२९० रुपैयाँको जागिरदेखि गभर्नरको यात्रासम्म

  २०८० कार्तिक ३ गते १९:११     विकासन्युज

काठमाडौं । खोटाङको गाउँबेसीमा उकाली गर्दै गर्दा महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्छु भन्ने विषय ‘आकाशको फल’ थियो । जसलाई सजिलो हेर्न सकिन्थ्यो तर टिप्न असम्भव । त्यो असम्भवतालाई उनले कसरी सम्भव तुल्याए ? यही प्रश्न हामीले उनै महाप्रसाद अधिकारीलाई सोध्यौं ।

उनले जवाफमा भने, ‘नेपालमा गभर्नरको एउटा मात्रै पद हुन्छ, म त्यही बन्छु भन्ने लागेको थिएन, तर सबै कुरा समयले बनायो, मैले मेहनत मात्रै गरेको हुँ ।’

उनले थप्दै भने, ‘जसले म यो बन्छु भनेर सपना बुन्छ, उसले त्यही अनुसार मेहनत पनि गरेको हुन्छ, उसले मेहनत अनुसार नपाइरहेको पनि हुन्छ । आफ्नो तर्फबाट गर्नुपर्ने मेहनत निरन्तर जारी राख्नुपर्छ तर, अलिकति महत्वकांक्षी राखियो त्यो भोलि गएर हुन सकेन भने व्यक्तिगत रुपमा पनि त्यसले राम्रो गर्दैन ।’

वि.सं २०२१ सालमा खोटाङमा जन्मेका महाप्रसाद अधिकारीको स्कुले जीवन गाउँमै बित्यो । बिहान साँझ घरमा आमाबुवालाई सहयोग गर्ने उनी दिउँसो विद्यालय जान्थे । वि.स २०३९ सालमा उनले गाउँबाटै एसएलसी (हालको एसईई) पास गरे । गाउँमा हुँदा उनले शिक्षण पेशा शुरु गरे । उनले बुझेको पहिलो तलब २ सय ९० रुपैयाँ थियो । त्यसपछि उनी वि.सं २०४० सालमा बाँकी अध्यनको लागि काठमाडौँ छिरे । यसपछि सुरु भयो उनको पढाइसँगैको जागिरे जीवन । महाप्रसादले काठमाडौंमा आइकमको पढाइसँगै खाद्य संस्थानमा काम थाले ।

‘मलाई म काम गर्दे जाँदा संस्थाको लागि इमान्दारी पूर्वक गरें, धेरै पछिसम्म पनि म राष्ट्र बैंकको चिफ नै हुन्छु भन्ने सोचेको थिइनँ । निरन्तर काम गर्दै गएँ इडी बनें, डेपुटी गभर्नर भएँ, डेपुटी भइसकेपछि चाहिँ स्वभाविकै रुपमा गभर्नर हुनुपर्छ भन्ने लाग्यो,’ उनले आफ्नो सुरुवाती दिनदेखि हालसम्मको जीवन यात्रा सुनाउँदै भने ।

अधिकारीले वि.सं २०४२ सालमा प्रतिस्पर्धात्मक परीक्षामा नाम निकालेर सरकारी जागिरको यात्रा तय गरेका हुन् । वि.सं २०४२ सालमा राष्ट्र बैंकको साहयक स्तरको पदमा जागिर सुरु गरेपछि उनलाई अब यही क्षेत्रमा मैले अझैं प्रतिसपर्धा गर्नु पर्छ भन्ने लाग्यो । उनी वि.सं. ०५१ सालमा राष्ट्र बैंकको उप निर्देशक पदमा स्तरोन्नती भए । वि.सं २०५६ मा निर्देशक पदमा बढुवा भए । त्यसपछि २०६७ सालमा उनी राष्ट्र बैंकको डेपुटी गभर्नर बने ।

राष्ट्र बैंकमा विभिन्न पदमा गरी तीन दशक बढी समय बिताएका उनी वि.स २०७६ चैत २४ गते गभर्नरका रुपमा नियुक्त भए । महाप्रसाद जुन संस्थाबाट सामान्य कर्मचारीको रुपमा प्रवेश गरेका थिए त्यही संस्थाको सर्वोच्च पदमा पुग्दा अचम्म मान्दैनन् । बरु उनलाई काम गर्दैजाँदा अझै मेहनत गर्न जाँगर चल्छ । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा व्यवस्थापन संकायमा र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेट (सीए) पनि गरेका छन् ।

गभर्नर महाप्रसाद अधिकारी मिहिनेत र सपनाले मान्छेलाई कल्पना नगरेको ठाउँमा पु¥याउने बताउँछन् । उनी अहिलेका विद्यार्थी अथवा केटाकेटीलाई पनि ठूलो महत्वकांक्षा नराखी मेहनत गर्न सल्लाह दिन्छन् ।

‘म यही बन्छु, तिमी भोलि गएर यही बन भन्नुभन्दा पनि म मिहेनत गर्छु र केही गर्छु भन्ने सोच्दा राम्रो हुन्छ, उनले भने, ‘यसो गरे भोलि तनाव पनि लिनु पर्दैन ।’

गभर्नरको सपना

लेखपढ गरी भोलि के बन्ने ? सामान्यतया सबैलाई सोधिने एउटा सामान्य प्रश्न हो । छोराछोरीलाई अभिभावक, विद्यार्थीलाइ शिक्षक यस्तै प्रश्न सोध्छन् । तपाईं हामीले पनि एसएलसी दिइसकेपछि वा अहिलेको एसईई दिसकेपछि भविष्यलाई निर्धारण गरेर आफ्नो अध्ययन यात्रा सुरु गरेका थियौँ र अहिले गर्छौँ पनि ।

कहिलेकाँही हामीले बनाएको योजना सफल नहुन पनि सक्छ अर्थात् जुन उद्देश्य बोकेर हामी हिँडिरहेका हुन्छौँ त्यो लक्ष्यमा नपुग्न पनि सकिन्छ । र, नदेखेको सपना नबोकेको उदेश्यमा पनि हामी भोलि पुग्न सक्छौं ।

गभर्नर महाप्रसाद अधिकारीलाई पनि म नेपालको गभर्नर हुन्छु भन्ने कल्पना समेत थिएन । तर, अहिले तपाईं हामीले चलाउने पैसामा उनको हस्ताक्षर चल्छ । देशको आर्थिक नीति कस्तो हुनुपर्छ ? देशको आर्थिक विकासका लागि कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा उनको महत्वपूर्ण भूमिका हुन्छ ।

यसो भनिरहँदा लक्ष्य र उद्देश्य नबोकेर हिँडनुपर्छ भनेको हैन, मिहिनेत र कडा परिश्रमले समयसँगै जिम्मेवारीमा पुगिन्छ ।

‘मनोरञ्जन पनि गर्छु’

हरेक काम र पदका पछाडि चुनौति आउनु स्वभाविक हो । यस्तो चुनौति आयो भन्दैमा तनाव लिएर बस्ने चलन छैन गभर्नर अधिकारीको । उनी भन्छन्, ‘सकेजति काम गर्नु पर्छ । तर, चुनौतीको सामना गर्न पनि डराउनु हुँदैन ।’

अधिकारीलाई लगातारका कामबाट थकित हुँदा गीत सुन्न, गेम हेर्न मन पर्छ । उनलाई भलिबल र व्याडमेन्टन खेल्न मन पर्छ भने फुटबल हेर्न पनि उनी रचाउँछन् । उनी बेलाबखत क्रिकेट हेर्ने गरेका छन् ।

घरमा भान्छाको काम गर्न पनि अधिकारलाई रमाइलो लाग्छ । ‘हामी घरमा आफै पकाएरै खाने हो । मलाई भान्छामा काम गर्न पनि उत्तिकै मनपर्छ, खानामा दालभात तरकारी लगायत सामान्य खानेकुराहरु मनपर्छ, गीत सुन्छु, कहिले आफै गुनगुनाउँछु पनि यती गरे तनावबाट मुक्त भइन्छ,’ अधिकारीले आफ्नो रुची सुनाउँदै भने ।

अधिकारीको परिवार अहिले ललितपुरमा बस्छ । वि.सं २०५९ सालमा ललितपुरमा घर बनेपछि सबैजना घरमै बस्न थालेका हुन् । अधिकारीका एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । छोरा अष्ट्रेलियामा व्याचलर पढ्दैछन् भने छोरी भने नेपालमै एमडी गर्दैछिन् । उनकी श्रीमती गृहणीको रुपमा घरमै काम गर्छिन् ।

‘मलाई कुनै चिन्ता छैन, छोराछोरी आफै पढ्दै, कमाउँदै गरिरहेका छन्, श्रीमतीले घरव्यवहार धानिरहनु भएको छ, जीवन रमाइलो छ,’ गभर्नर अधिकारीले भने ।

विवाहपछि प्रेम

गभर्नर अधिकारीको प्रेम अनुभव अनौठो छ । उनी भन्छन्, ‘गाउँमा घरको काम र विद्यालय जाँदै ठिक्क भयो, त्यसपछि सिधै बिहेको प्रस्ताव आइहाल्यो माया–प्रेमको अनुभव नै गर्न पाइनँ ।’

‘बिहे अगाडि विद्यालय वा कलेज जाँदा यो मान्छे मलाई मन पर्यो भन्ने कुरा कहिल्यै भएन, बिहेपछि मात्र मायाप्रेमको अनुभव लिएँ,’ उनले मुस्कुराउँदै थपे ।

अधिकारी घुम्न पनि धेरै मन पराउँछन् । उनी नेपालका धेरैजसो जिल्ला घुमिसकेको सुनाउँछन् । पश्चिम दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म पुग्दा सबै ठाउँ उत्तिकै रमाइलो लागेको उनी सुनाउँछन् । उनले विश्वका धेरै विकसित, अविकसित देशहरु पनि उत्तिकै घुमेका छन् । विभिन्न देश पुग्दा नेपाल जस्तो सम्भावना भएको देश उनलाई कुनै लाग्दैन ।

सम्झिनै नचाहेको त्यो घटना

मान्छेको जीवनमा धेरै घटनाहरु आइलाग्छन् । कतिपय जीवनभर अविस्मरणीय बनिदिन्छन् भने कतिपय चाहेर पनि बिर्सिन सकिँदैन । गभर्नर अधिकारीको जीवनमा पनि यस्तो घटना छ , जुन उनी सम्झिन पनि चाहन्नन् । त्यो विषय हो उनको निलक्बन ।

उनी २०७८ चैतमा सरकारको निलम्बनमा परे । निलम्बन गर्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा थिए भने अर्थमन्त्री थिऐ जनार्दश शर्मा । सोही बेला उनी निलम्बन परेका थिए । पनि गभर्नर अधिकारी अदालत गए । अदालतको आदेशमा गभर्नरको जिम्मेबारीमा उनी पुनः काममा फर्के ।

‘काम गर्दै गर्दा कहिले कहीँ कानुनी झन्झटको सामाना गर्नु पर्ने हुँदो रहेछ, मैले यसलाई स्वभाविक रुपमा लिएको छु,’ उनले भने । निलम्बलमा परेको घट्नाबारे भने उनी धेरै बोल्न चाहेनन् । विकास मिडियाको प्रस्तुती विएन पोडकाष्टसँगको लामो अन्तरवार्तामा उनले भने, ‘यो घट्नालाई म बिसर्न चाहन्छु, धेरै नबोलौ ।’

स्वदेशमै बस्ने वातावरण बनाउनु पर्छ

गभर्नर अधिकारी पछिल्लो समय विदेशिरहेका युवाहरुको संख्याप्रति चिन्तित छन् । युवाहरु दिनहुँ बिदेश पलायन भइरहेको बेला गभर्नर अधिकारी भने आफ्ना छोराछोरी स्वदेशमै काम गर्ने बताउँछन् ।

‘नेपालमा पनि विस्तारै सेवा सुविधा राम्रो भइरहेको छ, छोरी नेपालमै छिन्, छोरा पनि बाहिर गएको भर्खरै हो, बाहिरबाट केही कुरा सिकेर नेपालमै आएर गर्छ,’ उनले भने ।

‘नेपालमा सरकारी सेवा लिन झन्जटिलो हुने, रोजगार अभाव लगायतले युवाहरुमा निराशा छ, बिदेशीने क्रम बढ्दो छ, यो सुधार गर्न सकिने विषय हो,’ उनले थपे ।

नेपाल ठूलो सम्भावना र अवसर भएको देश भएको पनि उनी बताउँछन् । ‘नेपाल धेरै अवसर भएको देश हो । कतिपय देशमा समुन्द्र पुरेर घर बनेको हुन्छ, उनले भने, तर, हाम्रो देशमा योजनाबद्ध हिसावले देशमै भएका स्रोतसाधनको सदुपयोग गर्न सक्यो भने नेपालको अर्थतन्त्र छिट्टै विकसित देशको जत्तिकै मजबुत हुने थियो ।’

देश विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उनी बताउँछन् । योजना कार्यान्वयन, कार्यक्रमको कार्यान्वन गर्न केही न केही स्थायित्व चाहिन्छ । नेपालमा बारम्बार सरकार फेरिनु, मन्त्री फेरिने प्रवृतिबाट विकास नभएको अधिकारीको ठम्याइ छ ।

2 comments on "२९० रुपैयाँको जागिरदेखि गभर्नरको यात्रासम्म"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.