यही वर्षमा १० वटा जहाज थप्छौँ, विमान खरिद प्रक्रिया दशैँअघि नै शुरु हुन्छः मन्त्री किराती

  २०८० असोज २८ गते ११:१७     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् ।

आईतवार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री किरातीले सो कुरा बताएका हुन् ।

उनले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए ।

सबै महंगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताउँदै उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । उनले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी समेत गरे ।

दशैँअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताउँदै उनले आजबाट नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैँभर सञ्चालन गर्ने बताए ।

त्यस्तै काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरुलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्मको भाडादर पर्नेकुरामा नियन्त्रण र निगरानी राख्न मन्त्री किराँतीको ध्यानाकर्षण समेत गराए ।

सभापति शेर्पाले सरकारका नीति बनाउँदा विद्यार्थीमैत्री बनाउनुपर्नेमा जोड दिदैँ विद्यार्थीहरुलाई देशमै राख्नका लागि उच्च मूल्यवृद्धि रोक्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.