर्न नहुने पनि अध्यक्ष ढकालको भनाइ थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.