प्रधानमन्त्रीलाई इजरायलबाट नेपाली विद्यार्थीको पत्र : ‘हमलामा पर्यौं भने गोली निल्नुको विकल्पै छैन’

  २०८० असोज २२ गते १४:२२     विकासन्युज

श्रीमान् प्रधानमन्त्री ज्यू,
नेपाल सरकार ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिनै लागेका विद्यार्थीहरु (११४ जना) अहिले हामी इजरायल र हमासको द्वन्दको चपेटामा फसेका छौं । ११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किँदै गइराखेको छ । हाम्रो आत्माबल घट्दै गइराखेको छ । हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं । अब धेरै सोच्ने परिस्थिति पनि बाँकि रहेन ।

आकाशमा चरा उडेको देखेका हामी, आज मिसाईल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका पट्कँदा खुशीका साथ रमाउँदै हेरेका हामी आज आफु अगाडि बन्दुक पड्कि राखेको देखेर त्रसित छौं । बंकरमा लुक्यो भन्ने बंकर भित्रनै छिरेर आक्रमण भैराखेको छ । हाम्रा सुदूरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले हाम्रो छाती चिरिएको छ । हामी स्तब्ध छौं, हमलामा पर्यौं भने गोली निल्नुको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुट्नुपरेको छ । नखाउ भने भोक र प्यास लाग्छ खाउ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर पुगिसकेको भैराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था छैन । यो युद्ध लामो छ । हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ ।

आदरणीय प्रधानमन्त्रीज्यु, अबको हाम्रो आशा पनि तपाईंनै हो, भरोसा पनि तपाईंने हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस् । हामी देशमा नै रमाउने छौं ।

हामी नेपालको ’३’ विश्वविद्यालयबाट यहाँ छौं १) कृषि तथा वन विज्ञान विश्वविद्यालय २) त्रिभुवन विश्वविद्यालय  ३) सुदूरपश्चिम विश्वविद्यालय सँगसँगै यहाँ अन्य विद्यार्थीहरु र नेपाली नागरिक हुनुहुन्छ । छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभुति तपाईंले अवश्य गराउनुहुनेछ । यो हाम्रो तपाईंप्रतिको विश्वास हो, यही विश्वास मा नै हाम्रो सास अडिएको छ ।

युद्धको चपेटामा परेको नेपाली
सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविद्यालय
हाल ठेगाना
कदेश बार्निया, इजायल
नेपाली ठेगना
अन्नपूर्ण गाउँपालिका २, कास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.