सिद्धार्थ प्रिमियरलाई बीमितकाे फर्ष्ट च्वाइस बनाउँछौं : रामजी ढकाल

  २०८० असोज २४ गते १३:३३     विकासन्युज

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत भदौ पहिलाे साता ‘एसपीआईएल डिजी’ सार्वजनिक गर्यो । नेपाली बीमा क्षेत्रमै पहिलो पटक विद्युतिय (डिजिटल) माध्यमबाट बीमालेख खरिद र बीमा दाबी भुक्तानी गर्न मिल्ने गरी कम्पनीले एसपीआईएल डिजी ल्यायो । एक/डेढ महिनाको अवधिमा कम्पनीले एसपीआईएल डिजीमार्फत् ५० वटा बीमालेख बिक्री गरिसकेको छ भने २८० वटा बीमा दाबीको सेटलमेन्ट गरेको कम्पनीले जनाएको छ । विगत ४ वर्षदेखि कम्पनीको बजार विभाग प्रमुख छन्, रामजी ढकाल । ढकाल विगत २३ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय भएर काम गर्दै आएका छन् । सगरमाथा इन्स्योरेन्सबाट बीमा क्षेत्रमा प्रवेश गरेका उनले सो कम्पनीमा १० वर्ष काम गरे । उनै बजार प्रमुख ढकालसँग एसपीआईएल डिजीले कसरी ग्राहकहरुलाई सरल र सहज बीमा सेवा प्रदान गरिरहेको छ भन्ने विषयमा केन्द्रित भएर विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एसपीआईएल डिजी भनेको के हो ?

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच गत मार्चमा एकीकृत कारोबार भयो । एकीकृत कारोबारपश्चात् कम्पनीलाई पुनः ब्राण्डिङ गर्न र ग्राहकलाई छिटोछरितो सेवा दिने उद्देश्य अनुरुप डिजिटल प्रडक्टमा प्रवेश गर्याैं । डिजिटल माध्यमबाट बीमा कारोबार गर्ने बीमा क्षेत्रकै पहिलो कम्पनी बन्यौं । ग्राहकलाई छिटोछरितो वा ठाउँको ठाउँ (अन दी स्पट) सेवा दिनका लागि एसपीआईएल डिजी सञ्चालनमा ल्याइएको हो । एसपीआईएल डिजीमार्फत् बीमा लेख खरिद र बीमा दाबी भुक्तानी गरिन्छ । बीमालेख खरिददेखि सेटलमेन्ट र बीमा सम्बन्धिका सबै कार्य एउटै प्लेटफर्मबाट गर्ने गरी कम्पनीले एसपीआईएल डिजी सञ्चलानमा ल्याएको हो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डिजिटल माध्यमबाट बीमालेख जारी गर्न थालेको एक महिना बढी भयो । यो अवधिमा कस्तो प्रतिक्रिया आएको छ ?

कम्पनीका सबै बीमालेख एसपीआईएल डिजीमार्फत खरिद गर्न सक्ने व्यवस्था गरेको छ । तत्कालका लागि दुर्घटना बीमा, ट्राभल्स मेडिकल बीमा र सवारी साधन बीमालाई प्राथमिकतामा राखेर एसपीआईएल डिजीमार्फत् खरिद गर्न सकिन्छ । स्वदेश तथा विदेशमा भ्रमण गर्दा ट्राभल मेडिकल इन्स्योरेन्स खरिद गर्न सकिन्छ । जस्तो कुनै ठाउँको यात्रा गर्नु पर्नेछ भने एसपीआईएल डिजीमार्फत् बीमा गर्न सकिन्छ । विदेशको यात्राका लागि एयरपोर्टमा हुनु हुन्छ भने एयरपोर्टबाटै ट्राभल्स बीमा लेख खरिद गर्न सकिन्छ । चाडपर्वको समयलाई लक्षित गरी सवारी साधन बीमालाई कम्पनीले जोड दिएको छ । मोटरसाइकल वा निजी सवारी खरिद गर्ने बित्तीकै आफैंले एसपीआईएल डिजी माध्यमबाट उक्त सवारीको बीमा गर्न सकिन्छ ।

प्राकृतिक विपत, बाढी, पहिरो, भूकम्प, आगजनी लगायत क्षतिलाई कभर हुने गरी एसपीआईएल डिजीबाट बीमा लेख खरिद गर्न सकिन्छ । यस्ता घटनाहरुमा सरकारबाट क्षतिपूर्ति लिने भन्दापनि विपतबाट सुरक्षित हुन आफ्नो सम्पत्ति घरको बीमा गर्न सकिन्छ । ब्यक्तिका लागि अतिआवश्यक स्वास्थ बीमा पनि एसपीआईएल डिजीमार्फत खरिद गर्न सकिन्छ । स्वास्थ उपचार महँगो भएको बेला यो प्रडक्टले धेरै राहत पुर्याउनेछ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग ४० वटा अस्पतालहरु आवद्ध छन् । यदि स्वास्थ बीमा गरेको छ भने सो अस्पतालहरुबाट ग्राहकहरुले नगदरहित सेवा पाउनु हुन्छ । कम्पनीले नगदरहित कार्ड बनाइ दिएको हुन्छ । उक्त कार्ड अस्पतलामा देखाएपछि बीमालेखको सीमाभित्र रहेर कम्पनी उपचार वापतको रकम भुक्तानी गरिदिन्छ । बिरामी पर्दा ऋण निकालेर उपचार गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । अब सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा बीमा गरेर स्वास्थ उपचार, सम्पत्तिको सुरक्षा, सवारीको मर्मतको खर्च र ढुक्क भएर यात्रा गर्न सकिन्छ ।

एसपीआईएल डिजीमार्फत हालसम्म कतिको कारोबार भयाे ?

एक/डेढ महिनाको अवधिमा एसपीआईएल डिजीमार्फत् ५० वटा बीमालेख बिक्री भइसकेका छन् । जसमध्ये मोटरसाइकल र निजी सवारी साधनका बीमालेख बढी छन् । क्याम्पेनिङ गरेर एसपीआईएल डिजीको प्रचार प्रसार गर्ने योजना छ । भुक्तानी प्रदायक कम्पनी डिजिटल वालेट सुरुमा आउँदा चोकचोकमा बसेर क्याम्पेनिङ गरेका थिए । आजभन्दा १०/१२ वर्षअघि डिजिटल वालेटप्रति सर्वसाधारण विश्वास नै थिएन । त्यसकारण एसपीआईएल डिजी प्ल्याटफर्मलाई सहज बनाउन मोबाइल एप ल्याइरहेका छौं । दशैं तिहारमा एसपीआईएल मोबाइल एप लञ्च गर्ने तयारी भइरहेको छ । त्यसपछि कम्पनीको पोर्टलमा गएर खोजिराख्नु पर्दैन । ग्राहकहरुले मोबाइल एपबाटै बीमा खरिद र दाबी भुक्तानी लिन सक्ने छन् । मोबाइल एप आइसकेपछि शाखामा आउन पर्दैन । एसपीआईएल डिजीमार्फत चालू आर्थिक वर्षमा २ करोड बढीको प्रिमियम संकलन गर्ने लक्ष्य छ ।

एसपीआईएल डिजीमार्फत् हालसम्म ४ सय दाबी आएका छन् । जसमध्ये २८० वटा दाबीको सेटलमेन्ट भइसकेको छ । बाँकी रहेका दाबी भुक्तानी पनि प्रक्रियामा छन् । डकुमेन्ट पठाउने बित्तीकै सेटलमेन्ट गर्छाैं । बीमालेख बिक्री गर्ने मात्रै नभएर दाबी भुक्तानीमा छिटोछरितो सेवा दिएर ग्राहकलाई सन्तुष्ट बनाउनु कम्पनीको मुख्य लक्ष्य हो । त्यसैले एसपीआईएल डिजी प्लेटमर्फ पोलिसी बिक्रीसँगै बिक्री भइसकेको पोलिसीलाई छिटोछरितो सेवा दिन सञ्चालनमा ल्याइएको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ‘फर्ष्ट च्वाइस अफ ननलाइफ’ बनाउने योजना छ । सर्वसाधारण आफै आएर कम्पनीमा बीमा खरिद गर्ने गरी सेवालाई छिटोछरितो बनाएका छौं ।

कागज वा फोटोका आधारमा कसरी विश्वास गर्नु हुन्छ ? र, भुक्तानी दिनु हुन्छ ? स्थलगत अध्ययन आवश्यक पर्दैन ?

बीमा व्यवसाय विश्वसनीय वातावरणमा मात्रै हुन्छ । यदि अविश्वास भयो भने बीमा नै गरिँदैन । जस्तो बीमा खरिद गर्दा ग्राहकहरुले नगद रकम दिनु हुन्छ । र, कम्पनीले एउटा कागज मात्रै दिएको हुन्छ । एउटा कागजको आधारमा ग्राहकले करोडौं, अर्बाैं रकमको उद्योगको बीमा गरेका हुन्छन् । दुई पक्षको विश्वासको आधारमा मात्रै चल्ने कारोबार भनेको बीमा हो । त्यसकारण जब ग्राहकले बीमा कम्पनीलाई विश्वास गरेर पैसा दिन्छ भने ग्राहकलाई पनि बीमा कम्पनीले विश्वास गर्नु पर्छ । कहिलेकाँही १ सयमा १० प्रतिशत ठगी हुन सक्छ । तर, त्यसलाई हामीले रियल टाइमको फोटो मात्रै स्वीकार गर्छाैं । पुरानो फोटो देखाएर दाबी नगरोस् भन्ने हिसाबले रियल टाइमको फोटोलाई चारैतर्फबाट स्पष्ट देखिने गरी अपलोड गरेपछि मात्रै हामीले स्वीकार गर्छाैं । ताकी भोलिका दिनमा कुनै झण्झट नआओस् । कहिले लागत बढि आएको हुन्छ । बीमामा मूल्य धेरै राखेर दाबी गर्याे भने बढी रकम पाइन्छ भन्ने सोच छ । त्यो सोचलाई पनि चिर्ने काम भएको छ । हिजोका दिनमा भुक्तानी पाउन पनि एक/डेढ महिना लाग्थ्यो । आजको दिनमा मर्मतको प्रक्रियामै ग्राहकको खातामा दाबी भुक्तानी पाइन्छ । सोही रकम वर्कसपलाई भुक्तानी गर्छ ।

यो प्रडक्टबाट कसलाई कति लाभ ? बीमितलाई कसरी लाभ हुन्छ ? सर्भेयरलाई कसरी लाभ हुन्छ ? कम्पनीलाई कसरी लाभ हुन्छ ?

एसपीआईएल डिजीबाट ग्राहक र कम्पनीलाई मात्रै लाभ हुन्छ । यसमा सर्भेयरको भूमिका न्यून हुन्छ । यदि कम्पनीलाई शंकास्पद लाग्यो भने मात्रै सर्भेयर, मिडियटर वा कम्पनीबाट प्रतिनिधि गएर निरिक्षण गरिन्छ । अन्यथा यसमा सर्भेयरको भूमिका न्यून रहन्छ । कम्पनी र ग्राहकहरुको विनविन अवस्था रहन्छ । किनभने दाबी परेकै समयमा भुक्तानी गर्याे भने कम्पनीको बारेमा सकरात्मक सन्देश प्रवाह हुन्छ । अस्वस्थ प्रतिस्पर्धा र अण्डर टेबल भुक्तानी चिर्न एसपीआईएल डिजी प्ल्याटफर्म सफल भएको छ । ग्राहकहरुले विश्वास जितेपछि कम्पनीको व्यवसाय वृद्धिमा टेवा पुग्छ । छिटोछरितो सेवा पाएपछि ग्राहकको समय पनि जोगिन्छ । एकडेढ महिना लाग्ने समय एकैछिनमा भयो भने शाखा कार्यालयमा धाउनु पर्ने बाध्यता अन्त्य भयो । ग्राहकको समय, इन्धन लगायतक बच्यो । त्यसैले अबको भविष्य भनेको एसपीआईएल डिजी वा डिजिटल बीमा हो ।

ग्राहकलाई चाहिने भनेको सस्तो र लागत कम हो । यो बीमा योजनाबाट कसरी यसलाई सरलीकरण गर्नु हुन्छ ? 

बीमा खरिद गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हुन्छ । ग्राहकले आफ्नै मोबाइलबाटै बीमालेख खरिद गर्नु भयो भने बीमालेखको प्रकृति अनुसार ५ प्रतिशतदेखि १० प्रतिशतम्मि छुटसम्म पाइन्छ । किनभने मिडियटरले लिने शुल्क उसले लिन पाउँदैन । त्यसैले एसपीआईएल डिजीमार्फत खरिद गर्दा बीमालेख सस्तो पर्न जान्छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका १३० वटा आउटलेटमा बजार विभागतर्फ ३ सय जना कर्मचारी कार्यरत छन् । आगामी दिनमा पूर्णरुपमा एसपीआईएल डिजीमार्फत् बीमालेख बिक्री हुन थालेपछि थोरै कर्मचारी भएपनि हुन्छ । यसले पनि कम्पनीलाई फाइदा नै हुन्छ ।

जसरी ईसेवा, एफवान सफ्ट लगायत डिजिटल वालेट उदाएका छन् त्यसरी एसपीआईएल डिजीले आक्रामक ब्यापार गर्न सक्ला ? 

समयअनुसार अघि बढ्न सकिएन भने पछाडि परिन्छ । समयको दौरानमा कम्पनीहरु पनि अगाडि बढ्नु पर्छ । बीमा प्राधिकरणले डिजिटल सम्बन्धि ऐन ल्याउने भनेर प्रक्रिया अघि बढाइसकेको छ । डिजिटल सम्बन्धि निर्देशिका ल्याएर सबै कम्पनीमा सर्कलर जारी गरिसकेको छ । अब डिजिटलको विकल्प छैन भनेर केही कम्पनीहरु अघि बढिसकेका छन् । बीमा कम्पनीहरु दूरदराजमा पुग्न सकेनन् भनेर हालै ७ वटा लघुबीमा कम्पनीले इजाजतपत्र अनुमति पाए । दूरदराजका जनताहरुलाई पनि बीमाको सेवा दिनु पर्छ भनेर लाइसेन्स दिइएको हो । तर, हामीलाई लाग्दैन की उहाँहरु दूरदराज पुग्नु हुन्छ । किनभने भौतिक रुपमा बीमा गर्दा लागत बढाउँछ । भौतिक रुपमा कार्यालय सञ्चालन गर्नु पर्याे, नियम अनुसार ५ जना कर्मचारी राख्नै पर्याे । जसमा बीमाको प्रिमियम संकलन १५÷२० लाख रुपैयाँ मात्रै हुन्छ । त्यसकारण ती शाखा दीर्घकाल सञ्चालन हुन सक्दैनन् ।

आजको दिनमा कूल जनसंख्याको ८० प्रतिशत मान्छेहरु मोबाइल प्रयोग गरिरहेका छन् । इसेवा, खल्ति लगायतका वालेट कम्पनीको जस्तै अघि बढ्ने एसपीआईएल डिजीको लक्ष्य छ । देशको दूरदराजमा बसेको मान्छेले पनि एसपीआईएल डिजीमार्फत बीमा लेख खरिद गर्न सक्छन् । त्यसैले बीमा कम्पनीहरु दूरदराजमा पुग्न एसपीआईएल डिजीले सहयोग गर्छ ।

कम्पनीहरुले नयाँ योजना बनाउँछन्, प्रविधिमैत्री बनाउँछन्, तर कार्यान्वयन कमजोर हुन्छ । प्रचार प्रसारको कमीले हो कि अरु कारण छन् ?

कम्पनीले कुनै पनि प्रडक्ट ल्याएपछि तत्काल रिजल्ट खोज्छन् । पक्कैपनि यस्ता प्रडक्ट ल्याउँदा केही न केही चुनौति आउँछन् । त्यसमा कम्पनीले लगानी गर्नु पर्ने हुन्छ । एसपीआईएल डिजी सुरु गरेपछि अन्य कम्पनीहरु पनि यसमा आइसकेका छन् । नियाकको दृष्टिकोण र अनुगमन नरम हुनु पर्छ । बीमितहरुको हस्ताक्षरदेखि हार्ड कपी नै चाहियो भनेपछि यस सफ्टवेयरको काम छैन । यसलाई नियमन र अनुगमन गर्न नियामकले छुट्टै नीति ल्याउनु पर्छ । र, बीमा कम्पनीहरुले पनि यसमा लगानी थप्नु पर्छ । अहिले सानो लगानीमा सुरुवात मात्रै गरिएको हो । दीर्घकालिन अपेक्षा पुरा गर्न प्रविधिलाई विश्वसनीय बनाउन जरुरी छ । कम्पनीका सञ्चालकहरु लगानी थप्ने आह्वासन दिनु भएको छ । १४ वटा निर्जीवन बीमा कम्पनीको साझा सफ्टवेयर बनाउन आवश्यक छ ।

पछिल्लो समय डिजिटलाइजेशनसँगै ठगीको जोखिम पनि बढेको पाइन्छ । बीमा क्षेत्र पनि डिजिटल बन्दै गर्दा डिजिटल ठगी न्यूनीकरणमा कस्ता प्रयास भइरहेका छन् ? 

हरेक कुराको सकरात्मक र नकरात्मक पक्ष हुन्छन् । नयाँ प्रडक्ट ल्याउँदा चुनौति अवश्य हुन्छन् । डिजिटल बीमामा भारत धेरै अगाडि बढिसकेको छ । त्यसैले कम्पनीको आइटि डिपार्टमेन्टका हेड र डेपुटी हेडलाई डिजिटल ठगी न्यूनीकरण सम्बन्धि तालिम लिन भारतमा पठाएको थियो । उहाँहरु अध्ययन गरेर आउनु भएको छ । त्यहाँको प्रविधिलाई नेपालमा कसरी प्रयोगमा ल्याउन सकिन्छ, कति लगानी आवश्यक पर्छ, कस्ता किसिमका चुनौति हुन्छन्, कस्ता प्रकृतिका ठगी हुन्छन् भनेर अध्ययन गर्नु भएको छ । उहाँहरुको सुझाव अनुसार कम्पनीले त्यस्ता समस्या नियन्त्रणका लागि थप कार्य अघि बढाउने छ । हामीले एसपीआईएल डिजीलाई विश्वसनीय बनाउन कोसिस गरिरहेका छौं ।

कम्पनीका कर्मचारीहरुबाटै ग्राहकहरुको गोपनियता पनि भङ्ग भएको देखिन्छ । यो विषयमा कम्पनी कति सतर्क छ ? 

ग्राहको गोपनियता कायमै राख्न पेमेन्ट गेटवेहरुसँग सम्झौता गरेका हुन्छौं । ग्राहकको गोपनियता भङ्ग हुने कार्य गरेको खण्डमा कारवाही गर्ने र सम्झौता रद्द गर्छाैं । पेमेन्ट गेटवेमार्फत ग्राहकहरुको गोपनियता भ्ग हुन नदिनबाट हामी सचेत छौं । एसपीआईएल डिजीसँग लिंक भएका ग्राहकको समस्या भने छैन ।

हालसम्म कस्ता किसिमका चुनौति खेप्नु पर्याे ? 

एसपीआईएल डिजीको प्रयोग कसरी गर्ने र विश्वसनीयता कसरी दिलाउने भन्ने चुनौति खेप्नु पर्याे । कुनै पनि प्रडक्ट लञ्च गर्दा सजिलो हुन्छ तर, त्यसलाई निरन्तरता दिन गाह्रो हुन्छ । जबसम्म ग्राहकहरुले विश्वास गर्नु हुन्न तबसम्म गाह्रो हुन्छ । त्यसकारण त्यसको विश्साव दिलाउन हामीले हरप्रयास गरिरहेका छौं । सामाजिक सञ्जालमा क्याम्पेनिङदेखि सातै प्रदेशमा कर्मचारीहरुले जानकारी दिने काम भइरहेको छ ।

एकएक ग्राहकलाई सिकाइरहेका छौं । यदि कुनै ग्राहकले दाबी भुक्तानीका लागि पत्र पेश गर्नु भयो भने हामीले उहाँलाई फोन गरेर एसपीआईएल डिजीबाट सेटलमेन्ट गर्न सिकाइरहेका छौं । संखुवासभाको खाँदवारी शाखामा एक जना ग्राहकले ५० हजार रुपैयाँको गाडीको क्षतिवापत दाबी गर्नु भयो । तर, शाखा प्रमुखले ग्राहकलाई एसपीआईएल डिजीमार्फत दाबी गर्न भनेर सझाउनु भएछ । दाबी गरेकै दिन खातामा रकम जम्मा भएपछि उहाँले त्यो क्षेत्रभरिका मान्छेहरुलाई यो प्रडक्टका बारेमा मार्केटिङ गर्नु भएछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.