दसैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरिँदै

  २०८० असोज ३० गते १२:५७     विकासन्युज

काठमाडौं । बडादसैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै देवीका नौँ वटा रुपको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।

दसैँ सुरु भएदेखि नै देवीको मन्दिरमा पूजा गर्नेको आज पनि घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, इन्द्रायणीलगायतका मन्दिरमा पूजाआज गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लागेको छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिने गरिँदै आएको छ ।

यसैगरी चौँथो दिन कुष्माण्डा, पाँचाैँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रिको पूजा गर्ने गरिन्छ । पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता तथा निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।

चन्द्रघण्टा देवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुटघण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रमा उल्लेख छ । क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नाश गर्न र सज्जनको रक्षा गर्न उहाँ अवतरण गरेको श्रीमददेवीभागवतलगायत ग्रन्थमा उल्लेख छ ।

नवरात्र सुरु भएदेखि नै काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । उपत्यकाका नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङकटा, नरदेवीलगायत मन्दिर रङगीचङगी बत्तीले सजाइएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.