एपेक्स कलेज र आईएनजीबीच साझेदारी घोषणा, आईटी पाठ्यक्रमलाई अध्यापन गराइने

  २०८० कार्तिक ३ गते ११:०९     विकासन्युज

काठमाडौं । एपेक्स कलेजले इन्नोभेट नेपाल ग्रुप (आईएनजी) सँग साझेदारी घोषणा गरेको छ । साझेदारीपश्चात् आईएनजीको नेतृत्वमा अन्तर्राष्ट्रिय पद्धति र अभ्याससहितको नवीनतम व्यवस्थापन र आईटी पाठ्यक्रम सम्मिलित अध्यापन गराइने विज्ञप्तिमार्फत जनाइएको छ ।

‘यो साझेदारीले एपेक्स कलेजमा उपलब्ध हुने सिकाइ, प्रविधि, माध्यम र स्रोतसाधनको थप विस्तार हुनेछ । साथै बजार सुहाउँदो, युवामैत्री र अविस्मरणीय कलेज अनुभव प्रदान गर्ने र नेपालमै उच्च शिक्षाको उन्नतिलाई सघाउ पुग्ने विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस साझेदारीबाट एपेक्सका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय शिक्षण सिकाइ अभ्यास, उल्लासमय कलेज जीवन र विद्यार्थीको सन्तुष्टि प्राप्त हुने गरी विभिन्न अवसर, अनुभव र स्रोतमा थप पहुँच प्राप्त गर्नेछन् ।’

एपेक्स कलेजका अध्यक्ष मीनेन्द्र रिजालले ‘एपेक्स–आईएनजी’ साझेदारीले नेपालका शैक्षिक संस्थाका लागि कोसेढुंगाको काम गर्ने बताए । ‘साझेदार दुइटै संस्थाले फरक प्रकृतिको र दुई दशकभन्दा बढीको उत्कृष्ट अनुभवसँगै आआफ्नो ख्यातिको प्रचुरता, असल अध्यापनका अभ्यास, पूर्वविद्यार्थी (अलम्नाई) हरूको बृहत् सञ्जाल, एकअर्काका परिपूरक पाठ्यक्रम, अद्यावधिक शिक्षण र सिकाइका साधन, उत्कृष्ट प्राध्यापक, उद्योग र रोजगारदातासँगको उपयोगी सम्बन्धलाई एकसाथ ल्याएका छन्,’ रिजालले भने ।

एपेक्सले २३ वर्षअघि पोखरा विश्वविद्यालयको सम्बन्धनमा बीबीए र बीसीआईएस कार्यक्रममार्फत सेवा आरम्भ गरेको थियो । यो कलेजले हाल १५ भन्दा बढी विशेषज्ञता सामेल स्नातक र स्नातकोत्तर दुवै तहका लागि मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए), एमबीए इभिनिङ, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), बीबीए इन ब्यांकिङ एन्ड इन्स्योरेन्स, बीबीए इन ट्राभल एन्ड टुरिज्म र ब्याचलर अफ कम्प्युटर सिस्टम एन्ड इन्फर्मेसन टेक्नोलोजी (बीसीएसआईटी) गरेर ६ प्रकारका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

एपेक्स कलेजका निर्देशक सम्भव सिरोहियाले एपेक्स र आईएनजीले नेपालमा मानव पुँजी विकास गर्ने समान उद्देश्य लिएको बताए । ‘साथै शैक्षिक विशिष्टता हासिल गर्ने र विद्यार्थीलाई कक्षाकोठामा सीमित नराखी विविध प्लाटफर्म उपलब्ध गराउने साझा चाहना राखेका छन्,’ उनले भने, ‘हाम्रा दुवै संस्थाले विद्यार्थीका पहल, कार्यक्रम र अतिरिक्त क्रियाकलापलाई सक्रिय रूपमा हौसला प्रदान गर्दै आएका छन् ।’

आईएनजी नेपाललगायत केही एसियाली मुलुकमा उच्च शिक्षामा प्रविधि भित्र्याउन लागिपरेको शिक्षा तथा प्रविधिसम्बन्धी कम्पनी हो । अहिले आईएनजी समूहसँग इस्लिङ्टन कलेजलगायत विभिन्न ७ उच्च शिक्षा संस्था, माई सेकेन्ड टिचर, आईटी कम्पनी र साइबर सुरक्षासम्बन्धी सेवा प्रदान गर्ने भैरव टेक्नोलोजिजलगायतका संस्था आबद्ध छन् । ‘आईटी र व्यवस्थापन दुवैतर्फ व्यावहारिक, व्यवसाय लक्षित शिक्षामा जोड दिने संस्थाका रूपमा आईएनजी चिनिएको छ । आईएनजी समूहका कुल १६०० कर्मचारीमध्ये ७० प्रतिशत हाम्रै पूर्वविद्यार्थी हुनुले पनि यहाँको व्यावहारिक र व्यवसायमैत्री शिक्षण पद्धतिबारे धेरै कुरा बोल्छ,’ आईएनजीका संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.